ब्लग

झिलिमिली, उज्यालो, पशुपंक्षीको पूजा, भाइबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसी भैलो, तथा नेपाल संवत् ११४७ को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको तिहार आएको छ ।
कार्तिक २५ गते बुधवार भाइटीका परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ०७ मिनेटमा रहेको छ । टिका लगाउने यानकी दाजुभाइ पश्चिम फर्कने (पश्चिम मोहडा ) तथा टिका लगाइदिने दिदीबहिनीहरुले पूर्व फर्केर आफ्ना दाजुभाइलाई टिका लगाइदिन सकिन्छ । यस दिन शुभ साइतमा दाजूभाइहरूलाई टिका लगाई दिदी बहिनीहरुले दाजुभाइलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा मखमलीको माला पहिराउने परम्परा रहेको छ । साथै, दाजुभाइलाई मीठो मीठो परिकार खुवाउने पनि गरिन्छ । भाइटीका लगाएपछि यमपञ्चक सहित नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिन्छ । यद्यपी भाइटीकाको दिन दिनभरि नै राम्रो साइत भएकाले आफ्नो अनुकुल समयमा टिका लगाउन सकिन्छ ।
कात्तिक २१ गते शनिवार काग तिहार रहेको छ, काग तिहारका दिन यमदूत कागलाई खानेकुरा खान दिने परम्परा रहेको छ । कार्तिक २२ गते कुकुर तिहार, लक्ष्मी पुजा, नरक चतुर्दशी र सुखरात्रीका दिन यमदूत कुकुरलाई खानेकुरा खान दिइने शास्त्रीय परम्परा छ। नरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रुपमा शरीरभित्र पानी नपस्ने र धार्मिक दृष्टिले यसलोकमा सुख शान्ति मिल्नुका साथै नरक जानु नपर्ने जनविश्वास रहेको छ । सोहि दिन रहेको लक्ष्मीपूजा र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधुली लग्न र सूर्यास्तको बीचको समय उत्तम मानिन्छ । यसै दिन सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा रहेको छ । कार्तिक २३ गते सोमबार गाई पूजा रहेको छ । कार्तिक २४ गते मंगलबार गोवर्द्धन पूजा,नेवार समुदायको म्ह (आत्म) पूजा, हलि तिहार र गोरु पूजा पनि परेको छ । यसै दिन कार्तिक शुक्ल प्रतिप्रदादेखि नेपाल संवत् पनि प्रारम्भ हुन्छ।
