शान्ति दूत ‘अलोका’ कुकुरसहित भियतनामी भिक्षुको टोली काठमाडौँ आइपुग्यो
ratopati.com · Mon Jun 15 11:18:32 GMT 2026

काठमाडौँ। शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै विश्वका विभिन्न देशमा हजारौँ माइल पैदल यात्रा गरेका भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना काराको नेतृत्वमा रहेको टोली सोमबार काठमाडौँ आइपुगेको छ।
यस विशेष टोलीसँग अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुर पनि सँगै रहेको छ।
यो टोलीले यसअघि भारतमा ३४ सय किलोमिटर तथा अमेरिकामा टेक्ससदेखि वासिङ्टनसम्म करिब ३७ सय किलोमिटर खाली खुट्टा शान्ति पदयात्रा सम्पन्न गरिसकेको छ। युद्ध र हिंसाबाट प्रभावित वर्तमान विश्वमा शान्ति र सद्भावको सन्देश फैलाउने मुख्य उद्देश्यका साथ यो यात्रा अगाडि बढाइएको टोलीले जनाएको छ।
काठमाडौँ बसाइका क्रममा यस पदयात्री टोलीले बौद्ध र स्वयम्भू लगायतका स्थापित बौद्ध तीर्थस्थलहरूको दर्शन तथा भ्रमण गर्ने कार्यक्रम रहेको छ। यसका साथै टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम समेत तय भएको जनाइएको छ।
काठमाडौँ आइपुगेपछि भन्ते पन्ना काराले बुद्धका शिक्षा, ध्यान र करुणाको अभ्यासमार्फत मानिसले आफ्नो अन्तरमनमै वास्तविक शान्ति खोज्न सक्ने बताएका छन्। उनले शान्तिको भूमि काठमाडौँबाट पनि विश्व शान्तिको बलियो सन्देश प्रवाह गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)