अर्थमन्त्री वाग्ले र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेटवार्ता, के-के भयाे कुराकानी
shilapatra.com · Tue Apr 21 12:23:00 GMT 2026

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र अमेरिकाका सहायक विदेश मन्त्री समीर पल कपुरबीच शिष्टाचार भेटवार्ता भएकाे छ । मंगलबारका अर्थ मन्त्रालयमा भएकाे भेटमा हालै सम्पन्न निर्वाचनपछि गठित सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्धन र द्धिपक्षीय सहयोगका विषयमा छलफल भएकाे थियाे ।
छलफलमा अर्थमन्त्री वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण रहेको बताए । उनले पुराना अनावश्यक कानुनको खारेजी र नयाँ कानुन निर्माणद्वारा आर्थिक सुधार र लगानीको वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे।
उनले अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट विशेष गरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको बताए ।
अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे । हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेकोसमेत बताए ।
सफल व्यापारिक सम्बन्ध र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमजस्ता संस्थाहरूसँगको साझेदारीमा दुवै राष्ट्रहरूले लाभ लिन सक्ने विषयमा सहायक विदेश मन्त्रीले जोड दिए ।
उक्त वैठकमा अर्थ सचिव डा घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूतलगायत उपस्थति रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३
१८:०८
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)