ॐ
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।
अर्थात् सवै सुखी होउन्,सबै रोगमुक्त रहुन्, सबै मनुज मंगलकार्य को साक्षी बनुन्, रिस राग त्याग गरुन्, कसैलाई पनि दुःख नहोस्
सन् २०२२ को हार्दिक शुभकामना
बिदाइ भनौँ या स्वागतम, जाँदै छ सन् २०२१ अनि आयो सन् २०२२, आजबाट इस्वी संवत्को नयाँ वर्ष संसारभरि भब्यताका साथ सन् २०२२ को स्वागत गरिँदै छ । कोरोना त्रास वाट उम्कन र सामान्य अवस्थामा आउन सन् २०२१ ले निकै कसरत गर्यो , आशा छ २०२२ ले कोरोनामुक्त दिनहरू सँघार मा लिएर आउनेछ
विश्व अझै पनि भाइरसका विभिन्न संस्करणहरूको प्रभावमा छ, कतिपय देशहरू अझै खुलेका छैनन्, कतिपय त खुलेर पनि बन्द भए अनि कतिपय देशहरू सुधारोन्मुख छन् । सेनाहरू भन्दा सेता कोटहरूले , हतियार गृह भन्दा अस्पतालले देशवासीको जीवन सुरक्षा हुन्छ भन्ने तथ्य पछिल्ला वर्षहरूले प्रमाणित गरेका छन् । कोरोना पछिका वर्षहरूले विश्वलाई डिजिटल थलोहरू तर्फ एकोहोर्याएको छ, अब मानवीय अँगालोहरू च्याट बोर्डका इमोजीहरूले प्रतिस्थापन गरेको छ । भींडहरु अब डिजिटल थलोमा बढ्न थालेको छ अनि डिजिटल थलोमा मानवको प्रवेश यस वर्ष जति अन्य कुनै वर्षहरुमा भएको थिएन ।
वर्ष २०२२ सँगका अन्य आशाहरूमा सामान्य जीवनशैली एकातर्फ छ भने यस वर्षको विश्वकप फुटबलको रौनक पनि अर्कोतर्फ छ । कतारमा हुने विश्वकप फुटबल २०२२ को पनि वर्ष २०२२ ले लिएर आउनेछ ।
जिन्दगीलाई अनुभव र यादहरूको डोको रूपमा लिन सकिन्छ, हरेक वर्ष एउटा नयाँ अनुभव सँगालिँदै पुरानो वर्ष बित्छ भनेँ नयाँ वर्ष आउँदछ । हुन त हामी नेपालीहरूको क्यालेन्डर देखि चाडबाड अनि कार्यालयगत कुराहरू धेरैजसो विक्रमसंबतमा आधारित भएकाले यो ईस्वीसंवतलाई आगन्तुक र पराई संवत्का रूपमा लिने पनि गरिन्छ तर विदेश बस्नेहरू अनि अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्ने लगायत अन्तर्राष्ट्रिय संवतहरु ईस्वीसंवतमै संसारभरि हुनेभएकोले यो संवत्को पनि भिन्नै प्रतिष्ठा र उपयोगिता छ । भनिन्छ नि, शुभ कार्य र शुभकामना दिन ढिलाइ गर्न हुँदैन भनेर तसर्थ छिटो छिटो गरेर हाम्रो पात्रो पनि आफ्ना प्रयोगकर्ताहरूलाई यस सन् २०२२ सालको हार्दिक मगंलमय शुभकामना व्यक्त गर्न चाहन्छ । विसं भने इस्वी संवत् भन्दा ५७ वर्षले अगाडी छ र जनावरी फेवरुवरि जस्ता १२ महिनाहरूले वर्ष दिनको घोत गर्ने इस्वी संवत् हो भने विक्रम संवत्मा हाम्रा वैशाख, ज्येष्ठ जस्ता १२ महिनाहरू हुन्छन् भन्ने त हामीलाई थाहै छ ।
हामी मध्य धेरैलाई फूर्सतिलो बनेर केहीखेर सोचाइमा अलमलिएर गएको वर्षको समीक्षा गर्न मन लागेको हुनपर्दछ, केही बेर सोचौँ न कस्तो रह्यो त सन् २०२१ हाम्रो लागी रु के कस्ता उतारचढावहरू जीवनमा आए रु कसरी सामना गरियो रु के के कुराहरू लिएर अनि कस्ता कस्ता कुराहरू दिएर गयो त यो गएको वर्ष रु अनि अब आउने वर्षमा के कस्ता योजनाहरू, प्रक्रियाहरू, धारणाहरू तपाईँले अवलम्बन गर्ने चाह राख्नुभएको छ ?
हरेक नयाँ बर्सहरूमा हामी केही सोचाई या परिवर्तन गर्ने चाह राख्दछौ तर ती धेरै जसो चाहहरू अनि बाचाहरू त्यतिकै तुहिएर जाने पनि गर्दछन्, यस वर्षको सकारात्मक सोच अनि प्रगतिका लावालस्करहरू तपाईँको पाइला अगाडी रहिरहुन्, फर्केर हेर्नुनपरोस अनि ताकेका चिताएका कुराहरूमै निशाना लागोस् ।
यो वर्षभरिको हतारो सँगै, बिस्मात र आश्चर्यसँगै, मिलन र बिछोडसँगै अनि सम्भावनाका संवाहकहरूसित कतै यहाँले पालैपिच्छे मुस्कुराउन त बिर्सनुभएको छैन रु एक फेर सोचौँ है, जीवनको मूलभूत उद्देश्य र हरेक दिनको एउटा मात्र निश्चय भनेको चाहिँ हाम्रो मुहारमा एउटा मिठो मुस्कान हो ।यस वर्षमा हाम्रा हाँसो अनि मुस्कानहरू उधारोमा नजाउन्, हरेक अवसरहरूलाई उत्साहका साथ मनाउन पाईयोस अनि दुख्ख नै लेखेको छ भने पनि सामना गर्ने साहस होस् । बर्सहरू सँगै हामी पनि परिवर्तन भई रहेका छौ, जीवनका आयामहरू पनि परिवर्तनशील छन्, सन् २०२२ ले यी परिवर्तनका आयामहरूलाई सकारात्मक गोरेटो तर्फ लग्नेछ, हैन त रु कुनै लत या बानी छोड्न चाहनुहुन्छ भने अटल आत्मविश्वास र दृढ सकंल्प होस्, युवा पुस्ताका साथीहरू हुनुहुन्छ र कसैलाई आफ्नो मायाको उजागर गर्न चाहनुहुन्छ र सकिरहनुभएको छैन भनेँ यो वर्षले त्यो किस्सालाई पनि बल दिएर अभिब्यक्त गर्ने सामर्थ्य दियोस् है , कि कसो ?
पुराना दिनमा पोष्कार्डहरु साटासाट गर्दा लेखेर नयाँ वर्षका शुभकामनाहरू साटासाट गर्ने चलन अब त नेपालमा इन्टरनेटमा म्यासेज र च्याटले प्रतिस्थापन गरिसकेको छ । बर्सैपिच्छे प्रविधि अनि पहुँचमा नेपालले फड्को मार्दे छ, अबका वर्षमा पुराना अनि नयाँ दुवै चलनको निरन्तरता होस् । सातै प्रदेशका हिमालका हिउँ, पहाडका चुचुरा अनि तराईका हरिया फाँटहरूमा नेपालीपनाको महत्त्व झल्किरहोस् । २०२२ सालमा, सपनाहरू साँच्न पाईयोस अनि तिनलाई पूरा गर्न अगाडी बढ्ने अवसरहरू पाइयोस्, पसिनाको मूल्य पाइयोस् अनि अटल मुस्कानले नेपाली अनुहारहरू शोभायमान बनाई रहोस् है ।
सन् २०२२ का हरेक दिन मङ्गलमय हुन्, चित्त शुद्ध होस अनि शान्ति फैलियोस् ।
शुभकामना
टोपी दिवस
सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौँ ।
विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको आज महिमा गान गर्न चाह्यौँ, कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका विषयमा कुरा जति गरे पनि अपुग नै हुन्छ । शिरमा सगरमाथाको स्वरूपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि सम्वतसंगै हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस स्व स्फूर्त रूपमा नेपाली जनले मनाउँदै आएका छन् ।
ढाका टोपी दिवस भने पनि नेपाली पुस्ताले ढाका टोपीसँगै भादगाउँले टोपीको पनि महत्त्व बुझ्न जरुरी छ । प्रथम राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरू पनि ढाका टोपी पछाडिका अपुष्ट इतिहास हुन् । "ढाका "नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमै रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्व निर्भर छ, पाल्पा लगायतका धेरै ठाउँमा ढाका कपडाको उत्पादन हुने गर्दछ ।
नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् । नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ, नेपाली राष्ट्रिय पोसाकमा ढाका टोपी बिना कुनै अर्थ रहँदैन पनि ।
जाँदा जाँदै एउटा अर्को गीतको शब्द सम्पूर्ण नेपाली नेतृत्वलाई छाड्न चाह्यौँ
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
नेपालै नरहे
पहाड या हिमाल हैन तराई अनि विदेशमा रहेको नेपालीका लागि पनि यस टोपी उत्तिकै महत्त्वपूर्ण छ । जाँदाजाँदै सोध्न चाह्यौँ, के तपाईँसँग नेपाली टोपी छ र?
राष्ट्रिय पोसाक दिवस
कस्तो संयोग परेको छ भने यसवर्ष, टोपी दिवस र राष्ट्रिय पोसाक दिवस एकै दिन पर्न गएको छ । पुस १७ गतेका दिन “मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोसाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि।सं। २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोसाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन्। नेपाली पोसाकको संरक्षण र नेपालीपनको गौरव दुबैलाई सगरमाथाको शिखर झैँ अटल राख्न यस दिवसको विशेष महत्त्व छ ।
राष्ट्रिय पोसाक दिवसको सुरुवात गर्नुको मुख्य कारण विदेशी संस्कृतिले नेपाली धर्म,संस्कृति,चाडपर्वलाई समेत नष्ट पार्ने हुनाले यसैको प्रतिकार स्वरूप यो अभियानको सुरुवात भएको हो।
विगतका विभिन्न क्रान्तिहरूमा नेपालको राष्ट्रिय धरोहर,सम्पदा,चाडपर्वको इतिहास सकिए,विभिन्न जातिका पोसाक,रीतिरिवाज समाप्त भए त्यसै गरी नेपालीहरूको विश्वमा पृथक् र सर्वश्रेष्ठ रूपमा हेरिएको दौरा सुरुवाल,ढाका टोपी,गुन्यू चोली जसलाई नेपालको औपचारिक पोसाकको रूपमा हेरिन्छ। त्यसै तथ्यलाई आत्मसाथ गर्दै नेपालको अन्तर्राष्ट्रिय पहिचानको रूपमा रहेको राष्ट्रिय पोसाक (दौरा सुरुवाल,टोपी,गुन्यू चोली) लाई सरकारले औपचारिक पोसाक घोषणा गर्दै सम्मान दिनुपर्ने यो अभियानको उद्देश्य हो।
जनस्तरमा देखिएको पहिचानको यस स्वस्फुर्त योगदानमा सरकारको चासोको जरुरी हैन र ?
विदेशी पोसाकको फेशन र प्रयोगमा चुर्लुम्म डुबेको नेपाललाई आजको यस दिवसको मौलिकताको विशेष महत्त्व छ । नेपाली पोसाक लगाउँदाको गौरव र ठाँटको पूर्नब्याख्या गर्न र यसको प्रयोगलाई युवाहरू माझ थप व्यवहारिक बनाउन आजको निको महत्त्व निकै छ ।
राष्ट्रिय पोसाक दिवसको मूल लक्ष्य भनेको नेपालको औपचारिक पोसाक सरकारले घोषणा गरी सिङ्गो नेपालीहरूको पहिचान विश्वसामु पुर्याउनु हो। राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले राष्ट्रिय पोसाक संरक्षणको पहल गरियोस् भन्दै विगत ८ वर्ष देखी निरन्तर सम्बन्धित निकायहरूमा पैरवी गर्दै आएका छन्।
आजको दिन विभिन्न जिल्लाहरूका अभियान्ताहरु को सहकार्यमा प्रदेश प्रदेशमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै हरेक नेपालीहरूको मानसपटलमा पोसाकको सम्मान,आवश्यकता र संरक्षणमा युवाहरूलाई समेट्दै जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।
हरेक देशको आफ्नो पोसाक हुन्छ तर प्रायः देशहरू कोट,पाइन्ट,सर्ट र टाईलाई सर्वव्यापी बनाउँछन् । जसरी हरेक देशले पहिचानमा झन्डा देखाउँछ त्यसैसरि आफ्नो पहिचानको लागि आफ्नो राष्ट्रिय पोसाकलाई पनि प्रदर्शित गर्ने गरेको देख्न तथा सुन्न सकिन्छ । नेपाल सानो देश छ तर हरेक देशको स्वाभिमानको कुनै मूल्य हुँदैन त्यसैले देशको राष्ट्रिय पोसाक हुनुपर्छ । देशको पहिचान विदेशमा झल्काउनको लागि विदेश यात्रा लगायतका अन्य औपचारिक कार्यक्रम तथा भेटवार्तामा पनि देशको राष्ट्रिय पोसाक लगाउनाले त्यसमा देशको शान,सम्मान समेत जोडिन्छ ।
हाम्रो नेपाली पोसाक विश्वमा नै पृथक्,ऐतिहासिक र बेग्लै पहिचान बोकेको पोसाकको रूपमा रहिआएको छ । हरेक राजनैतिक कार्यक्रम,समारोह,सरकारी कार्यालयका कर्मचारी तथा उच्च ओहदाका व्यक्तित्वहरूको आचरण तथा शिष्टतामा सम्पूर्ण देशको शान तथा इज्जत जोडिएको हुन्छ तसर्थ जनताको प्रतिनिधिको रूपमा विशिष्ट दर्जाका व्यक्तित्वहरूले राष्ट्रिय पोसाक लगाई वैदेशिक भ्रमण गरे उत्कृष्ट हुने धारणा सायद हामी सबैको होला।
नेपालीपना झल्काउनका लागि के हुनपर्दछ ?
ढाका टोपी, नेपाली लवज र भाषा, राष्ट्रिय पोसाक आदि आदि धेरै कुराहरू छन् । तर के यी सबै कुराहरू हामीले जोगाउन सकेका छौँ त ? आगामी पुस्ताका लागि हामीले यी कुराहरुको धरोहर अर्थपूर्ण रूपमा जोगाएका छौँ त ?
नेपालीमा विदेशी लवज मिसाएर बोल्छौँ, ढिँडो र गुन्द्रुक त हराइहाले, नेपाली टोपी र पोसाक एक जोर सम्म छ कि छैन ?
याद गरौँ, मौलिक पहिचान बिना राष्ट्रियताको जराहरु अलमलाउन सक्छन्, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे र?
राष्ट्रिय पोसाक दिवसको शुभकामना
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको
Liked by: