मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंलाई ‘सांस्कृतिक अध्ययन–अनुसन्धान’ केन्द्र बनाउने घोषणा

nagariknews.nagariknetwork.com · Mon Jun 15 14:02:02 GMT 2026

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा काठमाडौंलाई ‘सांस्कृतिक अध्ययन–अनुसन्धान’ को केन्द्र बनाउने घोषणा गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ११ क्षेत्र समेटेर १०१ बुँदे नीति तथा कार्यक्रममा सम्पदा, संस्कृति तथा पर्यटन क्षेत्रलाई शहरको पहिचान, आर्थिक विकास र पर्यटन प्रवर्द्धनसँग जोडेर प्राथमिकतामा राखिएको बताएकी छन्।

प्रमुख डंगोलले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्निर्माण र प्रवर्द्धन गर्दै लैजाने तथा विश्व सम्पदा सूचीमा रहेका र अन्य पुरातात्त्विक सम्पदाको नियमित संरक्षण र व्यवस्थापनमा महानगरले विशेष जोड दिने बताइन्।

‘सांस्कृतिक शहरः समृद्ध महानगर’ को परिकल्पनालाई मूर्त रूप दिन काठमाडौं महानगर क्षेत्रको मौलिक र विशिष्ट ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा विकास गरिनेछ,’ प्रमुख डंगोलले भनिन्, ‘काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक शहरका रूपमा विकास गरिनेछ।’

यहाँका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक तथा सामाजिक महत्वका मठ, मन्दिर, चैत्य, द्यःछेँ, बहाल, बहा, बही, हिटी, पोखरी, गुम्बा, स्तूप, चोक, नानी, डबली, फल्चालगायतका संरचना तथा सम्पदा स्थलहरूको अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामाकरण, नक्सांकन, मर्मत, जीर्णोद्धार र पुनर्निर्माण गरी संरक्षण तथा संवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

स्थानीय जात्रा, पर्व, परम्परा तथा सांस्कृतिक गतिविधिको संरक्षण र पुस्तान्तरणमा जोड दिँदै सम्पदा क्षेत्रको सौन्दर्यीकरण तथा पर्यटकमैत्री पूर्वाधार विकासलाई महानगरले प्राथमिकता दिएको छ।

काठमाडौंलाई सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने कार्यक्रम तयार गरी सम्पदा तथा संस्कृति संरक्षणमा स्थानीय समुदायको सहभागिता वृद्धि गर्दै जाने महानगरको नीति रहेको छ।

परम्परागत कला, हस्तकला र सांस्कृतिक उद्यमलाई प्रवर्द्धन गरी रोजगारी सिर्जनामा सहयोग गर्ने नीति तय गरिएको छ।

महानगरको नीति अनुसार सम्पदा संरक्षणलाई केवल ऐतिहासिक दायित्वका रूपमा नभई पर्यटन विकास, आर्थिक समृद्धि र काठमाडौंको मौलिक पहिचान जोगाउने माध्यमका रूपमा अघि बढाइने लक्ष्य राखिएको छ। यसले सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

‘सांस्कृतिक संग्रहालय, कला केन्द्र तथा सांस्कृतिक अध्ययन–अनुसन्धानलाई प्रोत्साहन गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि पर्यटन मार्ग, सूचना केन्द्र तथा डिजिटल प्रचार विस्तारमा जोड दिइनेछ,’ प्रमुख डंगोलले भनिन्, ‘काठमाडौं महानगरमा मनाइँदै आएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको जात्रा इन्द्रजात्रा तथा रथयात्राका प्रमुख देवगण श्री गणेश र श्री भैरवका लागि निवास निर्माण गर्न आवश्यक व्यवस्था मिलाइनेछ।’

महानगरले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, वातावरण, पूर्वाधार विकास, डिजिटल सुशासन तथा सांस्कृतिक सम्पदा संरक्षणलाई प्रमुख प्राथमिकतामा राखेको छ।

महानगरले विद्यालय शिक्षाको गुणस्तर सुधारलाई केन्द्रमा राख्दै सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्ने, शिक्षक क्षमता विकास गर्ने तथा प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार गर्ने नीति लिएको छ। विद्यार्थीको सिकाइ उपलब्धि सुधार, विद्यालयमा डिजिटल प्रविधिको प्रयोग तथा प्राविधिक शिक्षाको पहुँच विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।

‘सबैका लागि शिक्षा तथा समावेशी शिक्षाको सुनिश्चित गर्न अटिजम, डाउन सिन्ड्रोमलगायत अपाङ्गता भएका तथा जोखिममा रहेका बालबालिकाका लागि विशेष विद्यालयको व्यवस्था गरिनेछ,’ उनले स्पष्ट पारिन्, ‘ज्येष्ठ नागरिक तथा गृहिणी विद्यालय र वैकल्पिक विद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गरी अन्तरपुस्ता क्रियाकलापलाई प्रवर्द्धन गरिनेछ।’

स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन, मानसिक स्वास्थ्य सेवा प्रवर्द्धन तथा महानगरभित्रका स्वास्थ्य संस्थाको सेवा गुणस्तर सुधार गर्ने लक्ष्य राखिएको छ।

वातावरण तथा सरसफाइ क्षेत्रमा फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, स्रोतमै फोहोर वर्गीकरणलाई अनिवार्य गर्ने, हरियाली क्षेत्र विस्तार गर्ने तथा वायु प्रदूषण नियन्त्रणका कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ।

पूर्वाधार विकासअन्तर्गत सडक, ढल, सार्वजनिक स्थल तथा पैदलमैत्री संरचनाको निर्माण र स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ। जोखिमयुक्त बस्ती व्यवस्थापन, विपद् न्यूनीकरण तथा भूकम्पीय सुरक्षासम्बन्धी कार्यक्रमलाई समेत समेटिएको छ।

महानगरले डिजिटल सुशासनलाई थप सुदृढ गर्दै अधिकांश सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने, सेवा प्रवाहलाई पारदर्शी र छरितो बनाउने तथा नागरिक गुनासा व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ। आगामी दिनहरूमा ‘पेपरलेस महानगर’ बनाउने लक्ष्यसमेत नीतिमा समेटिएको छ।

पर्यटन तथा सम्पदा संरक्षणतर्फ ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्निर्माण र प्रवर्द्धनमा जोड दिइएको छ। साथै काठमाडौंलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित गर्ने योजना पनि समावेश गरिएको छ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार, डिजिटल तथा प्रविधिमैत्री शिक्षा, आधारभूत स्वास्थ्य सेवाको विस्तार, फोहोर व्यवस्थापन र वातावरण संरक्षण, सडक, ढल तथा सार्वजनिक पूर्वाधार विकास, डिजिटल सुशासन र सेवा प्रवाह सुधार, सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धन, विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित शहर निर्माण आगामी नीति तथा कार्यक्रमका प्रमुख प्राथमिकता हुन्।

महानगरले ‘स्मार्ट, सुरक्षित, हरित र व्यवस्थित काठमाडौं’ निर्माण गर्ने लक्ष्यसहित शहरी योजनालाई अघि बढाएको छ। यसका लागि दीर्घकालीन गुरुयोजना, भू–उपयोग व्यवस्थापन तथा प्रविधिमा आधारित शहरी सेवा विस्तारलाई प्राथमिकता दिइएको छ।

खुला क्षेत्र, पार्क तथा सार्वजनिक स्थलहरूको संरक्षण र विस्तार, भवन निर्माण मापदण्डको प्रभावकारी कार्यान्वयन, सुरक्षित भवन प्रवर्द्धन, भूकम्प तथा अन्य विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर शहरी योजना निर्माण, यातायात व्यवस्थापन सुधार तथा स्मार्ट ट्राफिक प्रणालीको विकास, साथै ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षणलाई शहरी विकाससँग जोड्ने नीति महानगरले अघि सारेको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय