पाहाँचःह्रे | SEE २०८१ - ऐच्छिक द्वितिय | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष लेखहरू

पाहाँचःह्रे | SEE २०८१ - ऐच्छिक द्वितिय




पाहाँचःह्रे विशेष अडियो सामग्री

अतिथि चतुर्दशी
"पाहाँ" भन्नाले अतिथि भनेर बुझिन्छ भने "चःह्रे" भनेको चतुर्दशीलाई भनिने गरिन्छ। आफू मात्र भोज खाने या रमाइलो गर्ने नभई सबै साथीभाइ र मित्र जनलाई बोलाएर भोज गर्ने र रमाइलो गर्ने चाड भएकाले होला यस चर्तुदशीलाई पाहुना आउने भनेर पाहाँ भनिएको हुनपर्दछ । यस दिनलाई "पिशाच चतुर्दशी" पनि भनिन्छ। चैत्र कृष्ण पक्षको चर्तुदशीलाई पाहाँचःह्रे भनेर रमाईलोका साथ मनाउने परम्परागत चलन छ ।

वर्षको अन्तिम चतुर्दशी
यस वर्षको यो अन्तिम चतुर्दशी पनि हो । सकिँदो जाडो, सुरुवाती गर्मी अनि सुख्खापनाको मौसममा हुन सक्ने रोग व्याध र विपतहरुको धार्मिक समापन र आस्थागत गन्तव्यका रूपमा यस चर्तुदशीलाई लिइन्छ । पहिले पहिले त नेवा समुदायमा आजका दिन मकलमा आगो बालेर उक्त धुवाँ घरमा लगाउने र त्यसको प्रभावले भूतप्रेत लगायतका कुराहरू र विपतहरु नलाग्ने, रोग व्याध निर्मूल हुने विश्वास गरिन्थ्यो ।

हिन्दु र बौद्ध दुवै मार्गका लागि यस चर्तुदशीको महत्त्व

यस दिनलाई हिन्दु र बौद्ध दुवै मार्गका नेवा समुदायले अत्यन्त श्रद्धाका साथ मान्ने गर्दछन् । आजका दिन गणेश, भैरव, भगवती र अष्ट मातृकाको विशेष पूजा गर्ने र खट निकाल्ने चलन पनि छ । विभिन्न टोलमा रहेका विभिन्न देवताहरूलाई कुखुरा, हाँस, बोका, राँगा बली दिएर चाड मनाउने चलन छ । नक्साल भगवती, तख्ति अजिमा, लुँचुभुलू अजिमा, न्ह्याय्कंतला अजिमा, कंगः अजिमा, न्यतमरु अजिमा, वटु र टेत्रबहाःका लुँमधि अजिमा, चार ढुङ्गेका नरसिंहको खट जात्रा गरिन्छ । यसरी विभिन्न टोलमा विभिन्न देवताहरूको जात्रा गर्दा बाजा बजाउँदै, गीत गाउँदै देवताका खट बोकेर घुमाउने गरिन्छ ।

आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरू सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्नको लागि टोल टोलबाट लिएर जाने गरिन्छ। इन्द्रायणी आफ्नो अरू अजिमा दिदीबहिनी भन्दा निक्कै गरिब थिइन। एक दिन दिदी अजिमाले सबैलाई भोज बोलाउँदा इन्द्रायणी अर्थात् लुति अजिमा सम्पन्न नभएकाले उनलाई हेला गरेर खाना फ्याँकेर दिन्छिन्। त्यसरी फ्याकेको खानाले लुति अजिमाको बच्चाको अनुहारमा लाग्न गई रगत निस्किन्छ। अपमानित भएर त्यहाँबाट सरक्क निस्किएर हिँडेकी इन्द्रायणीले बाटोबाट एउटा फर्सी किनेर लान्छिन्, तर त्यो फर्सी काट्दा त्यहाँबाट एउटा सर्प निस्किन्छ। इन्द्रायणीले अब त्यो फर्सी पनि खान नहुने भनेर फ्याँक्न जाँदा एक्कासि त्यो फर्सी सुनमा परिणत हुन्छ। त्यसपछि, अर्को वर्ष फेरी दिदी अजिमाले भोज बोलाउँदा, इन्द्रायणी सम्पन्न भएर जान्छिन्। यस पटक उनको छुट्टै सत्कार गरिन्छ। तर, लुति अजिमाले यो सत्कार आफ्नो धनको लागि मात्र भएको भनेर आफू त्यहाँबाट बच्चाहरू सहित निस्किन्छिन्। त्यसैले आजको दिन इन्द्रायणीको भने खट निकालेर पूजा गरिँदैन। इन्द्रायणीको पूजा आजभन्दा लगभग ४ महिना अघि नै बाला चतुर्दशीको दिन गर्ने गरिन्छ।

लुकुमहाद्य

आजको दिन बेलुका लुकेको महादेव (लुकुमहाद्य:)को विशेष पुजा आराधना गरी मनाइन्छ। भूत, प्रेत या पिशाचलाई महादेवका गणहरू मानिन्छ। आज भन्दा आठ दिन अगाडी अर्थात् चैत्र कृष्ण अष्टमीको दिन सानो शिव लिङ्गलाई एउटा खटमा राखी बाजा बजाएर काठमाडौँको बुद्ध बिहारको फोहोर फ्याँक्ने ठाउँमा सफा गरेर राख्ने गरिन्छ। फोहोर ठाउँमा जे भेट्यो त्यही खाएर बसेको यो महादेवको पिशाच रूप हो। आजको दिन यी महादेवलाई त्यहाँबाट निकालेर सफा गरी पंहेलो रायो, लसुनको बोट,जाड र भोजका अन्य परिकारहरू चढाएर पूजा गरिन्छ। यो चाडमा यही पिशाच रुपी महादेवको पूजा आराधना गरिने भएकाले नै यसलाई पिशाच चतुर्दशी भनिएको हो।

आजको दिन नेवार समुदायमा मुकुन्डो लगाएर नाच देखाउने प्रचलन पनि छ। आजको दिन नेवार समुदायमा एउटा भव्य भोज आयोजना गरी आफ्नो चेलीबेटी, आफन्त र इष्टमित्रहरूलाई घरमा बोलाउने चलन छ। यसै कारण पनि आजको दिनले पारिवारिक सम्बन्ध बिचको माया, प्रेम, सद्भावना र एकतालाई थप मजबुत बनाउने मान्यता छ।

यस चर्तुदशीको अर्को महत्त्व भनेको यसको भोलिपल्ट हुने घोडे जात्रा हो । गुरुमापालाई टुँडिखेलमा गाडी राखेकाले घोडाको खुट्टाले कुल्चाउनुपर्छ भनी घोडा दौडाउने गरिएको हो भनिन्छ । नेपाल सम्बत ७८७ तिर काठमाडौँका राजा प्रताप मल्ल र पाटनका राजा श्री निवास मल्लबिच मनमुटाब भएकोले पाटनका जनता काठमाडौँमा घोडे जात्रा हेर्न नजाओस् भनी पाटनमै भोलाख्यः टोलमा एउटा घोडा दौडाउने चलन गरिएको हो भनिन्छ ।

यी विषयमा भोलि घोडे जात्रा दिन विशेषमा कुरा गर्नेछु । आजका लागि सबैमा पाहाँचःह्रेको शुभ कामना।

एसइई परीक्षा २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको हो। परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने र देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको छ ।

SEE २०८१ - ऐच्छिक द्वितिय



चैत्र १५ गते ऐच्छिक द्वितिय विषयका परीक्षाहरु हुँदैछन् ।
प्राविधिकतर्फ दुग्ध उत्पादन प्रविधि / खाद्य बाली उत्पादन / कम्प्युटर हार्डवेयर / इलेक्ट्रोनिक्स मर्मत र मर्मतसम्भार / राजमार्ग इन्जिनियरिङ / आधारभूत इलेक्ट्रोनिक्स / नेपाली लोक संगीत/ जलचर र मत्स्यपालन / विद्युत व्यवस्थापन र उपकरण / कम्प्युटर नेटवर्क / इन्जिनियरिङ सर्वेक्षण (प्राविधिक) / दोस्रो ऐच्छिक पत्र (वेद विद्याश्रम) का सबै विषयहरू का परीक्षाहरु हुदैछन् ।

यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.