अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा : बंगलादेशका प्रधानमन्त्री भेटेनन्, बालेनलाई भेट्लान् ?
shilapatra.com · Mon Apr 20 14:00:00 GMT 2026

दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर काठमाडौंमा सोमबार आएका छन् । नेपालमा आएर उनको दौडधुप दिनभर भयो ।
कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सबैभन्दा पहिलोपटक उच्चस्तरीय भेट गरे । रविसँगको भेटपछि उनी नेपाल तथा अमेरिकी व्यापारिक संस्था जोडिएको कार्यक्रमा गए ।
अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसिया हेर्ने ब्युरोका अनुसार व्यापारिक समुदायसँगको भेटमा डिजिटल पूर्वाधारको विकास, एआई प्रयोग तथा साइबर सुरक्षालगायतका मुद्दामा कपुरले बोलेका थिए ।
रविसँगको भेटमा भने रास्वपा सरकारका प्राथमिकता तथा नेपाल–अमेरिका सम्बन्धका बारेमा कुराकानी भएको ब्युरोले उल्लेख गरेको छ ।
सात महिनाअगाडिबाट कार्यभार सम्हालेका कपुरले नेपालमा अर्थमन्त्री स्वर्णिम वाग्ले तथा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्ने कार्यक्रम तय भएको छ । तर, प्रधानमन्त्री वालेन्द्र शाह तथा अन्य दलका नेतासँगको भेटबारेमा भने कुनै सार्वजनिक जानकारी आएको छैन ।
यसअगाडि भएको बंगलादेशको भ्रमणमा पनि विभिन्न मन्त्रीहरूसँग भेट गरेका कपुरले प्रधानमन्त्री तारिक रहमानसँग भने भेट गरेका थिएनन् । कपुर बुधबार फर्किने बताइएको छ । उनले पाटन दरबार क्षेत्रमा पनि भ्रमण गर्ने बताइएको छ ।
कपुरले विभिन्न मञ्चमा बोल्न दक्षिण एसियाका नेपाललगायतका देशसँग व्यापार तथा सुरक्षा क्षेत्रमा सहकार्य गर्न सकिने बताउँदै आएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३
१९:४५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)