शंकर ओछ्यानमा पल्टिरहेको थियो, घरको अवस्था ज्यादै नै दयनीय थियो । घाम लागेको बेलामा सितल दिने र पानी परेको बेला ओत लाग्ने ठाउँ व्यवस्थित थिएन ।
शंकर ओछ्यानमा पल्टिरहेको थियो, घरको अवस्था ज्यादै नै दयनीय थियो । घाम लागेको बेलामा सितल दिने र पानी परेको बेला ओत लाग्ने ठाउँ व्यवस्थित थिएन । बेलुकापखको खानपिन सकेर कोठामा गई सुकुल तानेर ओछ्यानमा बर्लङ्ग पल्टिन्छ । घर भित्रबाट माथी बार्दलीको छानोमा नियाल्छ घर बाट तारा मण्डल सबै देखिन्थ्यो त्यो पनि पहाडको घर त्यति राम्रो थिएन । मनमा उकुसमुकुश भएर नानाथरि कल्पनाहरुसंग डुबुल्की मार्दै हुन्छ मानौ कि उ कल्पनामा हराईरहेको हुन्छ ।
भान्साको जुठो भाँडो सकेर रीया आइपुगिन - "केहि बोल्नु पनि छैन, किन चुपचाप बस्नु भएको, के भयो तपाइलार्इ, अनुहार पनि मलिन देख्छु नि! सन्चो त छ तपाइलाई ? बत्तिमा मट्टितेल हाल्नु भयो कि भएन? मधुरो बलेको छ" यस्तै फतफ़ताउँदै रीयाले बत्तीमा मट्टितेल हलिन र आफुसंग भएका बजारे गरगहना एक एक गर्दै फुकालिन र खोपामा राखीन् ।
शंकरको छेउमा गएर हातले टाउको मुसार्दै, "के भयो बोल्नु न ?" शंकरले केहि पनि न बोलि उसलाई च्याप्प समातेर रुन थाल्यो आँखा बाट बलिन्द्र आँसु झार्न थाल्यो- "मैले तिमीलाई केहि पनि दिन सकिन रीया तिमीसंगै बिहे भएका साथीहरु गर गहना लगाएर हिंड्छन तर तिमी भने त्यही बजारे गर गहना अनि त्यहि पुरानो साडी र चोलोमामा कति दिन सजिन्छौ एक दिन यो पनि फाट्यो भने तिमीलाई किनी दिने हैसियत केहि छैन म संग रीया केहि छैन ।"
"यस्तो पनि सोच्ने हो त! एक दिन अवश्य भइहाल्छ नि! हाम्रो पनि दिन फिर्लान नी एक दिन । यो बिषयमा सोच्ने होइन चिन्ता गरेर फाइदा छैन, आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्छ ल सुतौं अब ।" बत्तिलाई जेठी र माइली औंलाले च्याप्प समातेर निभाइन र उनीको खास्टो ओढेर सुतिन । तै पनि शंकर फतफताउँदै थियो, "रीया! साहुको ऋण पनि धेरै छ घरको अवस्था पनि ज्यादै नाजुक छ अब म पैसा कमाउन विदेश जान्छु हेर न! बूढा - बुढी भएका बा आमा छन कति दुख मा राख्नु तिमी पनि त छौ सधैं दुखमा राख्न सक्दिन म विदेश जान्छु . तल्लो घरे माईलाले पनि साउदी बसेर घर बनायो, ऋण तिर्यो अहिले हेर त ! बजारमा पसल थापेर कति मजाले बसेको छ म पनि जान्छु के छ तिम्रो बिचार रीया ?"
रीयाले लामो साँस तानेर बोलिन- "खै ! म के भनु ? नजानु भन्नु भने ऋण पनि धेरै छ घरको अबस्था दयनीय छ जानु भन्नु भने कसरी भन्नु म एक्लै हुन्छु म झन् तपाई बिना कसरी बस्नु अनि तपाई बिना कसरी घर चलाउनु !" "२ बर्षको लागी त हो नि किन चिन्ता गरेको म विदेश पुगे पछि त पैसा पठाई हाल्छु नि ! हेर तिमी संगैका साथीहरु जहाज माथी तिमी चै जहिले पनि यहि हिलो माथी बस्छेउ" शंकरले रीयाको टाउको आफ्नो छातीमा राखेर केशराशी सुम सुमाउदै बोल्यो । रीयाले रुञ्चे अनुहार लगाइन र मनमनै सोच्न थालिन... "जानु भन्नु भने कसरी भन्नु म एक्लै छु ? न जानु भन्नु भने कसरी भनौं ? ऋण धेरै छ..."
रीया! रीया! के भयो ? शंकरले भन्यो । "केहि भएको छैन तपाई आफ्नो विचार गर्नु नि के गर्दा राम्रो हुन्छ नारीको मन कमलो हुन्छ...." मनमा जति पीडा भए पनि आखिर रीयाले जानु नै भनिन । गन्थन गर्दागर्दै रात छिप्पन लागेको हुन्छ रीया जुरुक्क उठेर दैलो लगाउन गइन...
दैलो पनि एउटा थोत्रे टिनको थियो एउटा मुडाले थिच्दै लगाईन । शंकरले सम्झाई बुझाई गर्यो रीयालाई एक्लै हुँदाका दिनहरु कसरी पार गर्ने भन्ने बिषयमा धेरै गन्थन भयो त्यहाँ । गन्थन हुँदा हुँदै रीया निदाउन पुगी । बिचरा शंकर भने चिन्तित देखिन्थ्यो... एक त आफ्नो परिवार छोडेर जानुपर्ने अर्कोतिर पैसा छैन विदेश जाने गाउँको जमिन्दारसंगको कुरा पनि फेल भयो भने कहाँबाट ल्याउने पैसा यस्तै सोंच्दा सोंच्दै पुलुक्क नजर रीया माथी पुर्याउँछ रीयाको अनुहार नियाल्छ उनको मलिन अनुहार र रुप र गुणले धपक्क बलेको देख्छ अनि गलामा सान्त्वनायूक्त माया साँट्छ, अनि सिरानी आफ्नो हातको लगाई दिन्छ आखाँमा निन्द आएको छैन शंकरलाई आज सम्झिन्छ बुढा बुढी भएका बा आमा अनि प्रियसीलाई !
समयले केही महिना पार गरि सकेको थियो । शंकर खाडी मुलुक साउदी अरब जाने तरखरमा हुन्छ र एता घरमा भने उ जाने कुराले रुवाबासी चलेको थियो । रीया पर कुनामा सुक्क सुक्क गर्दै बसेकी थिई उता आमा बा भने आशिर्वाद दिने तयारीमा थिए । कालो झोला निकाल्यो र बाहिर सिकुवामा राख्यो त्यहि बखत एउटा कालो बिरालो म्याउँ-म्याउँ गर्दा अघि र पछि कराउन थाल्यो त्यो बिरालो कराएको सुनेर बाले गाली गरे बिरालोलाई खेदाउन थाले मनमा चिसो पनि पस्यो केहि छिन् अडिएर सोच्न थाले हिड्ने बेलामा कहाँ जाने भनेर न सोध्नु रे, हिड्ने बेलामा रितो गाग्रो देखियो भने नराम्रो साइत पर्छ रे ! यस्तै आदि इत्यादी कुराहरु खेल्न थाले बाको मनम, "बा के भयो ?" शंकर बोल्यो र बा झस्किए -अ- "केहि पनि होइन बाबु ल राम्रोसंग जा परदेश पुग्ने बितिकै खबर गरेस ." आमा बाले बिदाई गरे शंकरलाई . शंकरले पनि रीयालाई सम्झाई बुझाई गरेर लाग्यो आफ्नो गन्त्यब्य तिर !!! १ दिन २ दिन १ महिना, २ महिना हुँदा हुँदै शंकर गएको पनि ६ महिना बिती सकेको थियो ।
अब त दिन दिनै शंकर आउने दिन गन्दै बसेकी रीया पनि खुसीले रमाउदै थिइन् । शंकर विदेश गएर सबै लाई खबर गरेको थियो र पहिलो महिना नै उसले आफ्नो कमाइबाट बचेको २० हजार नेपाली रुपैयाँ पठाई दिएको थियो घर खर्चको लागी । सबैजना हर्सित थिए रीया पनि शंकरसंगको अबको संसार कल्पनाले पागल झै भएकी थिई । जीवनसाथी संगै नभए पनि भविष्यको उज्यालो संकेतले चित बुझाउँदै बसेको थिई अब त थोरै समय छ भेट हुनलाई शंकरले भनेको थियो रियालाई १ बर्षमा पनि बिदा मिल्छ रे! "पैसा भयो भने म १ बर्ष मा आउँछु" भन्थ्यो शंकर ।
तर दिन बित्यो समय बित्यो तर शंकर आउने कुराको टुंगो भएन, फोन पनि आउन छोड्यो, यता त साहुसंग लिएको ऋणले पनि तिर्ने समय नाघि सकेको थियो । सबैजना चिन्तित थिए रीयाको साथीहरुले रीयालाई बिहे अर्को ठाउमा गर नभनेका पनि होइनन तर रीयाले कसैको पनि कुरा सुनिनन । धेरैको मुखबाट कुरा सुनेको थिइन्, "परदेशीले उतै घरजम गरेर बस्छ रे!" तर उनको यो कुराप्रति ध्यान थिएन किनकी उ शंकरलाई धेरै माया गर्थी !
रात छिप्पिसकेको थियो चारै तिर चकमन्नता र सुनसान थियो आकाशमा ताराहरु टिलपिल टिलपिल गरिरहेका थिए । रीया बतिको सलेटो सानो पारि उज्यालो मधूर बनाएर सुत्ने तरखरमा लागिन... सिरानीबाट शंकरको फोटो निकाली छातीमा टाँसी कल्पन थालिन- "तपाई जहाँ भए पनि खुशी हुनु, जिन्दगीको अन्तिम साँस रहुञ्जेल तपाईको पर्खाइमा बस्छु, यहाँ सबै ठिकै छ तपाई आफ्नो ख्याल राख्नु.. मलाई थाहा छ परदेशमा कहिलेकाहिं त्यस्तै हुन्छ भनेको बेला केहि गर्न पाइन्न आफ्नो देशमा त भनेको बेलामा केहि गर्न पाईन्न.. अर्काको देशमा कहाँ पाईन्छ र म बुझ्छु तपाईको मर्म । मैले र आमाबा ले मन दुखाएका छैनौ फ्रि हुनु भयो भने हामीलाई एक कल गर्नु है !" फोटोलाई चुम्दै आफ्नो छातीमा राखिन धेरै समयको अन्तर्संवादसंगै भुसुक्कै निदाउन पुगी रीया ।
त्रिभुवन विमानस्थलमा मान्छेहरुको आवतजावतको घुँइचो थियो कोही जाने र कोही आउने क्रम त्यति नै थियो यात्रुको अन्तिम हेराइमा परबाट काठको बाकस धेरैजना मान्छेहरुले बोकेर ल्याउँदै थिए । सबै जना हेर्न आतुर हुन्छन कसको ? को ? किन ? र कहिले ? यस्तै प्रश्न गुञ्जिदै थिए र बाहिर निस्किएपछि बाकसमा शंकर नाम लेखिएको हुन्छ... शंकर~~~ चिच्याएर सपनामा रीया ब्यूँझिन्छे र हतार हतार गरेर पानी पिउँछे, "कस्तो सपना देखें आज" भन्दै छटपटाउन थाल्छे त्यति बेला बिहानको ४ बजीसकेको थियो । मनमा अनेक कुरा खेल्न थाल्यो, "विहानको सपना त साक्षात हुन्छ भन्छन कतै शंकरलाई त केहि भएन !" सपनाको निरासायूक्त दृश्यले दुःखि हुदै आँगन बढार कुढार गर्न तिर लाग्छे ।
कुकरमा विहानको भात पाकीरहेको हुन्छ... छ्यास छुस छ्यास छ्यास सिटि हुँदैथियो... फोनको घण्टि बज्छ, हेलो... साउदीबाट शंकर कै कम्पनीमा कार्यरत नेपाली साथी हुन्छ जुन पहिला शंकर विदेश जाँदा संगै १ महिना बसेका थिए शंकरको बारेमा जानकारी दिनथाल्छ, "पहिला काम राम्रो थियो पछि भेंडा बाख्रा चराउने गोठालेको काम दिएछ र ५० डिग्रीको तातो सुनसान बगरमा खान पनि नपाई बिमार भएर मरेको १० दिन पछि एउटा बंगालीले भेटेछ र उसैले हामीलाई जानकारी गरेर थाहा पायौं ।" यो आवाज सुन्ने बितिकै रीया बेहोस भएर ढल्छे बा आमाको पनि भक्कानो छुट्छ... गाउँलेहरु सबैजना भेला हुन्नछ त्यो रूवार्इ, चिच्याहट र विलौनाबिच कोही रीयालाई पानी छ्याप्छ्न कोही बूढा भएका बा आमालाई सम्हाल्छन फोनमा, "हेल्लो हेल्लो"को आवाज आइरहन्छ... केही समय पछि फोन काटिन्छ ।
लेखकः दीपेन्द्र खड्का
टाँडी - १ , किरात चोक , मोरंग
dipendrakhadka549@gmail.com
Liked by: