बेइजिङमा नेपाल-चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता, केनेक्टिभिटी र सीमा व्यवस्थापनबारे छलफल
nepalviews.com · Mon Jun 15 16:15:26 GMT 2026

काठमाडौं । उत्तरी छिमेकी चीनकाे भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार बेइजिङमा द्विपक्षीय वार्ता भएको छ । फागुन २१ गतेको चुनावबाट रास्वपा सरकारमा आएपछि नेपाली परराष्ट्रमन्त्री खनालको यो पहिलो औपचारिक चीन भ्रमण हो ।
आज वार्तापछि परराष्ट्रमन्त्री खनालले पारस्परिक सम्पर्क (कनेक्टिभिटी), सीमा व्यवस्थापन र व्यापारका विषयमा व्यापक छलफल भएको बताएका छन् । उनले भनेका छन्, "आज बेइजिङमा चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा जनवादी गणतन्त्र चीनका परराष्ट्रमन्त्री महामहिम वाङ यीसँग भेटघाट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । हामीबीच आपसी सम्बन्धका सम्पूर्ण पक्षहरूबारे व्यापक छलफल भयो, जसमा पारस्परिक सम्पर्क (कनेक्टिभिटी), सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका विषयहरू समावेश थिए ।"
मन्त्री खनालले जनस्तरबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको उल्लेख गर्दै दुवै देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता पुनः व्यक्त गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ