भीषण ड्रोन आक्रमणमा १ हजारभन्दा बढीको मृत्यु
bishowkhabar.com · Mon Jun 15 09:54:57 GMT 2026

काठमाडौं– संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले सुडानमा युद्धका क्रममा ड्रोनको प्रयोग तीव्र रूपमा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनका अनुसार सन् २०२६ को पहिलो पाँच महिनामा मात्र ड्रोन आक्रमणका कारण एक हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ ।
जेनेभास्थित संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सोमबार सम्बोधन गर्दै टर्कले सुडानको द्वन्द्व झन् जटिल र घातक बन्दै गएको बताए ।
उनले भने, “सुडानमा द्वन्द्वको विस्तारसँगै ड्रोन युद्धको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । जनवरीदेखि मे २०२६ सम्म हाम्रो कार्यालयले ड्रोन आक्रमणबाट मारिएका एक हजारभन्दा बढी नागरिकको विवरण अभिलेखीकरण गरेको छ ।”
सुडानमा नियमित सेना (साफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच अप्रिल २०२३ देखि जारी युद्धमा ड्रोनको प्रयोग क्रमशः प्रमुख सैन्य रणनीतिको रूपमा विकसित हुँदै गएको छ ।
टर्कले देशभर बलात्कार तथा यौन हिंसाका घटना व्यापक रूपमा फैलिएको उल्लेख गर्दै नागरिकमाथि भइरहेका मानव अधिकार उल्लंघनप्रति गहिरो चिन्ता व्यक्त गरे ।
सुडानको द्वन्द्वले हालसम्म दशौँ हजार मानिसको ज्यान लिइसकेको छ भने एक करोड १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसङ्घले यस अवस्थालाई विश्वकै सबैभन्दा ठूलो विस्थापन तथा भोकमरी संकटमध्ये एकको रूपमा वर्णन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ