मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुम्बासी : हिजो छाना खोसियो, आज खाना

shilapatra.com · Mon Jun 15 15:20:55 GMT 2026

युवारानी कार्की कीर्तिपुर होल्डिङ सेन्टरमा बस्छिन् । उनी १० वर्षकी भइन् । उनी विश्व निकेतन स्कुलमा ४ कक्षामा पढ्छिन् । आज स्कुल किन नगएको भन्ने प्रश्नमा उनले भनिन्, ‘हामी त तयार भइसकेका थियौँ तर आज खाना नै आएन । त्यसैले स्कुल पनि गएनौँ ।’

कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीले सोमबार बिहानको खाना खान पाएनन् । खाना पकाउने र खुवाउने टोली आइतबार राति नै भाँडाकुँडा उठाएर हिँडेपछि सोमबार बिहान सकुम्बासीहरू भोकै बस्नुपर्ने अवस्था आएको हो ।

शान्ति सेवा गृह नाम गरेको संस्थाका केही व्यक्तिहरू चिउरा र दही लिएर आएका थिए ।

यसै होल्डिङ सेन्टरमा बस्दै आएकी सीता खड्का भन्छिन्, ‘सरकारले १५ दिनका लागि भनेर ल्याएको झण्डै दुई महिना नै बित्न लाग्यो । खानाको भन्दा पनि बस्नका लागि आनन्द भएको भए हुने थियो । यहाँबाट चाहिँ चाँडै जान पाए हुने थियो ।’

सुकुम्बासी बस्ती हटाएपछि बनाइएका होल्डिङ सेन्टरमा सुरुमा खानपानमा राम्रै व्यवस्थापन गरेको उनीहरू बताउँछन् । ‘पहिले त राम्रो थियो । गाडीमा खाना आउँथ्यो । बिहान चियाँ बिस्कुट दिइन्थ्यो । साढे ९ बजेतिर खाना खुवाउँथ्यो । नानीबाबुहरू स्कुल जान्थे,’ खड्काले भनिन्, ‘२ बजे दूधको चिया र खाजा पाइन्थ्यो । पहिले राम्रो थियो । खोइ अहिले त के भयो कुन्नि ? पछि यहीँ दालभात पकाएर खुवाए । त्यो पनि हिजोबाट हटाइदिहाल्यो ।’

बस्तीमा हठात् डोजर चलाएपछि अलपत्र परेका सुकुम्बासीलाई जसोतसो कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएको थियो, जहाँ काठमाडौं महानगरपालिकासँगको समन्वयमा राधास्वामी सत्संगले खाना खुवाएको थियो । तर, सरकारले थप निर्णय नगर्दा खाना ख्वाउने कुरामै अव्यवस्था आएको हो । समयमा व्यवस्थापन नगर्दा स्कुल जाने बच्चाहरूसमेतलाई असर पुगेको छ । नियमितजस्तै गरी खाना कुरेर बसे पनि खुवाउनेहरू भाँडाकुँडा उठाएर हिँडेपछि उनीहरूको बिजोक भएको हो ।

बस्ने व्यवस्था मिलाउने भनिए पनि दुःख मात्रै दिएको उनको गुनासो छ । थापाथलीको सुकुम्बासी बस्तीमा गरेको काम पनि खोसिएको छ । उनलाई श्रीमान्‌ले छोडेका छन् । माइती र घर कहाँ हो पनि थाहा छैन, जसले समस्या थपिएको छ । थापाथली बस्तीमा हुँदा नजिकका घरमा लुगा धुने, भाँडा माझ्ने काम गरेर छोरीहरू हुर्काएकी थिइन् । अहिले त्यही काम पनि नभएको शिलापत्रसँग बताइन् ।

३४ वर्षकी गोमा कुमारीको पीडा पनि फरक छैन । थापाथलीस्थित सुकुम्बासी बस्तीमा उनको चटपटे पसल थियो । १२ वर्षको उमेरदेखि उनी त्यहाँ बस्दै आएकी थिइन् । तर, अहिले हठात् बस्ती भत्काइएपछि उनको बिजोक भएको छ । अब त खानपानको पनि टुंगो नभएको उनी बताउँछिन् ।

‘पहिला यहाँको राधास्वामीले खाना दिएको बेलाचाहिँ एकदमै राम्रो थियो । उहाँहरूले पनि कति पो खुवाउन सक्नुहुन्छ र ? पछि बनेपाको एउटा क्यान्टिन बोलाएर खाना खुवाउने व्यवस्था गरेको थियो । खाना पाएपछि मीठो किन चाहियो, पेट भर्न पाए पुगिहाल्यो,’ उनी भन्छिन्, ‘हिजोदेखि सरकारले शान्ति सेवा संस्थालाई खाना खुवाने जिम्मा दिएको छ रे । तर, आज हामी ९ बजेसम्म खाना कुर्‍यौँ , बच्चाहरू पनि स्कुल जान तयार भएर बसेका थिए । तर खाना आएन । जब सबै जना आन्दोलनमा उत्रिएपछि शान्ति सेवा संस्थाले १२ बजेतिर चिउरा र दही ल्याएर खान बोलायो ।’

त्यसपछि उनीहरूले यतिखेर हो बच्चाहरूलाई खाना दिने समय ? भनेर विरोध पनि गरे । कतिले खाए कतिले आफैँले पैसा उठाएर चिउरा र दालमोट खाएर पेट गरे । समयमा खाना नपाएपछि बच्चा स्कुलसमेत जान पाएनन् ।

सवारीसाधन हुनेहरूले पहिले नै पढाएका स्कुलमा लैजान्छन् । नहुनेहरूका बच्चाको अन्योल कायमै छ । ‘बच्चाहरूको पढाइ पनि बिग्रियो । बस्ने ठाउँ त ठीकै छ तर अहिले गर्मीको समयमा धेरै नै गर्मी हुन्छ, अनि लाखुट्टेले पनि उत्तिकै सताउँछ,’ दु:खेसो गर्दै उनीहरू भन्छन्, ‘कत्तिलाई त लामखुट्टेले टोकेर डेंगी रोगसमेत लागेको छ ।’

दुःखसुख गर्दै आएको कामबाट समेत उनीहरू विमुख भएका छन् । थापाथली हस्पिटलको छेउमा चटपटे बेच्ने, मकै बेच्ने, घरमा सामान्य काम गर्ने अवसर खोसिएको छ । वर्षौंदेखि बस्दै आएको घरसँगै, काम र माम दुवै गुमाउन उनीहरू विवश भएका छन् ।

निलबहादुर बुढाथोकी दुबईमा २ वर्ष काम गरेर आएको भर्खर चार दिन भयो । यहाँ घर बस्ती भत्किँदै गर्दा उनलाई कम्ता छटपटी भएन । २० वर्ष सुकुम्बासी बस्तीमा आमा, बा, श्रीमती र छोरीलाई हुर्काए । तर, अहिले हठात् बस्ती भत्किएपछि अवाक् छन् ।

उनको पुर्खाैली घरचाहिँ इलामको इभाङमा हो । तर त्यहाँचाहिँ पहिरोले सबै जग्गा लगेको हुनाले जग्गा नरहेको उनले सुनाए । ‘त्यो पनि बाबुबाजेको नाममा छ, हाम्रो नाममा त केही छैन । फेरि बस्नलायक पनि छैन । त्यही भएर काठमाडौं आएका थियौँ,’ उनी भन्छन्, ‘यहाँको बसाइ त यस्तै छ । दुबई गएको १४ महिनासम्म कमाएको ऋण तिर्नै ठिक्क भयो । काम गर्न नसकी फर्किंदा केही पनि जोहो भएन ।’

पुनम तामाङको नसाको शल्यक्रिया गरेको २० दिन भयो । गम्भीर शल्यक्रिया गरेकाले उनलाई जे पायो त्यही खान मिल्दैन । मेसको खाना उनको स्वास्थ्यका लागि उचित हुँदैन । त्यसैले खोले खाएर दैनिकी टारेको बिलौना उनी गर्छिन् । ‘डाक्टरले आलु, खाना नखाऊँ भनेको छ । यहाँ फेरि त्यही आलु नै तरकारी हुन्छ । छोरीले बाहिरबाट पिठो ल्याउँछिन् । त्यसको नै खोले बनाएर खान्छु,’ उनी भन्छिन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पूर्वजानकारी गराउनमा समस्या भए पनि सोमबारबाटै खाना खुवाउने क्रम पुनः सुरु भएको जानकारी दिए ।

‘सरकारले स्थायी व्यवस्थापन गर्ने भनेर घोषणा गरेको छ । त्यसैले अस्थायी प्रयोजनका लागि विभिन्न संघसंस्थाले इच्छा देखाएकाले महानगरले उनीहरूलाई जिम्मा दिएको हो । सोमबारको सवालमा पूर्वजानकारी नभएपछि अलमल भएको हो । अघिपछिको समयमा खाना नआउँदा उहाँहरू आक्रोशित हुनु स्वाभाविक हो,’ मानन्धरले भने, ‘तर जसले ख्वाउँदै आउनुभएको छ, उहाँहरूअन्तर्गतकै अर्को संस्था भेटिएपछि दिउँसोबाट खाना खुवाउन थालिएको छ । अब समस्या आउँदैन । आए पनि महानगरले सरकारसँगको समन्वयमा व्यवस्थापन गर्छ ।’

प्रकाशित मिति: सोमबार, असार १, २०८३

२१:०५

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय