Surungako Bato | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

सुरुङको बाटाे




   सुशान्त पोखरेल - Dec 27 2024

बालबालिकाहरू स्वभावैले जिज्ञासु र मेहनती हुने कुरा सुरुङको बाटाे उपन्यासले देखाइएकाे

विषय प्रवेशः
सुरुङको बाटो बाल उपन्यास पहिला टेलिभिजन र चलचित्रमा लेखन र अभिनयमा छाएका ब्रजेस खनालद्वारा लेखिएको पुस्तक हो । परिचय पब्लिकेशनले यसलाई बजारमा ल्याएको हो । पाठकहरूका नाममा लेखिएको सन्देश पढ्ने वित्तिकै यो बाल उपन्यास हामी जस्ता बालबालिकाहरूका लागि पढौ पढौ लाग्ने किसिमको छ । १३६ पृष्ठको यस उपन्यासमा कमलकान्त, उनको परिवारका सदस्यहरू र पारिवारिक सदस्यका रुपमा घरको हेरचाह अथवा रक्षकका नामले चिनिने पशु जख्खु नामक कुकुरको इमान्दारीता र भरोसालाई सचित्र चित्रित गरिएको छ । अनि हाम्रो समाजमा लेखकको परिचय भल्काउने भेषभुषा र आनिबानीबारे कमलकान्तको परिचयलाई (लेखक जस्तो) जस्ताको तस्तै उतार्ने खुवी लेखकमा देखिन्छ । जसले लेखक वा साहित्यकारको तस्वीरलाई जो कोहीले सोझै अनुमान गर्न सकिन्छ । यो बाल उपन्यास बालबालिकाका लागि मात्र नभई सबै वर्ग र उमेर समूहका लागि ज्ञानबर्द्धक रहेको छ ।

कथावस्तुः

आफ्नै संसारमा हराइरहने कमलकान्त छुट्टीको बेलामा परिवारलाई घुमाउन देश भित्रै निस्कन्छन् । हाम्रो देश सुन्दर छ । यति धेरै विविधता भएको सुन्दर देश साँच्चिकै विरलै होला । त्यसैले पहिले आफ्नो देशलाई चिन्नु पर्छ भन्ने उनको मुल मन्त्र हुन्छ । यसबाट उनको देश प्रतिको मोह झल्कन्छ । आत्म अनुशासन आफुलाई हरेक कुरामा अनुशासनमा राख्न सक्नु जीवनको गुरुमन्त्र बनाउन उनी बेलाबखत सुझाव दिने गर्छन् । कमलकान्तका कुरा सुन्दा उनका छोरा इशानलाई पनि ठूलो भएपछि देश विदेश घुम्ने, त्यहाँका सभ्यता र संस्कृतीको बारेमा अध्ययन गर्ने अनि बाबु जस्तै लेखक बन्ने प्रेरणा मिल्छ । फुर्सदमा घुम्न उनीहरू जोमसोम पुग्छन् । पहिलो पटक जोमसोम जाँदा कमलकान्तका छोरा इशानको अमिताभ बच्चन बसेको होटल र रुमको क्रेज होस वा दोस्रो पटक जाँदा श्रीदेवी बसेको कोठाको कुराले सर्वसाधारण मानिसको सेलिब्रेटीप्रतिको क्रेजलाई उजागर गर्दछ ।

यस बाल उपन्यासमा बालसुलभ ज्ञानले कुकुर प्रति देखाएको प्यार साँच्चिकै ह्रदय स्पर्शी छ । सोही प्यारले जख्खुले कमलकान्तको परिवारको पारिवारिक सदस्यता प्राप्त गरेको हुन्छ । करिब दुई वर्षपछि अभिषेक र अनिसा (इशानको सानी मम्मीका छोरा छोरी) सहित फेरि जोमसोम जाने अवसर मिल्छ । कमलकान्त आफ्नो अध्ययनका सिलसिलामा माथिल्लो मुस्ताङ जानुपर्ने भएकोले सबैलाई लिएर हिंडेका हुन्छन् । केटाकेटी रमाइलो गर्दै बाटामा फोटा खिच्दै यात्रा अघि बढाउँछन् । मार्फाबाट जोमसोमतर्फ अघि बढ्दै गर्दा इशानले बाटोमा मनमोहक कटेज देख्छ । उनीहरू फोटो खिच्न त्यसतर्फ जान्छन् । उनीहरूले बाटोमा भेटिएका मानिससँग त्यस कटेजको बारेमा जिज्ञासा राख्छन् । ती मानिसले पनि कटेजको बारेमा धेरै कुरा थाहा नभएको तर त्यहाँ कोही पनि नबस्ने बताउँछन् । उनले आफूलाई भन्दा पनि बढी गाउँकै पासाङ काकालाई त्यस बारे जानकारी हुने बताउँछन् । इशानले राती त्यही कटेजको बारेमा अनौठो सपना देख्छ । अर्को दिन बिहान कमलकान्त र मधु कामको शिलशिलामा लोमान्थाङतिर जान्छन् । इशान, अनिसा र अभिषेक कटेजको बारेमा थप बुझ्न पासाङ काकाको घरतिर उकालो लाग्छन् । निकै लामो तर रमाइलो उकालो पार गरेपछ बल्लतल्ल पासाङ काकाकोमा पुग्दछन् । पासाङ काकाले कटेजसँग सम्बन्धित केही किस्सा सुनाउँछन् र कटेज सफा गर्ने महिला दावाका बारेमा जानकारी दिन्छन् । केटाकेटीहरू स्वभाविक नै जिज्ञासु हुन्छन् । ती तीन जनालाई पनि कटेजको बारेमा थप बुझ्न चाह हुन्छ र अर्को दिन त्यसतर्फ जान्छन् । उनीहरूलाई त्यस रहस्यमय कटेज नजिक पुगेपछि डरले होटल फर्किएर ओम अङ्कलसँग कुरा गर्ने भनि फर्कन्छन् । ओम अङ्कल अनि केटाकेटीसँगै दावा काकीलाई भेट्न उनको घर जान्छन् र दावा काकीलाईसँगै लिएर कटेज पनि जान्छन् । दावाकाकीसँग भएको चावीले खोलेर भित्र पनि हेर्छन् । त्यहाँ मानिस बसेको कुनै सङ्केत नदेखेपछि उनीहरू फर्कन्छन् ।

बेलुका होटलमा अरु केही मानिसहरू पनि आएर बसेका हुन्छन् । हेर्दै शङ्कास्पद देखिने ती मानिसहरूको कुरा केटाकेटीले अलि अलि सुन्छन् । उनीहरूको ध्यान पनि त्यही कटेजतर्फ केन्द्रित भएको अनुमान लगाउँछन र राती नै फेरि चन्द्रमाको उज्यालोमा कटेजतर्फ लाग्छन् । इशानले दिउँसो दावा काकीसँग जाँदा एउटा झ्यालको चुकुल खोलेको थियो । उनीहरू गएर त्यो चुकुल खोल्न खोज्छन् खुल्दै खुल्दैन । उनीहरूले बडो परिश्रम र मेहनतका साथ सुरुङको मार्ग हुँदै भित्र पुग्न सफल हुन्छन् । जख्खुले यसमा ठूलो सहयोग गरेको हुन्छ । उनीहरूको पिछा गर्दै अघिका होटेलका मानिसहरू पनि त्यतै आएको कुरा केटाकेटीहरूलाई थाहा थिएन । उनीहरूले कटेजभित्र सहवीर नामको मानिस भेट्टाए । र उसले दिएको झोला बोकेर बाहिरिन लागेकै बेला जोजफहरू त्यहाँ पुगे र झोला खोसे । त्यस झोलामा भएको बहुमूल्य सामान बोकेर सबैलाई डोरीले बाँधी मुखमा कपडा कोचिदिएर जोजफहरू त्यहाँबाट बाहिरिए । जख्खुले इशानको आज्ञा पालना गर्दै ओम अङ्कललाई बोलएर ल्यायो । जख्खुको इमान्दारितालाई हेर्दा लाग्छ जनावरहरू मानिसहरूभन्दा धेरै गुनिला हुन्छन् सायद । ओम अङ्कल कटेजमा पुगेपछि बल्ल कटेज र सहबीर त्यहाँ रहनाको कारणबारे उनीहरू जानकार भए । ओम अङ्कलले दिएको सूचनाका आधारमा जोजफहरू प्रहरी हिरासतमा पुगेको कुरा सुनेर सहबीर बढी खुशी देखिए ।

निष्कर्षः

सरल भाषामा लेखिएको यो पुस्तकमा बालबालिकाहरूको मेहनतको कुरालाई अलिकति पनि नबिर्सी बालबालिकाहरू स्वभावैले जिज्ञासु र मेहनती हुन्छन् भन्ने कुरालाई यस उपन्यासमा दर्शाइएको छ । अनि अबोध पशु कुकुर मानिसको असल मित्र तथा सुरक्षक बन्न सक्छ भन्ने देखाएको छ । अर्को तिर कुनै पनि काममा हो् इमान्दारिता पहिलो मन्त्र बन्नु पर्दछ भन्ने कुरा देखाएको छ । चोरी फटाइ जस्तो काममा पनि इमान्दारिता नहुनाले जोजफ प्रहरी हिरासतमा पुग्नुलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ ।
समग्रमा पुस्तक रोचक र ज्ञानवर्द्धक छ । म अरुलाई पनि यो पुस्तक पढ्न अनुरोध गर्दछु ।

सुशान्त पोखरेल
कक्षाः ५ ‘याङ्ग्रा’
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.