मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्मचारी सञ्चय कोषमा एएमएल/सीएफटी सम्बन्धी ज्ञान अभिवृद्धि कार्यक्रम सम्पन्न

aarthiknews.com

काठमाडौं । एएमएल नेपाल (AML Nepal) ले कर्मचारी सञ्चय कोषमा सम्पत्ति शुद्धीकरण निवारण (AML) तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रण (CFT) सम्बन्धी ज्ञान अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।

देशको सबैभन्दा ठूलो गैर–बैंकिङ वित्तीय संस्था तथा दीर्घकालीन कोष परिचालन गर्ने प्रमुख निकायका रूपमा रहेको कर्मचारी सञ्चय कोषमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा प्रभावकारी अनुपालन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा एएमएल नेपालका विज्ञहरू श्रीधर अधिकारी, अधिवक्ता सेलिना अधिकारी तथा चार्टर्ड एकाउन्टेन्ट लेखनाथ पोखरेलले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी नियन्त्रणसम्बन्धी विभिन्न विषयमा प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन गरेका थिए।

सत्रमा अन्तर्राष्ट्रिय अभ्यास, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, गैर–बैंकिङ वित्तीय संस्थामा लागू हुने AML/CFT निर्देशन, जोखिममा आधारित अनुपालन प्रणाली, ग्राहक पहिचान प्रक्रिया, स्रोत पहिचान तथा प्रमाणीकरण, निरन्तर अनुगमन, शंकास्पद कारोबार पहिचान तथा प्रतिवेदन प्रणालीलगायत विषयमा विस्तृत छलफल गरिएको थियो।

त्यसैगरी कर्मचारी सञ्चय कोषको स्रोत र लगानी पक्षमा देखिन सक्ने AML जोखिम पहिचान, व्यवस्थापन तथा अनुपालनका व्यावहारिक पक्षबारे पनि गहन छलफल भएको थियो। कार्यक्रममा योगदानकर्ताको वित्तीय स्रोतको पारदर्शिता, लगानी निर्णयमा जोखिम मूल्याङ्कन, लाभग्राही पहिचान तथा संस्थागत सुशासन जस्ता विषयमा विशेष जोड दिइएको थियो।

सहभागी कर्मचारीहरूले AML/CFT कार्यान्वयनका व्यावहारिक चुनौती, नियामकीय अपेक्षा तथा प्रणाली सुधारका उपायबारे आफ्ना अनुभव, जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए।

एएमएल नेपालले वित्तीय प्रणालीलाई थप सुरक्षित, पारदर्शी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन विभिन्न सरकारी निकाय तथा वित्तीय संस्थासँग सहकार्य गर्दै क्षमता अभिवृद्धि, प्रशिक्षण तथा ज्ञान आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय