किरात राई सांस्कृतिक कलाकार संघको २१औं स्थापना दिवस: प्राज्ञ अशोक लोहोरुङ राई पुरस्कृत
nagariknews.nagariknetwork.com · Mon Jun 15 06:02:11 GMT 2026

किरात राई सांस्कृतिक कलाकार संघले विविध सांस्कृतिक तथा बौद्धिक कार्यक्रमका साथ भव्य रूपमा आफ्नो २१औं स्थापना दिवस मनाएकाे छ।
जेठ ३० गते काठमाडौँ र ओखलढुंगामा एकैसाथ आयोजित कार्यक्रममार्फत संघले किरात सभ्यता, कला, संस्कृति तथा संगीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरेको हो।
स्थापना दिवसको अवसरमा नेपाली संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ संगीतकार, संगीत संयोजक तथा प्राज्ञ अशोक लोहोरुङ राईलाई नगद राशिसहित ‘तेज–तिला किरात संगीत पुरस्कार–२०७०’ प्रदान गरिएको छ।
संघले उहाँको किराती मौलिक संगीतको संरक्षण, विकास तथा नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरेको जनाएको छ।
समारोहमा विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो। किरात राई सांस्कृतिक सम्मानबाट किरात राई यायोक्खाकी पूर्व अध्यक्ष यसोदा राई, किरात राई संगीत सम्मानबाट वरिष्ठ गायक तथा संगीतकार जीतेन राई, किरात राई प्रतिभा पुरस्कारबाट गायक सागर संसार राई, हर्कजङ छलिशोभा किरात कला पुरस्कारबाट श्रष्टा चन्द्र जयपाल राई तथा शिवचन्द्र डिक सोभा राई उत्कृष्ट रचना पुरस्कारबाट श्रष्टा वीरेन्द्र राई सम्मानित भए।
पुरस्कार ग्रहणपछि प्रतिक्रिया दिँदै प्राज्ञ अशोक लोहोरुङ राईले संस्थाले आफ्नो योगदानको मूल्याङ्कन गरेकोमा खुशी व्यक्त गर्दै यसले आफूलाई अझ बढी सिर्जनात्मक रूपमा सक्रिय हुन प्रेरणा दिएको बताए। उनले पुरस्कारले कला र संस्कृतिको क्षेत्रमा थप जिम्मेवारी बोध गराएको उल्लेख गरे।
उनले हाल मदन जयन्ती सांस्कृतिक साँझ, दीपक लिम्बू एकल सांगीतिक साँझ, गीतकार संघको सांगीतिक कार्यक्रम, ताप्लेजुङ साँझ तथा धनगढीमा आयोजना हुने नेपाली मौलिक बाजा प्रशिक्षण कार्यक्रमको तयारीमा जुटिरहेको बताए।
संघले दुई दशकभन्दा बढी समयदेखि किराती कला, संस्कृति, भाषा, साहित्य तथा मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)