ऊ आफ्नो साहित्य साधनामा एकदमै मन्त्रमुग्ध रूपमा दत्तचित्त भएर लागेको थियो । हर हमेसा केही न केही लेखिरहने सोचिरहने कल्पनाको उडानमा मग्न थियो ।
यता घर व्यवहार भद्रगोल हुँदै गएको थियो । श्रीमतीजी घरको काम धन्धाले भ्याइ नभ्याई थकित हुँदै दैनिक आर्थिक समस्याहरुले पिरोलिँदै गएकी थिइन ।
अति नै भएपछि एक दिन श्रीमतीजी झोक्किन -
"होइन तपाईँको के चाला हो ? ताइँ न तुही रातदिन एकोहोरो घोत्लिएको छ" ! "तपाईँको कथा , कविताले मुखमा माड कसरी लाग्छ ? " कसरी चुल्हो बल्छ र भात पाक्छ तपाईँको साहित्यले ? अब म सक्तिन यसरी रातदिन तपाईँको सेवा गरेर बस्न "
श्रीमतीका यथार्थवादी कडा शब्दहरूले उ झसङ्ग भयो । मन भित्र श्रीमतीजीका कुराहरू गम्न थाल्यो ।
हुन पनि हो रातदिन घोत्लियो पत्र पत्रीकामा कथा, कविता लेखेर पठायो पोस्ट गर्यो एक पैसा दिने होइनन् । उनीहरू कै पत्रीकाको सौन्दर्य बढाएर पाठकहरू जम्मा गरिदियो उनीहरूकै पत्रीकामा विज्ञानको ओइरो लाग्ने ।
आफूलाई भने आत्मसन्तुष्टि सिवाय केही छैन । आफ्नो स्वान्तः सुखायको लागि श्रीमतीजी लाई सधैँ किन बेचैन र दु:खी बनाउनु भन्दै आफूले कोरेका डायरीका पन्नाहरू पल्टाउँदै घोरिँदै सोच मग्न हुन थाल्यो ।
अनि भएभरका डायरीहरू बटुलेर सरासर भान्सामा गयो र सलाई कोरेर बाल्न थाल्यो । डायरीका पन्नाहरू हुर्हुर बल्न थाले र माथि बाट प्रेसर कुकरमा चामल हालेर बसाल्यो कुकरले एक दुई सिट्ठी जोडले बजायो ।
श्रीमतीजी दौडिएर भान्सामा आइन् त्यो दृश्य देखेर उनी अचम्मित भइन ।
ऊ पीडा मिश्रित स्वरमा स्पष्टीकरण दिँदै प्रमाणित गरेर देखाउँदै थियो हेर त मैयाँ ! कसरी भात पाक्दो रहेछ साहित्यले बुझिस् ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: