मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषध दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरणमा गम्भिर बन्न प्रहरी महानिरीक्षक कार्कीको आग्रह

nepalviews.com · Mon Jun 15 14:01:40 GMT 2026

बुटवल । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आत्महत्या, लागुऔषध दुर्व्यसन तथा बढ्दो सडक दुर्घटनाका घटनाले परिवार मात्र नभई सिंगो राष्ट्रलाई नै चिन्तित बनाइरहेको भन्दै यस्ता समस्याको न्यूनीकरणका लागि सबै पक्ष गम्भिर हुनुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलमा आयोजना गरेको जनचेतनामूलक कार्यक्रममा सम्बोधन गर्दै उनले शान्तिपूर्ण, सुरक्षित र सभ्य समाज निर्माणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गरे। समुदाय, परिवार, शैक्षिक संस्था तथा सम्बन्धित निकायको सक्रिय सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

प्रहरी महानिरीक्षक कार्कीले आत्महत्याका घटनामा वृद्धि हुनुका पछाडि मानसिक तनाव, पारिवारिक समस्या र सामाजिक दबाब प्रमुख कारणका रूपमा रहेको उल्लेख गर्दै समयमै परामर्श, संवाद र सहकार्य आवश्यक रहेको बताए। नेपालमा दैनिक औसत १९ जनाले आत्महत्या गर्ने तथ्यांक रहेको स्मरण गराउँदै उनले यसलाई गम्भिर सामाजिक चुनौतीका रूपमा लिएर रोकथामका लागि सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले लागुऔषध दुर्व्यसनले विशेषगरी युवापुस्तामा गम्भिर नकारात्मक असर पारिरहेको भन्दै अभिभावक, विद्यालय, स्थानीय समुदाय तथा सम्बन्धित निकायलाई थप सचेत र जिम्मेवार बन्न आग्रह गरे।

कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, सडक प्रयोगकर्ताको जिम्मेवारी तथा जनचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाउने विषयमा पनि जोड दिइएको थियो।

सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले अपराध नियन्त्रणसँगै सामाजिक विकृति र विसंगति न्यूनीकरणमा जनसहभागिता अत्यन्त महत्त्वपूर्ण रहेको बताए। प्रहरी र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा नेपाल प्रहरीको जनचेतनामूलक सांगीतिक प्रस्तुति पनि राखिएको थियो। विभिन्न शैक्षिक संस्था, स्थानीय तह, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा जनचेतना अभियानमा योगदान पुर्‍याएका उज्ज्वल विक्रम थापा र शुकदेव कार्कीलगायतलाई सम्मान गरिएको थियो।

लुम्बिनी प्रदेश प्रहरीले तीन दिनसम्म सञ्चालन गरेको उक्त जनचेतनामूलक अभियानले आत्महत्या, लागूऔषध दुव्र्यसन र सडक दुर्घटनाजस्ता सामाजिक समस्याप्रति जनचेतना अभिवृद्धि गर्दै समाधानका लागि साझा जिम्मेवारीबोध विकास गर्ने उद्देश्य राखेको जनाएको छ। कार्यक्रमका सन्देश व्यवहारमा समेत लागू गर्न सके सुरक्षित, स्वस्थ र सभ्य समाज निर्माणमा उल्लेखनीय योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)