मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनको इयु सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण

bishowkhabar.com · Mon Jun 15 07:24:06 GMT 2026

काठमाडौं– लामो समयको अवरोधपछि युरोपेली सङ्घ (इयु)ले युक्रेनको सदस्यता प्रक्रियालाई अगाडि बढाउने महत्त्वपूर्ण निर्णय गरेको छ ।

यद्यपि, यसले युक्रेन छिट्टै इयुको पूर्ण सदस्य बन्ने सङ्केत भने गर्दैन ।

इयुका २७ सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार युक्रेन तथा छिमेकी मोल्डोभासँग इयुको कानून तथा मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता सुरु गर्ने निर्णय गरेका छन् ।

हङ्गेरीका राष्ट्रवादी नेता भिक्टर ओर्बानले युक्रेनको सदस्यता प्रक्रियामा लामो समयदेखि अवरोध सिर्जना गरेका थिए ।

तर अप्रिलमा प्रतिद्वन्द्वी पिटर मग्यारसँग चुनावी पराजय भोगेपछि युक्रेनको सदस्यता प्रक्रियाले पुनः गति लिन थालेको हो ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले संयुक्त विज्ञप्ति जारी गर्दै युक्रेन र मोल्डोभाले कठिन परिस्थितिका बाबजुद सुधारका कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरेका छन् ।

उनीहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको अवस्थामा अझ बलियो र विस्तारित युरोपेली सङ्घ सबै सदस्य राष्ट्रहरूको साझा हितमा रहेको बताए ।

रूसको आक्रमणपछि सदस्यताका लागि आवेदन दिएको चार वर्षपछि युक्रेनले इयुको सदस्यता प्रक्रियामा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि पूर्ण सदस्यता प्राप्त गर्न अझै धेरै चुनौतीहरू बाँकी छन् ।

युक्रेनले आफ्नो कानूनी संरचना, प्रशासनिक संस्था तथा विभिन्न मापदण्डहरूलाई इयुका नियमअनुसार रूपान्तरण गर्नुपर्नेछ ।

त्यसैले वर्तमान निर्णयलाई सदस्यता प्रक्रियाको महत्त्वपूर्ण उपलब्धि मानिए पनि पूर्ण सदस्यताको यात्रा अझै लामो रहने विश्लेषण गरिएको छ ।

युक्रेनको इयु सदस्यता प्रक्रियामा वातावरण, कृषि, न्याय, सुरक्षा लगायतका क्षेत्र समेटिएका ३५ वटा अध्यायमा आधारित वार्ताहरू समावेश छन्, जसलाई छ वटा समूहमा विभाजन गरिएको छ ।

यद्यपि, इयुको निर्णय प्रक्रिया राजनीतिक रूपमा संवेदनशील भएकाले कुनै पनि सदस्य राष्ट्रले विभिन्न चरणमा युक्रेनको प्रगतिलाई रोक्न सक्ने अवस्था रहन्छ ।

एक युरोपेली कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै युक्रेनको सदस्यता प्रक्रिया लामो र चुनौतीपूर्ण रहेको बताए ।

उनका अनुसार युक्रेन युद्धको अवस्थामा छ र सङ्गठित अपराध नियन्त्रणलगायतका विषयमा अझै महत्त्वपूर्ण सुधार आवश्यक छ ।

साथै, सदस्य बनेमा युक्रेन इयुको तेस्रो ठूलो राष्ट्र हुनेछ ।

उनले युक्रेनको इयु प्रवेश छिट्टै हुने अपेक्षा यथार्थपरक नभएको पनि बताए ।

हङ्गेरीका नेता पिटर मग्यारले युक्रेनले आगामी १० देखि १५ वर्षभित्र सदस्यता सम्बन्धी सबै वार्ता पूरा गरेमा त्यसको इयु प्रवेशबारे जनमत सङ्ग्रह गराउने वाचा गरेका छन् ।

युक्रेनको सदस्यता प्रक्रियाबारे इयुभित्र विभिन्न वैकल्पिक मोडेलबारे पनि छलफल बढ्दै गएको छ ।

जर्मन चान्सलर फ्रेडरिक मेर्जले अप्रिलमा युक्रेनलाई तत्काल पूर्ण सदस्य बनाउने सम्भावना नरहेको बताएका थिए ।

उनले मतदान अधिकारबिनाको ‘सहयोगी सदस्य’ को अवधारणा अघि सार्नुभएको छ, जसअन्तर्गत युक्रेनले पूर्ण सदस्यताको प्रक्रिया पूरा नहुँदासम्म सीमित सहभागिता पाउन सक्छ ।

तर युक्रेनले यस्तो प्रस्तावप्रति शंका व्यक्त गरेको छ ।

किएभले अन्तरिम व्यवस्थाले आफूलाई स्थायी रूपमा पूर्ण सदस्यताभन्दा बाहिर राख्न सक्ने चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनको इयु प्रवेश पूर्ण अधिकारसहितको सदस्यताका रूपमा हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय