माथिमाथि आकाशमा उड्ने विमानहरु, आकाशमा उडिरहेका विमानहरुले बोकेका यात्रुहरु र अरु धेरै सन्दर्भहरु । हामीले कहिले गाउँघरमा यी विमानहरुलाई चिलगाडी भनेर सम्बोधन गरेका छौँ त कहिले एयरप्लेन वा हवाइजहाज । जे भने पनि एक ठाउँबाट अर्को ठाउँमा वा विश्वको एउटा कुनाबाट अर्को कुनामा जान सम्पूर्ण मानव जातिलाई यात्राको सबैभन्दा सहज माध्यम बनाएको छ, विमानले ।
आज विश्वभर यही विमान र यसको सुरक्षा, यसले विश्वको सामाजिक तथा आर्थिक विकासमा पारेको प्रभावलाई सम्झिएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाउने गरिन्छ ।
सबैभन्दा पहिले यो दिवस मनाउन थालिएको हो, सन् १९९४ मा । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आइकाओ)ले ७ डिसेम्बरलाई अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस मनाउन थालेको हो । उड्डयनको प्राथमिकता र अन्तर्राष्ट्रिय उड्डयनका कारण भएको सामाजिक तथा आर्थिक विकासलाई सम्झिन र दर्शाउनका लागि आजको दिन विश्वभर दिवसका रुपमा मनाउन थालिएको हो । आइकाओको यही मागलाई सन् १९९६ मा संयुक्त राष्ट्रसंघको महासभाले पनि पारित गरेको थियो । राष्ट्रसंघको महासभाले पारित गरेपछि ७ डिसेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मनाउन थालिएको हो ।
यो वर्ष यो दिवस मनाउँदाको मूल नारा ‘कुनै देश पछाडि नपरुन् भनेर सँगसँगै काम गरौँ’ भन्ने रहेको छ । अर्थात् विश्वभर छरिएर रहेका साना ठूला देशहरुमा सबैको आकाशसँगको सम्बन्ध बनाउन सकियोस्, कनेक्टिभिटी सबैका लागि होस् भन्ने हो ।
नेपालमा पनि उड्डयन क्षेत्रको नियमन तथा विकासका लागि सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरणको स्थापना गरिएको छ । उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था, अन्तर्राष्ट्रिय मापदण्डहरु नेपालमा प्रयोग गर्नु, पछिल्लो विकास र प्रविधिलाई पनि नेपालमा प्रयोग गर्नु र यो क्षेत्रको नियमन गर्नु नै नेपालको नागरिक उड्डयन प्राधिकरणको मुख्य उद्देश्य हो ।
नेपालमा पनि पछिल्लो समय दुर्गम जिल्लाहरुमा अब नियमति उडान हुन थालेका छन्, यो क्षेत्रमा पछिल्ला वर्षमा निकै विकास भएको देख्न पाइन्छ । हुन पनि उड्डयनको क्षेत्रमा विकास नहुने हो भने हामीलाई विश्वको समयसँगै अगाडि बढ्न निकै कठिन हुन्छ । विश्वमा विमानको आविष्कार नभएको भए सात समुद्रपारि गएर आफ्ना चाहना र इच्छा, मनोकामना र सपना पूरा गर्न कसले पो सक्थ्यो होला र ?
एकातिर यति धेरै फाइदाहरु नागरिक उड्डयनको विकासका कारण भएका छन् भने हाम्रो समुदाय विमान दुर्घटनाहरुको पनि शिकार बनिरहेको छ । विमान दुर्घटनाहरु अझ बढी घातक किन लाग्छन् भने विमान दुर्घटनापछि कोही पनि यात्रु जीवित रहने सम्भावना विरलै हुन्छ । नेपालमा पनि भएका केही दुर्घटनाहरुमा हामीले समाजका लागि ठूलो योगदान गरिरहेका हर्क गुरुङ, रबीन्द्र अधिकारीलगायतका व्यक्तिहरु गुमाएका छौँ ।
आजको दिन नागरिक उड्डयनको क्षेत्रमा अझ विकासले फड्को मारोस् र हाम्रा आकाशहरु थप सुरक्षित होउन् भन्ने कामनासहित हाम्रो पात्रो परिवारको तर्फबाट तपाईंहरु सबैलाई शुभकामना ।