गोरखकाली पूजा
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।
छन्द दिवस
छन्द के हो ?
जब कवितामा मात्रा अथवा वर्णहरूको सङ्ख्या, विराम, गति, गेयहरू नियमसंगत रूपमा मिल्दछ, तब छन्दात्मक रचना तयार हुन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा वाचन गर्ने तरिका हो । छन्द वेदको अर्को नाम पनि हो । वर्ण र मात्राको गेय व्यवस्था छन्द हो । भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वरहरू रहन्छन् । निश्चित विधान अपनाएर वर्ण र स्वरहरूलाई व्यवस्थित गर्दा छन्द तयार हुन्छ । अर्को तरिकामा छन्द भन्नाले ध्वनिहरूको समष्टिलाई बुझिन्छ । ध्वनिलाई सानो अथवा ठुलो पारी लयहरूको व्यवस्थापन गर्नु नै छन्दात्मकताको प्रस्तुति हो । कवितामा छन्दलाई नौ रससँग मिसाएर प्रस्तुत गर्दा श्रवण गर्ने श्रोताहरू मन्त्रमुग्ध हुने गर्दछन् । लय मिलाएर वाचन गरिएका कवितालाई रुचिपूर्वक श्रवण गरिन्छ । लेख्न मात्र हैन, वाचन गर्न पनि उति नै कठिन हुन्छ । 'इ' कार, 'ऊ' कार जस्ता साना कुरालाई पनि मिलाउनु पर्ने र अन्य नियमहरूमा बाँधिएर कृति लेख्नु निकै चुनौतीपूर्ण हुन्छ ।
छन्दका प्रकारहरू के-के हुन् ?
छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सबैभन्दा प्रचलित प्रयोग पिङ्गल नै हो । जस अनुसार अनुष्टुप्, विद्युन्माला, इन्द्रवज्रा, उपइन्द्रवज्रा, उपजाति, वंशस्थ, स्रग्विणी, स्वागता, भुजङ्गप्रयात, तोटक, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, चित्रवतीहरिणी, चित्र लेखा, शिखरिणी, शार्दूलविक्रीडित, स्रग्धरा, आर्या, शालिनी, ललिता, पृथ्वी र मञ्जुभाषिणी छन्द हुन् । यिनीहरूलाई नै छन्दको प्रकारका रूपमा मानिएको छ ।
छन्दको उल्लेख कहाँ कहाँ भएको छ ?
छन्दलाई ऋग्वेदमा उल्लेख गरिएको छ । गद्य लेखनको नियमन व्याकरणबाट हुन्छ भने पद्यको नियामक छन्द शास्त्र हो । नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा “शार्दूलविक्रीडित” र “शिखरिणी” छन्दको प्रयोग धेरै छ । यी छन्दहरू संस्कृतका छन्दहरू हुन् ।
छन्द दिवसको पृष्ठभूमि
कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको विषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल वैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुनर्स्थापना गर्ने प्रयत्न स्वरूप कवि वियोगीले अभियान सुरु गरेको दिन वैशाख ८ गते हरेक वर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले वैशाख ८ लाई छन्द दिवसका रूपमा मनाउन सहमति दिएको थियो । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ ।
कसरी मनाइन्छ छन्द दिवस ?
साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धी कार्यक्रमहरू गरी आज छन्द दिवस मनाईंदैछ । देशका अधिकांश साहित्यिक डबलीहरूमा छन्दमा लेखिएका कविताहरू वाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: