पत्रकार महासंघ बझाङमा सिंहले सम्हाले नेतृत्व, विष्टको बिदाई
nepalpress.com · Mon Jun 15 14:45:02 GMT 2026

बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललितबहादुर सिंहले कार्यभार सम्हालेका छन्। २०८१ सालमा सम्पन्न शाखाको अधिवेशनमा अध्यक्ष पदका दुई उम्मेदवारबीच बराबर मत आएपछि भएको आधा–आधा कार्यकाल बाँड्ने सहमतिअनुसार सिंहले सोमबारदेखि नेतृत्व सम्हालेका हुन्।
तत्कालीन निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार ललितबहादुर सिंह र ढेपबहादुर विष्ट (डीबी) ले बराबर मत प्राप्त गरेपछि दुवै पक्षबीच १५–१५ महिनाको कार्यकाल बाँडेर नेतृत्व गर्ने लिखित सहमति भएको थियो। सोही सहमतिअनुसार पहिलो १५ महिनाको कार्यकाल पूरा गरेका विष्टले नेतृत्व हस्तान्तरण गरेका हुन्।
सोमबार सदरमुकाम चैनपुरमा आयोजित विशेष कार्यक्रमका बीच निवर्तमान अध्यक्ष विष्टलाई बिदाइ गरिएको थियो भने सिंहलाई पदभार ग्रहण गराइएको थियो।
चुनौतीपूर्ण यात्राबाट नेतृत्वसम्म
लामो समयदेखि बझाङको पत्रकारितामा सक्रिय सिंह नेपाल प्रेस युनियन बझाङका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ बझाङ शाखाका सदस्य तथा सचिवको जिम्मेवारी सम्हालिसकेका अनुभवी पत्रकार हुन्।
पदभार ग्रहणपछि अध्यक्ष सिंहले श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण, व्यावसायिक पत्रकारिताको विकास तथा महासंघको संस्थागत सुदृढीकरणलाई आफ्नो कार्यकालको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, `सहमति र सहकार्यको यो मोडलले बझाङका पत्रकारहरूबीच एकताको सन्देश दिएको छ। सबै पक्षलाई समेटेर महासंघलाई अझ सशक्त बनाउने प्रयास गर्नेछु।´
निवर्तमान अध्यक्ष विष्टले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कार्यसमिति, पत्रकार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई पूर्ण सहयोग रहने बताए।
कार्यक्रममा जिल्लाका अग्रज पत्रकार, सञ्चारसम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)