गौरा पर्व , सुदूरपश्चिमी भू-भाग अनि यसको मौलिक पृष्ठभूमि
गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् ।
नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि यसको मौलिक पृष्ठभूमिको ठुलो महत्त्व छ । खस राज्यको उद्गम भूमि अनि भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ । विशेष गरी डोटी र कुमाउँमा परापूर्व काल देखी नै मनाइँदै आएको पर्व हो, गौरा पर्व ।
गौरा पर्वको पौराणिक कथा
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगु वंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतीत्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजवान् पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान् सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।
कसरी मनाइन्छ गौरा?
गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुँडा' अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्छन् । बिरुँडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रूपमा 'बिरुँडा' धोएर गौराको प्रतिमा बनाई गौरा घरमा भित्र्याउँछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
महिलाहरूको व्रतबन्ध
गौरा अर्थात् गौरी, यस पर्व माता पार्वती को पूजा आराधना गरी मनाइन्छ । पुरुषहरूले यज्ञोपवीत गरेर या व्रतबन्ध गरेर जनै धारण गरे झैँ महिलाहरूको पनि घाटीमा रातो धागोको डोरी धारण गर्न गौरा पर्व को महत्त्व छ। सामान्यतया गायत्री मन्त्र जनै धारण नगरीकन कसैले पनि जप नगर्नु भनिएको हुन्छ तर घाटीमा डोरी बाधेपछि महिलाहरूले पनि गायत्री जप्न पाउँछन् । एक हिसाबले हेर्दा यो पर्व द्वारा महिलाहरूको व्रतबन्ध गरेको मानिन्छ ।
विशेष नेपाली माैलिकता बोकेका यस्ता गीतका माध्यमबाट एक अर्काका दुःख-सुख: बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठुलो पर्वको रूपमा मनाइन्छ । आजकल गौरा पर्वका अवसरमा सुदूरपश्चिमका बासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्दछन् । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट कूल देवता प्रसन्न हुने जनविश्वास छ ।
पर्वको समापन सँगै कुनै राम्रो साइत हेरेर गौरा देवी को मूर्ति लाई बाजागाजासहित भएर नाच्दै गाउँदै र महिलाहरूले सगुना गाउँदै देउघर भन्दा अलि टाढा लगेर मूर्ति लाई राख्छन् अर्थात् सेलाउँछन् ।
राष्ट्र प्रमुखले समेत गौरा पर्वका अवसरमा देशवासीलाई शुभकामना दिने चलन छ ।
गौरा पर्व सुदूरपश्चिम सँग मात्र नजोडीकन समग्र राष्ट्र अनि नेपाली पहिचानको पर्वका रुपमा लिइन जरुरी छ । पूर्व होस् या पश्चिम, नेपालीहरूको मन आखिर एउटै त हो ।
मेची देखि महाकाली सम्मका नेपालीहरूलाई गौरा पर्वको शुभकामना ! खुब मज्जाले मनाउनुहोस्, जय होस् !!
भाद्र शुक्ल अष्टमी
गौरा पर्वको दिनमा नै दुर्वाष्टमी पनि मनाइन्छ । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूर पश्चिम र मध्यपश्चिम बासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदै छन् । भाद्र शुक्ल अष्टमीका दिनलाई दुर्वाष्टमीका रूपमा मनाउने चलन छ ।
भाद्र शुक्ल अष्टमीलाई उज्यालो गौरा र भाद्र कृष्ण अष्टमीलाई अँध्यारो गौराका रूपमा मनाउने चलन छ । यदि कसैले पहिलो पटक गौराको व्रत लिन थाल्नुभएको हो भने चाहिँ उज्यालो गौराबाट नै व्रत बस्नुपर्ने हुन्छ ।
दुर्वाष्टमी को पौराणिक कथा
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको मान्यता छ । पाँच वनस्पति कुश, काँस, सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने चलन छ ।
दुबोको पूजा गरिने भएकाले चाहिँ यस व्रतलाई दुर्वाष्टमी भनिन्छ । दुबो फैलिए सरी सन्तान फैलिउन् र दुवो सरी नै परिवार मौलाउन भन्ने कामनासहित दुर्वाष्टमीमा उमा महेश्वरको पूजा, उपासना र व्रत समेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ ।
महालक्ष्मी व्रतारम्भ
क्षीरोदार्णवसम्भूता लक्ष्मीश्चन्द्र सहोदरा।
व्रतोनानेत सन्तुष्टा भवताद्विष्णुबल्लभा।।
अर्थात् क्षीर सागरमा प्रकट भएकी लक्ष्मी, चन्द्रमा समान तेज भएकी माता र विष्णु बल्लभा, मैले गरेको यस व्रत वाट सन्तुष्ट हुनुहोस् ।
महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखला
आज भाद्र पदको शुक्ल अष्टमी, अर्थात् अबको १६ दिनसम्म महालक्ष्मीको व्रतारभ्म हुँदैछ, यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखलामा सबैलाई स्वागत छ ।
यी १६ दिनमा धन अनि ऐश्वर्यकी देवी महालक्ष्मीको अर्चना गरिन्छ, समुन्द्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न यी लक्ष्मी देवीको शुभबिवाह भगवान् विष्णुसँग भएको हो । कमलको फूलमा विराजमान देवी लक्ष्मीको हत्केला वाट हरेक खत धातुका सिक्काहरू खस्दछन्, यी बिम्बलाई केलाएर हेर्ने हो भनेँ धनकी देवी कोमल मन अनि सहज उपस्थितिकी प्रतिमा हुन् । धनको पछि लागेको सकल संसारले लक्ष्मी माताको सरलता र कोमलतावाट धेरै कुरा सिक्नुपर्ने आवश्यकता छ । यी १६ दिनमा निष्ठापूर्वक लक्ष्मी माताको उपासना गर्ने उपासकले धन र समृद्धि प्राप्त गर्दछ, धन र समृद्धिको दीर्घकालिकता मानव सेवा र सत्कर्ममा निर्भर हुन्छ, लक्ष्मी माता पनि मानव सेवा अनि मानवीय कार्यमा प्रसन्न हुनुहुन्छ । |
दूध, चन्दन र दुग्धजन्य पदार्थहरूले लक्ष्मी माताको पूजन गरिन्छ, कमलको दाना भएको माला जप्दै लक्ष्मी माताको अर्चना गरिन्छ, यस १६ दिनका क्रममा सात मुखे रुद्राक्ष लगाउनु अत्यन्त फलदायी मानिन्छ ।
करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा ।
तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।।
अर्थात् हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु, , मेरो यस व्रत निर्विघ्न३न पूर्ण रहोस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: