मानिस एउटा सामाजिक प्राणी हो, उसका क्रियाकलाप, जन्म मरण, आँसु, हाँसो अनि ऐश्वर्य लगायत कुनै पनि कुराको समाज बाहिर कुनै महत्त्व छैन । समाज मानवको आधारशिला हो, र संभवत मानव जगतको पहिलो र आधारभूत सामाजिक आविष्कार नै समाज हो ।
विभिन्न समाज शास्त्री अनि ईतिहासविज्ञहरु ले समाजलाई आआफ्नै तवरले व्याख्या गरेका छन्, प्रणालीगत अनि सरल यो समाजमा मानवहरूका पुस्तौ पुस्ता हुर्कँदै आए अनि समय अनुसार समाजमा परिवर्तन हुँदै आयो । परिवर्तन सकारात्मक अनि नकारात्मक थियो अनि नकारात्मक परिवर्तनमा समाजमा विभेद, द्धन्द अनि अन्याय भित्रिन गयो । शासक अनि शासितहरूको वर्ग छुटाउन थालियो, काम, वर्ग, जात, रगं अनि वर्णका आधारमा भेदभाव हुन थाल्यो, शक्तिशालीले दुर्बललाई अपहेलन गर्न थालियो अनि क्रमशः सामाजिक अन्यायका असहिष्णु पथको सुरुवात भयो ।
कालाको ठाउँमा गोराहरू हेपिने अनि गोराको ठाउँमा काला हेपिने, स्थानीयले आप्रवासीहरूलाई हेप्ने, एक पाइला जग्गा सिमाका लागी रगतका खोलाहरू बगे, जित्नेले हार्ने पक्षलाई दास बनाए, मान्छेले मान्छेलाई मान्छेको दर्जा दिन छाडे जसका अप्रत्यक्ष पदचिह्नहरू आज पनि समाजमा छ । कुनै एउटा जात या कुलमा जन्मेकै कारणमा जीवनभरि हेपिन पर्ने अनि दोस्रो दर्जाको नागरिक अथवा अनागरिक बनेर बाँच्नुपर्ने यो कस्तो सामाजिक न्याय थियो ?
A call for a justice in digital economy भन्ने नाराका साथ सन् २०२२ को सामाजिक न्याय दिवस मनाइँदै छ । डिजिटल अर्थतन्त्रमा सामाजिक न्यायको सुनिश्चितताका लागि सन् २०२२ को सामाजिक न्याय दिवसले विशेष पैरवी गर्दै छ ।
आजको दिनले पूर्ण रोजगारी र सामाजिक समावेशिताको पैरवी पनि गर्दछ, आर्थिक रूपमा सङ्घर्ष गरिरहेको नेपालजस्तो देशमा धेरैजसो रोजगारीहरू अनौपचारिक क्षेत्रले ओगटेको छ, यसो हुँदा सामाजिक सुरक्षा र समावेशीताका कुराहरूमा खलल गर्न सक्ने सम्भावना धेरै रहन्छ । नेपाल सरकारले विभिन्न कार्य योजना, आवधिक योजना र रणनीति अनि राष्ट्रिय योजना बनाएर सामाजिक न्याय, लैगिंक समानता अनि सामाजिक सुरक्षाका योजना, ऐन आदिहरू ल्याएको छ ।
नेपाल सरकारले सामाजिक सुरक्षाका प्रावधानहरू समावेश गरेको ऐन पनि ल्याएको छ, नेपाली पावन भूमिमा सामाजिक न्याय र समावेशिताको सदैव वास रहोस् ।
रगतको रगं देखि हड्डीका बनावटसम्म एकै भएका मान्छेहरूको मुटु यदि छ भने उसले मान्छे मान्छेमा विभेद देख्न हुँदैन भन्ने धारणा सहित सामाजिक न्यायको अवधारण अगाडि आयो, आज विश्व सामाजिक न्याय दिवस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष फेब्रुअरी २० मा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्र सङ्घको महासभाले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । सोही अनुसार सदस्य राष्ट्रहरूले बर्सेनि यो दिवस मनाउँदै आएका छन् ।
बहु पहिचान सहितको नेपाल अनि नेपालीले विभिन्न प्रकारका सामाजिक असन्तुलन अनि सामाजिक अन्यायहरू सहन गर्दै आएका छन् । पानी चल्ने या पानी नचल्ने जस्ता धेरै विभेदकारी वर्गहरूको अनावश्यक तह बनाइएको समाज अहिले सुस्तरी एकै सेरोफेरोमा सरोबर मिसिँदै गएको छ । नयाँ पुस्ताका नेपालीहरू सामाजिक समानतामा विश्वास राख्दछन्, फेरि हामी त हाम्रो पात्रो चलाउने स्मार्ट पुस्ताका स्मार्ट पुस्ता हौ कि कसो ? आउनुहोस् समान समाजको सपना साकार पारौँ .
सुयोग ढकाल
Liked by: