"ध्यानेनात्मनि पश्यन्ति केचित् आत्मानमात्मना।
अन्ये साङ्ख्येन योगेन कर्मयोगेन चापरे।"
(भगवद्गीता 13.25)
अर्थ:
ध्यानमार्फत् केही व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन्। अन्यले ज्ञानमार्ग, योगमार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन्।
यस श्लोकले ध्यान र आन्तरिक शान्तिको मार्गको महत्वलाई स्पष्ट पार्छ। ध्यान आत्मचिन्तनको शक्तिशाली माध्यम हो।
ध्यान दिवसको पृष्ठभूमि
२१ डिसेम्बर सन् २०२४ मा विश्वभर नै प्रथम ध्यान दिवस मनाइँदै छ। यस वर्ष २०२४को डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।
सो अवसरमा २० डिसेम्बरका दिन भारतीय अध्यात्म गुरु रवि शंकरले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा ध्यान दिवसको नेतृत्व गर्दैछन्। उक्त ध्यान दिवसमा रवि शंकरले तनाव व्यवस्थापन र द्वन्द्व समाधानका लागि ध्यान मुख्य खम्बाका रूपमा प्रस्तुत गर्नेछन्। कार्यक्रममा अन्तर्राष्ट्रिय व्यक्तित्वहरू, संयुक्त राष्ट्रसंघका नेतृत्वहरू, कूतनीतिक, अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन्।
महत्व:
विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्देश्य राख्दछ। यो दिन विशेषगरी तनाव व्यवस्थापन, आत्मचिन्तन, र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान कार्यक्रम, सेमिनार, र कार्यशालाहरू आयोजना गरिन्छ।
कसरी मनाउने?
-ध्यान अभ्यास: सामूहिक ध्यानमा सहभागी हुनुहोस्।
-कार्यशाला: ध्यान र मानसिक शान्तिका विषयमा स्थानीय कार्यक्रमहरूमा सहभागी बनौँ।
--साझा गरौँ: ध्यानको अनुभव र प्रभावबारे आफ्नो सामाजिक मिडियामा लेखौँ।
शिक्षा प्रदान गरौँ: बच्चादेखि वृद्धसम्म सबैलाई ध्यानको फाइदाबारे जानकारी दिऔँ।
ध्यान गरौँ, शान्त बनौँ, र समाजलाई सकारात्मकता प्रदान गरौँ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: