

रातो पाण्डा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हिमाली क्षेत्रको घना जङ्गलमा पाइने रातो पाण्डा एकदमै दुर्लभ अनि सुन्दर जनावर हो। यसलाई नेपालीमा "हाब्रे" पनि भनिन्छ । रातो पाण्डा विशेषगरी नेपाल, भूटान, भारत, म्यानमार र दक्षिण चीनको पहाडी क्षेत्रमा पाइन्छ। यसको वैज्ञानिक नाम Ailurus fulgens हो।
रातो पाण्डाको शरीर रातो र खैरो रङको हुन्छ, जसले यसलाई निकै आकर्षक बनाउँदछ । यसको लामो अनि बाक्लो पुच्छर र अनुहारमा सेतो रङका धर्सा हुन्छ। रातो पाण्डा एकान्तप्रिय जनावर हो यो प्रायः रुखमा बस्न रुचाउँछ ।
रातो पाण्डा मुख्य रूपमा बाँसको पात, फलफूल, जरा, साना जनावर र चराहरूको अण्डा खान्छ। रातो पाण्डा प्रायः बिहान र साँझको समयमा सक्रिय हुन्छन्, यिनिहरू दिनभर रुखको हाँगामा आराम गर्छन्। नेपालमा यो जनावर लाङटाङ राष्ट्रिय निकुञ्ज, मकालु-बरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र लगायतका ठाउँहरूमा देख्न पाइन्छन्। पर्यटकहरू रातो पाण्डा हेर्नका लागि यी क्षेत्रमा आकर्षित हुने गर्दछन्।