परिचय
सुरुङको बाटो किताब एउटा रमाइलो, रोमाञ्चक र ज्ञानले भरिएको कथा हो । यो पुस्तकका लेखक टेलिफिल्म र चलचित्रका लेखक अनि अभिनेता ब्रजेश खनाल हुन् । टेलिफिल्म र चलचित्रमा लेखन र अभिनयमा छाएका ब्रजेश पछिल्लो समय पूर्णकालीन लेखकका रूपमा स्थापित छन् । उहाँका दुई उपन्यास यायावर र जुनेली साथसाथै संस्मरण पुस्तक साइक हिरो प्रकाशनमा आइसकेका छन् । यस किताबका मुख्य पात्रहरू जख्खु, ईशान, अभिषेक, अनिशा, ईशानका बुबा कमलकान्त र आमा मधु, ओम अङ्कल, जोजफ, मार्था, बलबहादुर र शहवीर आदि हुन् ।
कथावस्तु
यस पुस्तकको सुरुमा ईशानको परिवार र अभिषेकको सेरोफेरोमा घुमेको कथा मुस्ताङको भ्रमणमा फेला परेको जख्खुको आगमनपछि अल्लि रोचक हुन पुगेको थियो । जख्खुको आगमन पछि ईशानको परिवारमा खुसियाली थपिएसँगै पाठकको लागि पनि पुस्तक झन् रोचक बन्दै गयो । ईशानको परिवारको दोश्रो मुस्ताङ भ्रमणको सिलसिला सुरु भएपछि त झन् कथामा बेग्लै रौनक थपियो । जब बाटोबाटै देखिएको अत्यन्त सुन्दर कटेजको प्रसङ्ग सुरु भयो तब कथा रमाइलो र रोचक मात्र भएन रोमाञ्चक पनि बन्दै गयो । तीन जना केटाकेटी र जख्खुको साहसिक र अनुसन्धानात्मक कार्यले त झनै अब के होला, अब के होला भन्दै पढ्दा त पाठकलाई निक्कै उत्साहित पो बनायो पुस्तकले । केटाकेटीको साहसिक कार्यले शहवीरको ज्यान जोगियो भने बदमास जोजफ, मार्था र बलबहादुर पनि पक्राउ परे । ओम अङ्कलको भूमिका पनि कमको ठान्न सकिन्न । कुकुर भए पनि जख्खुको भूमिका कथावस्तुलाई रोचक बनाउनमा एकदमै मुख्य रहेको छ ।
परिवेश
यस पुस्तकको परिवेश काठमाडौँमा रहेको ईशानको घर, काठमाडौँदेखि मुस्ताङसम्मको बाटोमा पर्ने ठाऊँहरू, मुस्ताङका विभिन्न ठाऊँहरू र बाटोबाटै देखिने अत्यन्त सुन्दर अनि रहस्यमयी कटेज वरपर रहेको छ ।
पात्रहरूः
जख्खु - जख्खु ईशानको परिवाले पहिलो मुस्ताङ भ्रमणमा फेला पारेको कुकुर भए पनि दुई वर्षमा उसको परिवारसँग घनिष्ठ साथी बनेर सुखदु:खमा साथ दियो ।
ईशान - ईशान जख्खुको एकदमै माया गर्ने मालिक थियो । उसलाई घुम्न, डुल्न र साहसिक अनि रोमाञ्चक कार्यहरू गर्न एकदमै मन पर्छ ।
अभिषेक - अभिषेक ईशानको सानीआमाको छोरा र अनिशाको दाइ हो । उसको साथ, सहयोग र साहसले गर्दा नै त्यस्तो बहुमूल्य मूर्ति जोगाउन र बदमासलाई कारबाही गर्न सम्भव भयो । साथै कथालाई पनि निकै रोमाञ्चक बनाउने पात्र पनि उही नै हाे ।
अनिशा - अभिषेककी बहिनी हुन् अनिशा । उनलाई जख्खु एकदमै मन पर्थ्यो । सानी नानी भए पनि उनी पनि दाजुहरू भन्दा कम साहसी थिइनन् ।
कमलकान्त - ईशानका बुबा कमलकान्त मिहेनती र सरल मानिस थिए ।
मधु - मधु गृहिणी अनि जागिरे महिला भए पनि घर परिवार रेखदेख र हेरचाह एकदमै राम्रोसँग गर्थिन् ।
ओम अङ्कल - ओम अङ्कलको भूमिका कथाको बीचसम्म सामान्य होटल साहुजी र कमलकान्तको साथीको जस्तो मात्र थियो । अन्तिममा उहाँको साथ सहयोगले ठुलो समस्या आउनबाट जोगियो अनि बदमासहरू पनि पक्राउ परे ।
निष्कर्ष
यो पुस्तक पढ्न र बुझ्नलाई सरल हुनुको साथै पढ्दा रमाइलो अनि रोमाञ्चक पनि छ । यस किताबको लेखक पनि लेखन कार्यमा अब्बल देखिनुभएको छ । हजुरलाई पनि पुस्तक पढ्नमा रुचि छ भने यो पुस्तक एकचोटि अवश्य पढ्नुहोला ।
प्राप्य मिश्र
कक्षाः ५ ‘नुप्से’
डियरवाक सिफल स्कुल
Liked by: