भिष्म द्वादशी संस्कृत श्लोकः
भीष्मो द्वादश्यां प्रयाति लोकान्
धर्मस्य स्तापनकर्तुरेव।
तस्मै नमः सत्यव्रताय भक्त्या
गङ्गासुतायाभिवन्दनं मे॥
अर्थ:
"भीष्म पितामहले द्वादशी तिथिमा परमधाम प्राप्त गरे। धर्मको स्थापनाका लागि समर्पित, सत्यप्रतिज्ञ, र गङ्गापुत्र भएका तिनलाई म भक्तिपूर्वक नमन गर्दछु।"
दृढ प्रतीज्ञाका प्रतिक भीष्म
भीष्म महाभारतकालीन प्रसिद्ध नायक हुन् । बाल–ब्रह्मचारी प्रतिज्ञालाई दृढतापूर्वक पालना गरेका भीष्म महाभारतकालदेखि आजसम्म पनि समाजमा उनको नाम आकर्षक तवरमा लिइन्छ । उनले आफ्नी विमाता अर्थात् कान्छी आमा सत्यवतीका सन्तानलाई राज्यको उत्तराधिकारी बनाउने प्रतिज्ञासहित बाल–ब्रह्मचरी रहे ।
अर्थात्, उनले आजीवन विवाह नगर्ने प्रतिज्ञा जाहेर गरेका थिए । उनी त्यही प्रतिज्ञामा दृढ रहे । कुनै काम, इच्छा र प्रतिज्ञा पूरा गर्नुलाई भीष्म–प्रतीज्ञाको रुपमा दिइन्छ । आज पनि कोही व्यक्ति कठोर प्रतिज्ञा गर्छन् भने तिनलाई भीष्म–प्रतिज्ञाको संज्ञा दिइन्छ ।
माघ शुक्ल द्वादशीलाई ‘भीष्म द्वादशी’ भनिन्छ । यो दिनलाई महाभारतकाल र उनै दृढ–प्रतिज्ञ भीष्मसँग जोडिन्छ । उत्तरायण लागेपछि इच्छामरण लिएका भीष्म पितामहको मृत्यु संस्कार पाण्डवहरुले यो दिन गरेका हुन् ।
भीष्म अष्टमीबाट शुरु भएको भीष्म पञ्चक व्रत आजको दिन समापन हुन्छ । एकदिन अगाडि भीमा एकादशीको व्रत लिएका व्रतालुहरुले विधिपूर्वक भगवान विष्णुको आराधना गरेर व्रत तोड्छन् । भीष्म द्वादशीको दिन विष्णु शहस्त्रानाम स्तोत्र पाठ गर्ने र विष्णुको कीर्तन गर्ने चलन छ ।
चन्द्रवंशी राजा शन्तनु र गंगाका पुत्र ‘देवव्रत’ पछि ‘भीष्म पितामह’ भएका हुन् । भीष्मको प्रतिज्ञा, ज्ञान, लक्ष्य अनि जीवनले आजसम्म पनि मानव समुदायलाई नयाँ आयाम र ज्ञान दिएको छ । यो पावन दिनको सबैमा शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: