मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वडाध्यक्षलाई प्रश्न: वडा कार्यालयन नै बनाउन नसक्ने तपाईंले नौ वर्षसम्म के के गर्नुभो ?

nagariknews.nagariknetwork.com · Mon Jun 15 14:32:35 GMT 2026

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारबासीले दुई वर्षको कार्यकालसम्ममा पनि कार्यालय बस्न एउटा वडा कार्यालयसम्म पनि किन बनाउन नसकेको भनी वडा अध्यक्षसँग प्रश्न उठाएका छन् । वडामा सोमबार भएको वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय वडाबासीहरुले वडा कार्यालय भवन निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै वडावासीहरूले वर्तमान वडा अध्यक्षले दुई कार्यकाल गरी करिब नौ वर्ष नेतृत्व सम्हालिसक्दा पनि वडा कार्यालयको आफ्नै भवन निर्माण गर्न नसकेको भन्दै प्रश्न उठाएका हुन् । उनीहरूले वडा कार्यालय अझै पनि भाडाको भवन वा अस्थायी व्यवस्थामै सञ्चालन हुनुपरेको अवस्थाले सेवाग्राहीलाई सास्ती भएको गुनासो गरे ।

स्थानीयवासीहरूले “दुई कार्यकालसम्म नेतृत्वमा रहँदा पनि वडा कार्यालय निर्माण हुन नसक्नुको कारण के हो ?” “वडा कार्यालय निर्माणका लागि बजेट विनियोजन र प्रक्रिया कहाँ अड्किएको छ ?” लगायतका प्रश्नहरू सार्वजनिक रूपमा राखेका थिए । उनीहरूले विकास निर्माणका अन्य कामहरू भए पनि वडा कार्यालय जस्तो आधारभूत पूर्वाधार निर्माणमा पर्याप्त ध्यान नदिइएको आरोप लगाए ।

जवाफमा वडा अध्यक्षले वडा कार्यालय निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन, बजेट अभाव तथा विभिन्न प्रशासनिक प्रक्रियाका कारण काम अपेक्षित रूपमा अघि बढ्न नसकेको बताएका थिए । उनले आगामी दिनमा वडा कार्यालय निर्माणलाई प्राथमिकतामा राखेर आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

२०७४ सालको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारको वडा अध्यक्षमा सानुकाजी कायस्थ विजयी बनेका थिए । दोस्रो कार्यकालमा पनि उनी नै वडा अध्यक्ष विजयी भएका हुन् । कायस्थको यो दोस्रो कार्यकालयको चौथौ वर्ष हो । पहिलो वर्ष पाँच र दोस्रो वर्षमा चार गरी उनले कुल नौ वर्ष वडा अध्यक्ष चलाएका छन् । यसअघि यो ठाउँ सिरुटार गाउँपालिका थियो ।

कार्यक्रममा सहभागी स्थानीयहरूले वडा कार्यालय निर्माणको विषयलाई अब थप लम्ब्याउन नहुने भन्दै स्पष्ट कार्ययोजना सार्वजनिक गर्न माग गरेका थिए । उनीहरूले जनप्रतिनिधिहरूले चुनावी प्रतिबद्धता पूरा गर्नुपर्ने र सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरूको व्यवहारिक समाधान दिनुपर्नेमा जोड दिएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा कार्यालयको सेवा प्रवाह, सडक, खानेपानी, ढल व्यवस्थापन, सरसफाइ तथा अन्य विकास निर्माणका विषयमा समेत स्थानीयवासीहरूले विभिन्न जिज्ञासा र गुनासा राखेका थिए । सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीहरूले उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

स्थानीयवासीहरूले वडा कार्यालय निर्माणको विषयमा अब ठोस प्रगति देखिनुपर्ने अपेक्षा व्यक्त गर्दै सार्वजनिक सुनुवाइलाई जनप्रतिनिधिलाई जवाफदेही बनाउने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

भक्तपुरमा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण गरी चार वटा नगरपालिकाहरु छन् । यहाँ कुल चार वटा नगरपालिकाहरुमा ३८ वटा वडा कार्यालयहरु छन् ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)