मानिसहरू तराई झरेसँगै, शहर पसेसँगेै
अनि विदेश पलायन भएसँगै, रित्तिदै छ मेरो गाउँ
कोहि बाध्यताले शहर भासिएका छन् त, कोहि सुख सुविधाको खोजीमा
शहर पस्नेको लर्को लागेसँगै, मेरो गाउँ रित्तिदै गएको छ !
पहिले अन्न फल्ने ठाउँहरु आज झारले भरिइसके
भेडा बाख्राले भरिने ती पाखा अनि पखेराहरु
आज वनमारा र झाडिले ढाकिसक्यो
युवा विदेश पलायन भएसँगै मेरो गाउँ रित्तिदै गएको छ !
मैले अक्षर चिनेको स्कुल आज
विद्यार्थी अभावकै कारण खारेज भैसक्यो
म अनि मेरा सङ्गी खेल्दा भरिभराउ हुने त्यो चौर आज एक्लो भैसक्यो।
शहर पस्नेको जमात बढेसँगै मेरो गाउँ रित्तिदै गएको छ!
बोटमा पाक्नै नपाउने ती ऐँसेलु अनि काफल
आज बोटमै सुकेर अनि झरेर गएको छ
दिउँसो मेलापात सकिवरी बेलुकीपख गरिने ती
भजन किर्तन अनि रोदिघरका भाकाहरु
आज गाउँमा मान्छे नभएकै कारण हराउँदै गएको छ
सुविधाको खोजीमा मानिस बसाइँ सरेसँगै,मेरो गाउँ रित्तिदै गएको छ !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: