मधेसमा जनमतको सत्ता, ११ देशका राजदूत फिर्ता
lokaantar.com

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भइसकेका छौँ–
सुरुमा विखण्डनको नारा बोकेको जनमत पार्टी मूलधारको राजनीति हुँदै मधेस प्रदेशको सत्ताको बागडोर सम्हाल्ने अवस्थामा पुगेको छ । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका प्रदेशसभा सदस्य सतिश सिंहले शुक्रबार दाबी पेश गरेका छन् ।
एमाले–माओवादी केन्द्रसहितका ५५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष ५५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबार बिहान दाबी पेश भएको माओवादी प्रदेश सदस्य युवराज भट्टराईले जानकारी दिए ।
प्रदेश प्रमुखले आवश्यक प्रक्रिया पुर्याएर सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि उनको आजै शपथ हुनेछ ।
बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् ।
००००
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा पनि नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा यूएईले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
००००
सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले गत चैत १२ गते गरेको फैसलाको बिहीबार पूर्णपाठ सार्वजनिक गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा सञ्चालित उक्त अस्पताललाई सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल काभ्रेपलाञ्चोक, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरलगायतका नाममा परमादेशको जारी गरेको हो ।
००००
गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र अपाङ्गतामैत्री पार्किङस्थल तोक्न निर्देशन दिएको छ ।
सिंहदरबार परिसरलाई अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनका लागि पार्किङ एरिया तोक्ने व्यवस्था मिलाउन महानगरीय प्रहरी सुरक्षा गण, सिंहदरबारलाई गृह मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
००००
यसवर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो । तेस्रोमा लुम्बिनी पनि प्रभावित हुने प्राधिकरणको अनुमान छ ।
००००
सरकारले ११ वटा देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै नरेन्द्र मोदीको शपथमा सहभागी हुन प्रचण्ड भारत जाने निर्णय पनि बैठकले गरेको छ ।
००००
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्सपेक्टर) विदुर सिवाकोटीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ५ दिनको म्याद थप भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्सपेक्टर सिवाकोटीले ती बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । बालिकालाई घरमा काम गराउनेसँगै पढाउँदै आएका सिवाकोटीले विगत ३ वर्षदेखि करणी गरेको बयान बालिकाले दिएकी छिन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार बिहीवार पुनः थप ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार ७७ दशमलव ७८ मा पुगेको छ ।
००००
अनलाइनबाटै वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण सेवा शुरू भएको छ ।
सूचना प्रविधिको प्रयोगमार्फत अनलाइनबाट प्रमाणीकरण गर्ने प्रक्रिया यूएईको अबुधाबीस्थित नेपाली राजदूतावासबाट शुरू भएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउने कास्कीका सहकारीपीडितमाथि बुधवार पोखरामा भएको धरपकडबारे संसदमा विरोध भएको छ ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले विरोध जनाएका हुन् ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी स्टेटको फाइल खोल्न गृहमन्त्रीसँग आग्रह गरेका छन् । कांग्रेसले ७० बिघा बेचेर कमिसन खायो भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप प्रमाणित गरेर देखाउन उनले चुनौती दिए ।
००००
स्थानीय बजारमा सुनको मूल्य बिहीवार प्रतितोला एक हजार ८०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
छापावाला सुन बुधवार प्रतितोला एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो ।
#राउण्ड अप
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)