अभिमान र स्वाभिमान दुई दाजुभाइ थिए। दाजु मुर्ख, स्वार्थी र घमण्डी अनि भाइ विवेकशील थियो। दाजुको यही स्वभावका कारण मनमुटाव बढ्दै गयो। सम्पत्तिको नाममा आफुसँग भएको एक एक वटा बाकस र केही अन्य घरायसी सामान बण्डा गरेर राम्रो जिविका हुने ठाउँको खाेजीमा निस्किए। नदीको किनारै किनार हिँड्दै जाँदा एउटा हरियाली डाँडा भेटे। दाजु अभिमान त्यहीँ बस्याे । भाइ आफू बस्ने ठाउँकाे खाेजीमा अघि बढ्याे। धेरै पर पुगेपछि थाेरै बाेटविरुवा भएकाे पाखाे जमिन देख्यो र त्यहीँ बस्याे। उसले पाखामा भएका विभिन्न बाेटविरुवाहरु संरक्षण गर्दै अन्य फलफुल र जडिबुटीहरु पनि राेप्याे। उसले फलफुल र जडिबुटीहरुबाट राम्रै फाइदा लिएर क्रमश:धनी र सुखी जीवन जिउन सफल भयाे।
अभिमानले चाहिँ डाँडामा भएका सबै रुखहरु क्रमश: काट्दै र बेच्दै गयो र भाइ भन्दा धेरै पैसा कमायाे। आफ्नै घमण्डी स्वभावका कारणले उसले भाइलाई कहिल्यै सम्झिएन र खाेजी पनि गरेन। आफ्नो खेतबारी र डाँडाे उजाड भएकाेमा कुनै चिन्ता महशुस गरेन। एकदिन आफू विरामी हुँदा जडीबुटी संरक्षण नगरेकाले झन्डै मृत्युकाे मुखमा पुगेकाे थियो। भाग्यले बाँच्यो तर शरीर राेगी भैसकेको थियाे। एक दिन अविरल वर्षा भयाे। घरखेत पहिराे र नदीले बगायाे। साह्रै आपत परेपछि भाइ स्वाभिमानलाई सम्झियो अनि भाइ खाेज्न हिँड्यो। भाइलाई भेट्टाएर आफ्ना दुखहरु रुँदै सुनायो। भाइले दाजुलाई आफूले गरेकाे कर्म र साेचका कारण यस्ताे भएकाे हाे भन्दै सम्झाए पछि दाजुले ठूलो पश्चाताप गर्यो। अब, कहिल्यै यस्तो कर्म नगर्ने वाचा गर्दै छेउकाे एउटा हरियाली डाँडामा भाइकाे राम्राे कामकाे अनुशरण गर्दै जिविका चलाएर बस्यो। ऊ अभिमान बाट बुद्धिमान हुँदै गयो। क्रमश: धनी र सम्पन्न हुँदै स्वस्थ र सुखी जीवन जिउन सफल भयो।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: