कुमारजी आज्ञा गर्नुहुन्छ- 'हे अगस्त्य मुनि ! तिमीले सोधेको सबै प्रश्नको उत्तर दिइसकें । अब के सुन्ने इच्छा छ? भन । म सबै सुनाउन तयार छु ।' त्यति सुनी अगस्त्य मुनिले बिन्ती गरे- 'हे कुमारजी ! त्रिपुरासुरले कसको तपस्या गर्यो ? त्यसलार्इ श्रीमहादेवले कसरी भस्म पार्नुभयो ? यो सुन्ने इच्छा छ, त्यो सबै आज्ञा गर्नुह्वस् ।' मुनिको यस्तो प्रश्न सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ- 'हे मुने ! अघि विष्णु भगवान्ले हिरण्याक्ष दैत्यको वध गर्नुभयो अनि समस्त दैत्यहरू दुःखी भएर खेद गर्न लागे ।