मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान र अमेरिकाबिच वार्ताको सरगर्मी: पाकिस्तानी सेना प्रमुख असिम मुनिर तेहरान प्रस्थान

ratopati.com · Fri May 22 17:04:06 GMT 2026

काठमाडौँ । इरान र अमेरिकाबिचको कूटनीतिक वार्तालाई लिएर सरगर्मी बढेका बेला पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर शुक्रबार इरानको राजधानी तेहरानतर्फ प्रस्थान गरेका छन् । पाकिस्तानी सरकारी सञ्चारमाध्यमले सुरक्षा स्रोतलाई उद्धृत गर्दै यस भ्रमणको पुष्टि गरेका हुन् ।

बीबीसी उर्दूका अनुसार, मुनिरले आफ्नो तेहरान भ्रमणका क्रममा इरान–अमेरिका वार्ता, क्षेत्रीय शान्तिको अवस्था र अन्य महत्त्वपूर्ण रणनीतिक मुद्दाहरूमा केन्द्रित रहेर छलफल गर्नेछन्। यसअघि उनी १८ अप्रिलमा पनि तेहरान गएका थिए ।

यसैबिच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्विडेनमा पत्रकारहरूसँग कुरा गर्दै फिल्ड मार्सल मुनिरको तेहरान भ्रमणबारे जानकारी दिएका छन् । रुबियोले आफू मुनिरसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै इरानसँग छिट्टै कुनै सम्झौता हुनेमा आशावादी रहेको बताए ।

इरानले अमेरिकासँगको वार्ता प्रक्रियालाई अगाडि बढाउन आफ्नो टोलीलाई सक्रिय बनाएको छ । वार्ता टोलीका प्रमुख मोहम्मद बकिर कालिबाफले इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईलाई वार्ता टोलीको आधिकारिक प्रवक्ता नियुक्त गरेका छन् । बाकाई यसअघि इस्लामावादमा भएको इरान–अमेरिकाबिचचको पहिलो चरणको वार्तामा इरानी टोलीको सदस्यका रूपमा सहभागी थिए ।

पाकिस्तानका गृहमन्त्री पनि हाल इरान भ्रमणमै रहेका छन् । विगत दुई दिनदेखि दुवै देशका उच्च अधिकारीहरूबिच गम्भीर छलफल भइरहेको छ । इरानी समाचार एजेन्सी फार्सका अनुसार यो वार्ताको मुख्य उद्देश्य इरान र अमेरिकाबिचको मतभेद हटाउने प्रस्तावहरूमाथि छलफल गर्नु हो ।

इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समार्फत जारी वार्तामा केही सकारात्मक सङ्केतहरू प्राप्त भएको जानकारी दिएका छन् । यद्यपि, उनले इरानको युरेनियम भण्डार र होर्मुज जलसन्धिमाथिको नियन्त्रण जस्ता मुख्य विषयहरूमा भने अझै पनि गतिरोध कायम रहेको स्पष्ट पारेका छन् । तनावपूर्ण स्थितिका बावजुद वार्ताको प्रक्रियालाई लिएर आफू आशावादी रहेको अरागचीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)