बङ्गलादेशी क्रिकेटरमाथि दुर्व्यवहार, तीन प्रहरी अधिकारी निलम्बित
ratopati.com · Mon Jun 15 11:44:35 GMT 2026

ढाका। बङ्गलादेशका राष्ट्रिय क्रिकेट खेलाडी नयीम हसनमाथि भएको प्रहरी दुर्व्यवहार र कुटपिटको घटनालाई लिएर देशव्यापी रूपमा तीव्र आक्रोश बढेपछि तीन जना प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ।
गत शुक्रबार राति चट्टोग्राममा घटेको उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ।
बङ्गलादेशी सञ्चारमाध्यमहरूका अनुसार निलम्बनमा पर्नेहरूमा सब–इन्स्पेक्टर मोहम्मद शफिकुल इस्लाम भुइँया, कान्स्टेबल मोहम्मद रसेल चौधरी र अपरेसन म्यानेजमेन्टका अर्का एक नाम नखुलाइएका कान्स्टेबल रहेका छन्। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै चट्टोग्राम महानगरपालिका प्रहरी (सीएमपी) का कमिस्नर शौकत अलीले शनिबार पीडित क्रिकेटर नयीमको निवासमै पुगेर भेटघाट गरेका छन्। उनले गठन गरिएको समितिले अनुसन्धान प्रतिवेदन बुझाउने बित्तिकै दोषी तीनै जना अधिकारीहरू विरुद्ध कडा कानुनी प्रक्रिया सुरु गरिने स्पष्ट पारेका छन्।
यसअघि शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सीएमपीका डेपुटी कमिस्नर अमिरुल इस्लामले दोषी पाइएका कसैलाई पनि नछोडिने बताएका थिए। उनले ‘द डेली सन’ सँग कुरा गर्दै भने, ‘प्रारम्भिक रूपमा हेर्दा अपरेसनका क्रममा संलग्न अधिकारीहरूले तोकिएको उचित प्रक्रिया पालना नगरेको देखिन्छ। हामी नयीमले न्याय पाउने कुरा सुनिश्चित गर्नेछौँ र जो कोही जिम्मेवार पाइए पनि उसलाई सजायको दायरामा ल्याइनेछ।’
क्रिकेटर नयीम हसन शुक्रबार ढाका नजिकैको साभारमा आफ्नो टोली प्राइम बैंक क्रिकेट क्लबको ढाका प्रिमियर डिभिजन क्रिकेट लिगको खेल सकेर ढाका विमानस्थल हुँदै चट्टोग्रामस्थित आफ्नो घर फर्कँदै थिए। उक्त खेलमा उनी अन्तिम ११ मा भने परेका थिएनन्।
घर फर्कने क्रममा चट्टोग्रामको लालखान बजार क्षेत्र नजिकै प्रहरीले उनी सवार सीएनजी अटो–रिक्सालाई रोकेको थियो। नयीमका अनुसार प्रहरी अधिकारीहरू उनीप्रति निकै आक्रामक र शत्रुवत् रूपमा प्रस्तुत भएका थिए, तर उनीहरू किन त्यसरी प्रस्तुत भए भन्ने कारण भने उनलाई थाहा थिएन।
हरीले उनलाई घाँटीमा समातेर जबरजस्ती अर्को अटो–रिक्सामा हाल्दै प्रहरी चौकीतर्फ लैजान खोजेका थिए। त्यहाँ उपस्थित प्रत्यक्षदर्शीहरूले उनी बङ्गलादेशका राष्ट्रिय क्रिकेटर भएको भन्दै प्रहरीलाई सम्झाउन खोजे पनि प्रहरीले त्यस कुरालाई पूर्ण रूपमा बेवास्ता गरेको थियो। चौतर्फी दबाबपछि नयीमलाई शनिबार बिहान सबेरै प्रहरीले रिहा गरेपछि उनी आफ्नो घर फर्कन सफल भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)