विश्व स्वतन्त्रता दिवस
पृष्ठभूमि
हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन संयुक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गर्दछ । अमेरिकाका पूर्व राष्ट्रपती जर्ज डब्ल्यु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वी र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वी युरोपमा कम्युनिस्ट शासनको औपचारिक अन्त्य भएको उपलक्ष्यमा सोही दिन अर्थात् नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । सन् २००१ मा जर्ज डब्ल्यु वुशले विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् ।
विश्वमा पूजिँवादको अत्यन्त जोडदार प्रवर्तक राष्ट्र अमेरिकामा आजको दिन युवा विद्यार्थीहरू अनि रिपब्लिकन पार्टीका युवाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाउने गर्दछन् ।
शित यूद्धको अन्त्य
विश्वमा शित यूद्धको अन्त्य गर्दै सोभियत युनियनलाई धराशायी पार्न ठुलो भूमिका निर्वाह गर्ने अमेरिकी पूर्व राष्ट्रप्रमुख रोनाल्ड रेगनको पनि आजको दिन अमेरिकामा चर्चा हुने गर्दछ ।
अमेरिकीहरूले विशेष जोड दिएर आजको दिनलाई विश्व स्वतन्त्रता दिवसका रूपमा मनाए पनि विश्वका अन्य राष्ट्रहरू विशेषतः यूरोपी राष्ट्रहरू भने आजको यस दिनलाई विश्व स्वतन्त्रता दिवसका रूपमा मनाउन उदासीन देखिन्छन् । शितयूद्धकाल देखिनै संसारमा पूजिँवादी, कम्युनिस्ट र केही समाजवादी देशहरूमा वैचारिक, कार्यगत अनि प्रणालीगत विवाद रहिआएको छ ।
न्यु ग्लोवलाइजेसन अनि न्यु न्याशिनोलिजमको विचार अनुसार सम्पूर्ण विश्वका बासिन्दालाई एउटै पहिचान अनि विश्वबन्धुत्वको दर्शन भित्र फराकिलो दायरामा राखिएको छ ।
चाहे हामी कम्युनिस्ट विचारधाराका हौँ या पूजिँवादी विचारधाराका हौँ या अन्य कुनै विचारधाराका हौँ तर स्वतन्त्रताको प्रत्याभूति अनि स्वतन्त्र जीवनयापनको महत्त्व मानव समुदायमा अति नै महत्त्वपूर्ण छ ।
नेपालमा स्वतन्त्रता
नेपालमा पनि क्रमैसँग विसं २००७, २०४६ अनि २०६३ गर्दै स्वतन्त्रताका नयाँ नयाँ आयामहरू थपिँदै गएको छ । स्वतन्त्रताको परिधिभित्र सहज जीवनयापन गर्न पाउने सहजता पनि पर्दछ । बाटोको अत्यधिक सवारी जाम देखि ग्याँस अनि तेलको लाइन, मूल्य वृद्धि, भ्रष्टाचार अनि कानुनी राज्यको कमी नेपाली समाजको स्वतन्त्रताका समस्याहरू हुन यसलाई हामी कुनै न कुनै रूपमा हरेक दिन हामी सबैले भोगी आएका छौँ । आशा छ नेपाली स्वतन्त्रताको परिभाषामा नेपालीहरूको सहज र पारदर्शी जीवनयापन पनि छिट्टै पर्नेछ । स्वतन्त्रताको शुभकामना ।
गोरखकाली पूजा
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।
गोपाष्टमी
गौमाताको सुरक्षासँग सम्बन्ध राख्ने अष्टमी
कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीका नामले पनि चिनिन्छ । गौमाताको सुरक्षासँग सम्बन्ध राख्ने भएकाले यो तिथीलाई गोपाष्टमी पनि भनिएको हो ।
गौमाता वा गाईको माया र ख्याल, रक्षा र सुरक्षासँग जोडिएकाले ग्वाला, गोपाल अनि गोविन्दजस्ता नामहरु बनेको विश्वास गरिन्छ । भगवान श्रीकृष्णको अति प्रिय नाममध्ये एउटा हो, गोविन्द । यही नामहरुको परिप्रेक्ष्यसँग गोपाष्टमीको सन्दर्भ जोडिएको हुन्छ ।
धार्मिक विश्वासअनुसार कार्तिक शुक्ल सप्तमी तिथीमा गौमाता, ग्वाला र गोपिनीहरुको रक्षार्थ भगवान श्रीकृष्णले गोवर्धन पर्वतको धारणा गर्नुभएको र एउटा औंलाले गोवर्धन पर्वत उठाएर सबैलाई श्रीकृष्णले उक्त पर्वतमुनि शरण दिनुभएको थियो ।
त्यसको भोलिपल्ट अर्थात् आजको अष्टमीको दिनमा स्वर्गबाट इन्द्र भगवान स्वयं श्रीकृष्णलाई भेट्न झर्नुभएको विश्वास गरिन्छ । त्यति बेला भगवान इन्द्रले कामधेनुले श्रीकृष्णको अभिषेक गरेको प्रसंग धार्मिक ग्रन्थहरुमा छ । श्रीकृष्णले गाईहरुको रक्षाका लागि पर्वत नै उठाएकाले पनि उक्त दिनबाट श्रीकृष्ण भगवानको नाम गोविन्द रहन गएको विश्वास पनि गरिन्छ ।
द्वापरयुगको त्यस दिनबाट नै गोपाष्टमी मनाउन थालिएको हो । आज पनि भगवान श्रीकृष्णका अनुयायीहरुले यसलाई विशेष पर्वका रुपमा मनाइरहेका हुन्छन् ।
आजको दिन गौमाताहरुको अभिनन्दन गर्ने र गौमाताको सेवा गर्ने चलन रहेको छ । आजको दिन गौशाला र गौमाताहरुलाई दिएको दानले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास गरिन्छ ।
गोपाष्टमी तिथीको सबैलाई शुभकामना ।
-हाम्रो पात्रोका लागी सुयोग ढकाल
Liked by: