मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बंगलादेशले नेपालबाट थप विद्युत आयात गर्न खोजे पनि भारतले दिएन

corporatenepal.com · Mon Jun 15 09:09:18 GMT 2026

काठमाडौं । बंगलादेशले यस वर्ष नेपालबाट थप २० मेगावाट विद्युत् आयात गर्ने इच्छा व्यक्त गरे पनि भारतले नदिएपछि गत बर्षजस्तै जम्मा ४० मेगावाट मात्रै विद्युत पठाउन थालिएको छ ।

ट्रान्जिट तथा व्यापारसम्बन्धी स्वीकृति नआएकाले अतिरिक्त विद्युत् निर्यात हुन नसकेको भारतीय पक्षबाट जवाफ आएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ ।

Advertisement

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को सातौँ बैठकले ४० मेगावाटमा थप २० मेगावाट आयात गर्ने विषयमा सहमति जनाएको भए पनि प्रक्रिया अझै नटुंगिएको तर्क गर्दै भारतीय पक्षले विजुली निर्यातमा अवरोध गरेको हो ।

नेपालले आज सोमबारदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु गरेको छ । प्राधिकरणले त्रिशुली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न थालेको हो ।

गत वर्ष भएको त्रिपक्षीय समझदारीअनुसार नेपालले प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको पाँच महिनाको अवधिमा बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्नेछ । नेपालले २०८१ कात्तिक ३० मा प्राप्त स्वीकृतिअनुसार सन् २०२९ अक्टोबर २ सम्म उक्त परिमाणको विद्युत् निर्यात गर्न सक्नेछ।

त्रिशुली जलविद्युत् आयोजनाबाट १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट २१.४० मेगावाट विद्युत् बंगलादेश पठाइएको हो । गत वर्ष नेपालले पाँच महिनाको अवधिमा करिब १४७ गिगावाट–आवर विद्युत् बंगलादेश निर्यात गरेको थियो।

प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले बिक्री भएको उक्त विद्युत्बाट नेपालले ९.४३६ मिलियन अमेरिकी डलर आम्दानी गरेको थियो । डलर विनिमयदर बढेकाले यस वर्ष समान परिमाणको निर्यातबाट करिब १ अर्ब ४३ करोड आम्दानी हुने अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय