मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मोवाइलबाटै बिरामीको आँखा जाँच हुने

gorkhapatraonline.com · Fri Jun 05 09:13:41 GMT 2026

नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयमार्फत रेसुङ्गा नगरपालिकामा पिकभिजन कार्यक्रम कार्यान्वयनमा आएको छ । यो कार्यक्रममार्फत मोवाइलबाटै बिरामीको आँखा जाँच र निगरानी हुनेगर्छ ।

अब स्वास्थ्य संस्थामा आएका बिरामीलाई मोबाइलको माध्यमबाट आँखा जाँच गर्ने र उपचार आवश्यक परे आँखा उपचार केन्द्रमा पठाउन सकिने छ । यो कार्यक्रम लुम्बिनी प्रदेशमा पहिलो हो ।

कार्यक्रम नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयका कार्यवाहक अध्यक्ष श्यामकुमार पोखरेल र जिल्लाको नेतृत्वले शुभारम्भ गरेको थियो । यसको माध्यमबाट बिरामीहरुलाई आँखा उपचारका लागि सहज पहुँच पुग्ने विश्वास गरिएको नेपाल नेत्रज्योति संघ गुल्मीका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो । रेसुङ्गा नगरपालिकाका प्रत्येक स्वास्थ्य संस्थालाई एक–एक थान मोबाइल प्रदान गरिएको छ । उक्त मोवाइलमा आफ्नै सफ्टवेर छ ।

नगरका स्वास्थ्य संस्थामा आँखा जाँच गरिएको बिरामीको सम्पूर्ण तथ्याङक जिल्ला आँखा उपचार केन्द्रको सर्भरमा देखिने र रिफर भएको बिरामी जिल्ला आँखा उपचार केन्द्रमा नआउँदासम्म बारम्बार सन्देश जाने नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्रका सूचना अधिकारी बीरबहादुर कार्कीले जानकारी दिनुभयो ।

रेसुङ्गा नगरपालिकामा १६ स्वास्थ्य संस्था छन् । उनीहरुलाई कार्यक्रम र प्रविधिको बारेमा तालिम प्रदान गरिएको छ । नेपाल नेत्र ज्योतिसंघ केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक रञ्जन शाह, सूचना प्रविधी बिशेषज्ञ शैलेन्द्र मानसिंह, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेत र सूचना अधिकारी बीरबहादुर कार्कीले स्वास्थ्य संस्थालाई प्रविधिबारेमा तालिम प्रदान गर्नुभएको थियो ।

यो बेलायतको अन्तर्राष्ट्रिय संस्था पिक फाउन्डेसन र नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित पिकभिजन कार्यक्रम हो । यो कार्यक्रमका तीनवटा मोडलहरुमध्ये रेसुङ्गामा कार्यान्वयन गरिएको हेल्थ पोस्ट मोडल भएको सूचना अधिकारी कार्कीले बताउनुभयो ।

नेपाल नेत्रज्योति संघ गुल्मी, आँखा उपचार केन्द्रले बार्षिक रुपमा ४० हजार बढिको आँखा उपचार गर्ने गरेको जनाएको छ । त्यस्तै, ५०० भन्दा बढीको शल्यक्रिया र दश हजार विद्यार्थीको निःशुल्क आँखा जाँच तथा ५०० जनालाई निःशुल्क चस्मा वितरण गरेको केन्द्रले जनाएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखाको रुपमा २०४९ सालमा स्थापना भएको थियो ।

शाखाको सदरमुकाम तम्घासमा एउटा शल्यक्रिया केन्द्र र विभिन्न पालिकामा रहेका छ वटा आँखा उपचार केन्द्रहरु छन् । जसकाकारण गुल्मी जिल्लावासी र छिमेकी जिल्लाका नागरिकको आँखा उपचार सेवा र शल्यक्रिया सेवामा सहज पहुँच रहेको नेपाल नेत्रज्योति संघ गुल्मीका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)