मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटकै दिन सुदूरपश्चिम सरकारमा किचलो : राति ९ बजे मन्त्रिपरिषद् बैठक बोलाइयो, त्यसलगत्तै बजेट प्रस्तुत हुने

nepalpress.com · Mon Jun 15 15:22:16 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने दिनमै सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको विवाद सतहमा आएको छ । बजेटको भागबण्डा र आयोजना व्यवस्थापनलाई लिएर उत्पन्न असमझदारीका कारण दिनभर राजनीतिक रस्साकस्सी चले पनि अन्ततः राति ९ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले करिब ३८ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । तर बजेट निर्माणको अन्तिम चरणसम्म पनि कांग्रेस र एमालेबीच योजना छनोट तथा बजेट व्यवस्थापनका विषयमा सहमति जुट्न सकेको थिएन । एमालेले आफूहरूले सिफारिस गरेका योजना अपेक्षाअनुसार समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।

आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार रातिदेखि बजेट इन्ट्री तथा बजेट वक्तव्य तयारीको काम जारी रहे पनि गठबन्धनभित्रको विवादका कारण बजेट प्रस्तुतिको कार्यतालिका प्रभावित हुने संकेत देखिएको थियो ।

आइतबार बसेको प्रदेशसभा बैठकमा एमालेका मन्त्री तथा संसदीय दलका नेता अनुपस्थित रहेपछि गठबन्धनभित्रको असमझदारी थप स्पष्ट भएको थियो । बजेटमा आफ्ना माग सम्बोधन नभएको भन्दै एमालेभित्र असन्तुष्टि बढ्दै गएको बताइएको छ ।

दिनभर सहमतिको प्रयास जारी रहेपछि मुख्यमन्त्री शाहले सोमबार राति ९ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अन्तिम समयसम्म एमालेका मन्त्रीहरू बैठकमा सहभागी हुने वा नहुने विषय अन्योलमा रहे पनि अहिले उनीहरू बैठकमा सहभागी हुने सहमति भएको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत भएपछि आर्थिक मामिलामन्त्रीले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)