नगरले निम्त्याएको विपद्ले मान्म बजारका ९ घर पहिरोको उच्च जोखिममा
kendrabindu.com · Tue Jul 07 03:31:22 GMT 2026

कालीकोट । खाँडाचक्र नगरपालिकाले प्रशासनिक भवन निर्माणका लागि डोजर लगाएर खनेको जगका कारण यहाँका ९ घर पहिरोको उच्च जोखिममा परेका छन् । डेढ वर्षअघि ठेक्का लगाइएको नगरको भवन निर्माणका लागि गत वर्षको फागुनमा डोजरले माटो खन्दा पहिरो खसेर मान्म बजार जाने सडक पूरै भत्किएपछि थप २० लाख खर्चिएर पर्खाल लगाइए पनि यस वर्ष पुन: पहिरो बग्न थालेको छ ।
नगरपालिकाको ७ तले बहुउद्देश्यीय प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्काअनुसार निर्माण व्यवसायीले काम रफ्तारमा नगर्दा मान्म बजारको सेरापाटा क्षेत्र जोखिममा परेको स्थानीयको गुनासो छ । ‘पहिले लगाएको पर्खाल भत्किसक्यो,’ स्थानीय कर्णप्रसाद चौलागाईले भने, ‘सडक भत्किएर बाटोमाथिका घर पनि जोखिममा छन् ।’ उनले ठेकेदारले काममा ढिलासुस्ती गरेकाले जोखिम बढेको सुनाए । ‘ठेक्का लागेको त दुई वर्ष भइसक्यो,’ उनले भने, ‘काम सुरु गरेको एक वषमा पनि कामले गति लिएको छैन ।’