मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनका विदेशमन्त्री र परराष्ट्रमन्त्री खनालबीच के विषयमा भयो छलफल ?

baahrakhari.com · Mon Jun 15 16:58:03 GMT 2026

काठमाडौं । चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग बेइजिङमा कुराकानी भएको छ । वाङ चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत हुन् ।

मन्त्री खनालले वाङसँग भेट हुँदा खुसी भएको प्रतिक्रिया दिएका छन् । "हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्रहरू सहित द्विपक्षीय सम्बन्धका सबै पक्षमा व्यापक छलफल गर्‍यौँ," मन्त्री खनालले भनेका छन् ।

जनता-जनताबीचको सम्बन्ध बिस्तार र सम्बन्ध सुदृढीकरणको विषयमा पनि छलफल भएको उनले उल्लेख गरेका छन् । "हामीले जनता-जनताबीचको सम्बन्ध विस्तार गर्ने बारेमा पनि विचार आदानप्रदान गर्‍यौँ र हाम्रा दुई देशहरूको पारस्परिक हितका लागि नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता दोहोर्‍याएका छौँ," उनले भनेका छन् ।

बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै भेटमा नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता र नेपाली भूभागलाई चीन विरोधी कुनै पनि गतिविधिका लागि प्रयोग गर्न नदिने प्रतिबद्धता पुनः दोहोर्‍याएको जनाएको छ ।

"चिनियाँ पक्षले सुशासन र आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारको प्राथमिकतालाई पूर्ण समर्थन गर्ने आश्वासन दिँदै नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍यायो," दूतावासले भनेको छ ।

पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषण, र जनता-जनता सम्बन्धमा वार्ता भएको दूतावासले जनाएको छ ।

"दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम र परियोजनाहरूको द्रूत कार्यान्वयनको लागि दृढ प्रतिबद्धता व्यक्त गरे," दूतावासले भनेको छ, "यसका साथै, उनीहरूले बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहयोगलाई थप अगाडि बढाउन जोड दिए ।"

बैठकपछि मन्त्री खनाल वाङ यीले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

#नेपाल चीन

#शिशिर खनाल

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय