
हिमालयन थार
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
नेपाल, भुटान, भारत र तिब्बतका उच्च पहाडी भेगहरूमा पाइने हिमालयन थार एक विशेष प्रकारको वन्यजन्तु हो। हिमालयन थार २,५०० मिटरदेखि ५,००० मिटर उचाइका हिमाली क्षेत्रमा पाइन्छ। यो मध्यम आकारको जनावर हो,यसको शरीरभरि हुने लामो र बाक्लो रौंले यसलाई कठोर मौसम र उच्च उचाइको क्षेत्रहरूमा बाँच्न सक्षम बनाउँछ। यो जनावरले मुख्य रूपमा चट्टानी पहाड, खुला घाँसेमैदान र हिमाली वन क्षेत्रलाई आफ्नो बासस्थान बनाउँछ। गर्मी महिनाहरूमा यी जनावरहरू उच्च उचाइ भएको ठाउँमा बस्न रुचाउछन् भने जाडो याममा अलि कम उचाइका स्थानतर्फ झर्छन्।
थारले घाँस, झारपात, पातहरू, बोटबिरुवाका हाँगा र फलफूल खाने गर्दछन्। थारहरू झुन्डमा बस्ने जनावर हुन्, जसमा १० देखि १५ सदस्यसम्म हुन सक्छन्।
हिमालयन थार लगभग संकटग्रस्त अवस्थाको प्रजातिको रूपमा सूचीकृत छ। यसको लागि मुख्य खतराहरू भनेको वासस्थानको क्षति, शिकार र जलवायु परिवर्तन पर्दछ। नेपालमा यसको संरक्षणका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्जले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। यसलाई संरक्षण गर्न स्थानीय समुदायको भूमिका पनि अत्यन्त आवश्यक छ।