
हिम चितुवा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हिम चितुवा संसारकै दुर्लभ र सुन्दर जनावर मध्येको एक हो। यो नेपालको पहाडी क्षेत्र, तिब्बत र अफगानिस्तानसम्मका हिमाली क्षेत्रमा पाइन्छ। यो प्राणीको चुनौतीपूर्ण वातावरणमा बाच्नसक्ने क्षमता, सुन्दरता र लोपुन्मुख अवस्थाका कारण अत्याधिक चर्चा हुने गर्दछ ।
समुद्री सतहदेखि ९,००० फिटदेखि १८,००० फिट उचाइका क्षेत्रमा बसोबास गर्ने हिम चितुवा नेपालमा चाहिँ सगरमाथा, लाङटाङ, मनाङ र डोल्पा क्षेत्रमा पाइन्छ। हिम चितुवा ढुङ्गा र हिमालमा सजिलै लुक्न र शिकार गर्न सक्षम हुन्छ।
हिम चितुवाको शरीर अत्यन्त आकर्षक हुन्छ। यो प्राणी ३ देखि ४ फिट लामो हुन्छ, जसमा पुच्छर ३ फिटसम्म लम्बाइ हुन सक्छ। यसको तौल २५ देखि ५५ किलोसम्म हुन्छ। यसले भराल, नाउर, मृग, चौंरी गाईका बाच्छा र अन्य साना जनावरको शिकार गरेर आफ्नो जीवन चलाउँदछ । हिम चितुवा प्रायः एक्लै बस्न रुचाउँछ। हिम चितुवाका बच्चाहरू करिब दुई वर्षसम्म आमासँगै बस्छन् र त्यसपछि स्वतन्त्र जीवन बिताउन थाल्छन्।
हिम चितुवा विश्वव्यापी रूपमा लोपुन्मुख जनावरको सूचीमा पर्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले यसलाई "भल्नरेबल" (Vulnerable) को श्रेणीमा राखेको छ। मुख्य रूपमा शिकार, अवैध व्यापार, बासस्थानको विनाश र मानव-वन्यजन्तु द्वन्द्वका कारण यसको संख्या दिनानुदिन घटिरहेको छ।
विदेशका थुप्रै संघसंस्थाहरूबाट नेपालमा हिम चितुवाको बारेमा अध्ययन गर्न अध्ययनकर्ताहरू आउने गर्दछन् अनि हिमाली भेगमा हिम चितुवा देखा परोस् भनेर लामो समय बिताउने गर्दछन् ।