पूर्णिमा व्रत
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समय वाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।
दत्तात्रेय जयन्ती
को हुन त भगवान् दत्तात्रेय ?
भगवान् विष्णुको अवतार दत्तात्रेय भगवानको आज जन्म जयन्ती। तीन शिर र छ हातहरू भएका दत्तात्रेय भगवानलाई विष्णु भगवानको अंशको रूपमा मानिन्छ। आज उनको जन्म जयन्तीको दिन दत्तात्रेय भगवानको बाल रूपको पूजा अर्चना गरिन्छ।
भगवान् दत्तात्रेय को योगदान
भगवान् दत्तात्रेयबाट वेद र तन्त्र मार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्मित भएको थियो। सत्य युगमा गुरु र शिष्यमाझ हुने उपदेश आदान प्रदानको परम्परा क्षीण हुँदै गएको र श्रुतिहरू लोप हुन लागेको अवस्थामा विलक्षण स्मरण शक्तिका माध्यमबाट यस परम्परालाई पुनर्स्थापना गर्न एवं वैदिक धर्मलाई पुनर्जीवित तुल्याउन भगवान् विष्णुले दत्तात्रेयका रूपमा अवतार लिनुभएको धार्मिक मान्यता रहिआएको छ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: