चालु आर्थिक वर्षको ९ महिनामा एनसेलले बुझायो १४ अर्ब ५९ करोड राजस्व
onlinekhabar.com · Mon Jun 15 13:17:34 GMT 2026

१ असार, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा विभिन्न कर, शुल्क तथा रोयल्टीबापत राज्यलाई कुल १४ अर्ब ५९ करोड रुपैयाँ योगदान गरेको छ ।
कम्पनीका अनुसार उक्त अवधिमा सबैभन्दा बढी दूरसञ्चार सेवा शुल्क (टेलिकम्युनिकेसन सर्भिस चार्ज–टीएससी) शीर्षकमा २ अर्ब १२ करोड रुपैयाँ तिरिएको छ।
त्यसैगरी एनसेलले मूल्य अभिवृद्धि कर (भ्याट) बापत १ अर्ब ७४ करोड रुपैयाँ, फ्रिक्वेन्सी शुल्कबापत १ अर्ब ९६ करोड रुपैयाँ तथा रोयल्टीबापत १ अर्ब २९ करोड रुपैयाँ योगदान गरेको छ ।
एनसेलले अग्रिम करबापत १ अर्ब २५ करोड रुपैयाँ, भन्सार महसुलबापत १ अर्ब ८ लाख रुपैयाँ तथा स्रोतमा कर कट्टी (टीडीएस) शीर्षकमा ८९ करोड ५४ लाख ७० हजार रुपैयाँ राजश्व तिरेको छ ।
यस्तै, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा ६४ करोड ९६ लाख ६० हजार रुपैयाँ, स्वामित्व करबापत ३४ करोड ९८ लाख रुपैयाँ तथा इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाइसेन्स शुल्कबापत २ लाख ७० हजार रुपैयाँ एनसेलले राजस्व भुक्तानी गरेको छ ।
यी कर तथा शुल्कमार्फत कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै राज्यको राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ