विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते
विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।
हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ ।
मङ्गल चौथी किन भनिन्छ ?
आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन पनि छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् ।
भगवान् गणेश शुभ फल प्रदान गर्ने देवताको रूपमा चिनिनुहुन्छ । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भएर व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यदि तपाईंहरुलाई पनि कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ । विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस् ।
मङ्गल चौथी व्रत कथा
उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पूज्य छन् । अतः माता दुर्गा भवानी र विघ्न हर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्न हर्ता गणेशजी भगवानलाई खुसी पार्न सके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्ति हुने कुरा गणेश पुराणमा वर्णन गरिएको छ ।
मङ्गल चौथी पूजा विधि
जसले यस दिन ऋद्धि सिद्धिसहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आराधना गर्छ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभ फल र मानसिक शान्ति पाउने र सबै प्रकारका दुःख कष्ट र बिघ्न बाधा आदि सबै हराउने विश्वास छ । त्यसैले आजको दिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भएर पूजन सामग्री तयार गर्नु पर्छ । पूजन सामग्री तयार पार्दा धान, चामल, जौ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, रातो अक्षता, सौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान, धूप, बत्ती, कपुर, रातो फूल, माला, लड्डु, दुबो, आदि सरजम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसेर दीप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या दुबो र द्रव्यसहित लिएर सङ्कल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धुबान्धवहरुको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले सङ्कल्प लिनु पर्दछ ।
सङ्कल्प पश्चात् अर्घ स्थापना गरेर विघ्न हर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गणपतये नमः भन्दै पूजा गरिसके पछि धूप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरेर कलशभित्र पञ्चरत्न, पञ्च पल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथि नरिवल, सुपारी वा सिङ्गो फल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनः बिचमा गणेशजीको प्रतिमा वा मूर्ति राख्ने र गणेशजीको विशेष पूजनका लागि हातमा रातो फूल रातो अक्षता लिएर ध्यान गर्ने । सकिन्छ भने यो मन्त्र पढ्दै ध्यान गर्ने:
वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ॥
यो मन्त्रसहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नमः भन्दै पाद्य, अर्घ, आचमन, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराएर गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दूर, अक्षता, वस्त्र आदि चढाउनु पर्दछ । तत्पश्चात् जौ, तिल, फूल, माला, दुबो, बेलपत्रसहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमः भन्दै अङ्ग पूजन गरी धूप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य दक्षिणा अर्पण गरी रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण भक्तहरुले गणेशजीको नीराजन आरती, घण्टसहित श्रद्धा एवं भक्तिले गर्नु पर्दछ । पुनः पुष्पाञ्जली गरेर आरतीलाई सितल गरी सबैजनाले आरती लिनु पर्छ र आफ्नो मनोकामना पूर्ण होस् भनेर विघ्न हर्ता गणेशजीलाई साष्टाङ्ग प्रणाम गरी आर्सीवाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्न भई भक्तहरूको मनोकामना अवश्य नै पूरा गर्नुहुनेछ ।
विश्व शौचालय दिवस
के ट्वाइलेट फोहोरी ठाउँ नै हो त ?
ट्वाइलेट, चर्पी, शौचालय, रेस्टरुम लगायत थुप्रै नाम छन् । हरेक मानवलाई अपरिहार्य कुरा हो तथापि हामीकहाँ भनेँ अत्यन्त फोहोर या दुरवस्था जनाउने ठाउँ जनाउनु पर्दा ट्वाइलेट जस्तो छ्या भन्ने चलन छ ।
बच्चाले राम्रो नपढेमा ट्वाइलेट मा थुनिदिन्छु भन्ने धम्कीहरू त हामी मध्य धेरैले भोगेका अनि खपेका छौँ । जीवनका लागि अपरिहार्य अनि सरसफाइ को पर्याय शौचालयलाई किन यति सारो घृणा अनि वितृष्णाका रूपमा हेरिएको हो भन्ने तर्कना कहिलेकाहीँ लाग्ने गर्दछ ।
दुखद कुरा त के भनेँ नेपालका अधिकांश सहर या गाँउहरुमा व्यवस्थित शौचालयको सुविधा छैन । बाहिर निस्कन पर्दा एकफेर घरको शौचालयमा शौच अनि मूत्र खाली गरेर निस्कने हामी मध्य धेरैको बानी छ , यसो गर्नाले बाटोमा अफ्ठेरो पर्दैन हैन र ?
शौचालयहरू दुर्गन्धित छन् , तर किन ?
अस्पताल देखि सिनेमा घर सम्मा अधिकांश शौचालयहरू दुर्गन्ध हुने गरेको हामीले पाएका छौँ भनेँ अहिले आएर शपीगं मल लगायतका ठाँउहरुमा भनेँ सुस्तरी शौचालय सभ्यता अनि सरसफाइ बढोत्तरी भएकै हो । विश्वले यसै शौचालय अनि यसको महत्त्वलाई सबैसामु उजागर गर्दे हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदछ।सन् २०३० सम्मको दीर्घकालीन विकास लक्ष्यमा संसारका हरेक बासिन्दालाई सर सफाइका श्रोत र सुविधा का साथ फालिने पानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ ।
वर्ष २०२४ को नारा यस वर्षको विश्व शौचालय दिवसको नारा चाहिँ " Toilet, A Place for Peace"रहेको छ ।
आउनुहोस् यसै शौचालयको परिवृत्त अनि बिकासक्रमका कुरा गरौं ।
"सानैदेखि लगाऊँ बानी, चर्पी जाउन् हाम्रा नानी"
यो एउटा छन्दगत थेगो हो जुन नेपालमा झाडापखाला, हैजा अनि अन्य मलमूत्रबाट फैलन सक्ने रोगहरू अनि सङ्क्रमणहरू रोक्नका लागि यस्ता उदाहरणीय कुराहरू प्रयोगमा ल्याइएको थियो । विकासको इतिहास त्यति पुरानो छैन तर विकासका धेरै मापदण्डहरू परिवर्तन भएको देख्ने पुस्ताहरू अझै जीवितै छन् ।
मान्छेहरूले सभ्यताका क्रमसँगै आफ्ना रहनसहन अनि सर सफाइका मापदण्ड दुरुस्त राख्न धेरै परिवर्तन र विकास गरेका छन् । ढुङ्गे युगबाट आजसम्म आई पुग्दा हाम्रो दिनचर्यासँग विभिन्न आनिवानी, चालचलन र अभ्यासहरू थपिँदै आएका छन् । शौचालय पनि तिनीमध्येको एक हो । सुरुसुरुमा खोलाका किनार, खेतबारी या पोखरीका डिलहरूमा शौच गर्ने मान्छेहरूले बिस्तारै एउटा छुट्टै सानो कोठा शौचालयको रूपमा प्रयोग गर्न थालेका हुन् । विश्व प्रसिद्ध यात्री मार्कोपोलोले आफ्ना साथी रस्टीसेलोलाई लेखेको आत्मवृत्तान्त या यात्रा संस्मरणमा त्यस बखतको चिनिया सभ्यतामा चर्पी र कागजी पैसाको प्रयोगका बारेमा व्याख्या गरेको पाइन्छ । आज हामीहरू विभिन्न प्रकारका शौचालयहरू प्रयोग गर्दछौ, कुनै कुर्सीजस्तो बसेर शौच गर्न मिल्ने, कुनै पुरानै खालको पैताला टेकेर गरिने । गाउँघरमा सेप्टी ट्याङ्क या रिँग हालेर बनाइएको शौचालयहरूको प्रचलन अझै छ । शौचालयलाई फोहोर ठाउँका रूपमा हेरिने गरिए पनि सर सफाइमा वर्तमान सभ्यता र विकाशमा भएका प्रयोगहरूका कारण अब फोहर शौचालय हैन आफू बस्ने कोठाभित्रै सङ्क्रमण रहित सफा र आकर्षक शौचालय हामी घर घरमा हेर्न सक्छौँ । हरेक बिहान सामान्यतया हामी सबै शौचालय जान्छौँ । दिनभरिमा एउटा मानव सबैभन्दा धेरै जाने एक मात्र ठाउँ नै शौचालय हो ।
शौचालयको प्रयोगपछि गर्नुपर्ने पहिलो काम भनेको साबुन पानीले हात धुने र साबुन नभएमा खरानी पानीले धुनुपर्ने कुराहरू पनि विभिन्न सञ्चार श्रोतहरूमार्फत जस्तै: टिभी, रेडियोबाट प्रचार प्रसार गर्ने गरिएको छ । अझै पनि शौचालय प्रयोग गरिसकेपछि पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देशहरू सार्वजनिक शौचालयहरूमा लेखिएको पाइन्छ, यस अर्थमा शौचालय प्रयोग पनि एउटा सभ्यता हो जुन हामीले अवलम्बन गर्न जरुरी छ ।
शौचालय प्रयोगको विश्वव्यापी तथ्याकं
अझै पनि संसारभरि लगभग अढाई करोड मान्छेहरूले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिब १०जना मध्य एक जना संसारको मान्छेले अझै पनि शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१५ को सर्वेक्षणले देखाएको छ ।
नेपालमा बिस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो सहरीकरणको नमुना जिल्लाहरूमा नगर विस्तारका सोचहरूमा सार्वजनिक शौचालय किन प्राथमिकतामा पर्दैन, भएको किन उचित सरसफाइ तथा व्यवस्थापन छैन ?
नेपालमा शौचालयका स्वरूपहरू
सुरुसुरुमा बनाइएको शौचालयमा भने धान या काठ राखेर शौच भने बाहिर गर्न जाने चलनलार्इ अब नयाँपुस्ताले चिर्दै गएको त छ तथापि सार्वजनिक शौचालयको अवस्था दर्दनाक छ । शौचालयको प्रयोग कालागि शौचालय नभएको घरमा छोरी नदिने देखि सामाजिक बहिस्कारसम्म गर्ने ह्वीम सृजना गरेर विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले व्यापक भूमिका खेलेका छन् । तर नेपालका विकसित सहरहरूमै पनि सहज सार्वजनिक शौचालयको व्यवस्था छैन जसका कारण धेरै अप्ठेरो पर्ने गर्दछ । कतिपय ठाउँमा त सार्वजनिक शौचालयको सुल्क यति महँगो छ कि शायद संसारभरमै सबै भन्दा धेरै पैसा तिरेर मलमूत्र त्याग गर्ने हामी नेपाली नै हौँ कि भन्ने भान हुन्छ । घरघरमा शौचालयको सही उपयोगका कुराहरू जानकारी दिन जरुरी छ ।
विदेशीहरूले ट्वाइलेट पेपरले शौच सफा गर्दछन् अनि फ्लश गरेर बगाउँदछन् भने हामी अधिकांश नेपालीहरू पानीले धुने र बगाउने शौचालय प्रयोग गर्दछौँ, दुवै तरिका सही हो । प्रयोग गर्ने आआफ्नै तरिकाहरू हुन्छन् तर सरसफाइ महत्त्वपूर्ण कुरा हो ।
मुख्य कुरा आउने पुस्ताहरूलाई शौचालय फोहोर ठाउँ हो भन्ने भावना विकास हुन नदिऊँ, शौचालय सफा गरेर कोही सानो हुँदैन र यसलाई सफा गरेर सङ्क्रमणरहित बनाउनुको विकल्प छैन भन्ने जानकारी र सन्देशहरू हरेक वर्ग, लिङ्ग, जात जाति, समुदायसम्म पुर्याउनु जरुरी छ । याद राखौँ सफा शौचालयको सही प्रयोग पनि सभ्य समाजको एउटा अभिन्न अङ्ग हो ।
-हाम्रो पात्रोका लागी सुयोग ढकाल
Liked by: