मोबाइल टुंग बज्यो! मान्छे जतिसुकै बिजि भएपनी मोबाइलमा कुनै नोटिफिकेसन आयो भने चाहेर पनि आफ्नो मनलाई काबुमा राख्न नसक्दो रहेछ।मैले पनि सकिनँ।खोलेर हेरेँ।प्रभाको मेसेज रहेछ।
-`सुरज इज नट मोर ´
मैले केही बुझ्न सकिनँ।तुरुन्तै फर्वाड गरिहालेँ।
-`ह्वाट ह्यापन्ड?´
-`सुरज बाबुले आत्महत्या गर्नुभएछ ´ रिप्लाई आयो।
म एकाएक छाँगाबाट खसेझैँ भएँ।रक्तप्रवाह शुन्य शुन्य भएझैँ लाग्न थाल्यो।आफैले आफ्नो शरीरको भार थेग्न नसकेझैँ भयो,एकाएक म भुँईमा पछारिएँ।
पार्श्वमा `विकास सर! ह्वाट ह्यापन्ड?´सुरिताको आवाज गुञ्जिरहेको थियो।मैले चाहेर पनि आफ्नो मुख फोर्न सकिनँ।त्यस हविगतको बारेमा बताउन चाहाँदा चाहाँदै पनि म अवाक भएँ।घाँटीमा केही ठुलै चिजले थिचिरहेको भान भैरहेको थियो।मानौं मेरो घाँटिको `भोकल कर्ड´को बाटो भएर हजारौँ टनको रेल कुदिरहेको छ जस्को दबाबले मेरो घाँटीको नशा च्यापिएको छ।म टुलुटुलु हेरिमात्र रहेको थिएँ,शायद भिजेका आँखाले...।
मैले बिचको घटनाक्रम राम्ररी सम्झन सकिनँ।भोलिपल्ट भैसकेछ।मेरो होश खुल्दा प्रभा छेवैमा थिई।अलिकती सशंकित र भावविह्वल मुद्रामा टुलुटुलु हेरिमात्र रहेकि एकोहोरो।म केही बोलिनँ।उस्का आँखामा आँखा जोड्ने सामर्थ्य पनि खै किन हो मसंग नभएझैँ लाग्यो।मेरो कपाल सुम्सुम्याउँदै गरेकी प्रभाको मुहारमा पहिलेको भन्दा थोरै बढी चमकपन त थियो यद्यपि रातभरकि अनिदो थिइ उ।त्यो पनि हस्पिटलमा।अझ नेपालको! जहाँ बिरामिलाई भेट्न गएको मान्छे स्वयं बिरामी बनेर नफर्किएला भन्न सकिन्न।उ त झन मेरो समिपमा रातभरि बसेकी थिइ।
नर्सले-`साह्रै राम्री श्रीमती पाउनुभएको रहेछ´,मलाई मेरो दबाई दिँदै भनेकी थिइन्।
प्रभा एकछिन पनि अडेस नलाएर बस्न सक्दिन थि।उस्को ढाड दुख्ने बिरामीको कारण।त्यो रात त्यस स्टुलमा बसेर कसरी अनिदो रहन सकि होली?कसरी आफ्नो दुखाइको पीडा सहन सकि होली?प्रभाको माया र उ प्रतिको सहानुभूतिले मन भरियो।
`सिस्टर! प्रभालाई `रोक्सिक्यामडिटि´ एक चक्की दिनुहोला´ नर्स निस्किँदै गर्दा म बोलेको थिएँ।प्रभा यतिबेला बाहिर निस्केकी थिइ।
म अलि सहज फिलिङ गरिरहेको थिएँ।एकैछिनपछी फेरि नर्स आइन्।मेरो पल्स रेट,ब्लड प्रेसर सबै चेक गरिन्,सबै नर्मल रहेछ।मलाई डिस्चार्ज गरियो।
प्रभाले केही खाएकी थिइ या थिइन मलाई थाहा भएन तर उस्ले मेरो लागि फलफूल किनेर ल्याएकी थिइ।म उस्लाई घरखर्च बाहेक पैसा दिन्नथेँ।फलफूल किन्ने पैसा कहाँबाट आयो,मैले सोध्ने चेष्टासम्म पनि गरिनँ।प्रभा मलाइ खान कर गर्दै थिइ।खान मन पटक्कै थिएन तर पनि उस्को मनको शान्तिको लागि एक टुक्रा स्याउ जसोतसो मुखमा च्यापेँ।
आफ्नो को? बिरानो को? दु:ख पीडामा चिनिन्छ भन्थे,हो रैछ।प्रभाले मलाई त्यसरि आजसम्म कहिल्यै माया गरेकी थिइन न मेरो स्याहार गर्थी।`सुखमा त जस्ले पनि स्याहार गरिहाल्छ नि,दु:खमा संगै साथ दिने,स्याहार गर्ने पो आफ्नो मान्छे त! महान तत्व बोध भयो।मनमनै मुस्कुराएँ पनि।
उता सुरजको घरमा के के भयो होला? झसक्क सम्झिएँ।सुरज मेरो बच्चैदेखिको साथी। `यहाँ जे गर्नुछ बाँचेर गर्नुपर्छ।सफलताको शिखर चुम्न तिमी गाडिमा हैन,तिम्ले त इन्द्रको जस्तो वायुपंखी घोडा चढेर चन्द्रमाको यात्रा तय गर्नुपर्छ ता कि तिम्रो खुट्टा तान्न खोज्नेलाई लागोस कि तिमी उ भन्दा साह्रै माथी छौ।उस्ले तिम्रो नराम्रो गर्न त के,सोच्न सम्म पनि छाडिदिनेछ।´मलाई हरपल यस्तै उर्जाशिल उपदेश दिएर यहाँसम्म पुर्याउने मेरो साथि,जीवनप्रती निकै आश्वस्त,आशावादी र दृढ मान्छे खै किन आफ्नो ज्यान आफै लियो? मैले सोच्न सक्ने भन्दा बाहिरको कुरा थियो।
प्रभा र म सुरजको घरतर्फ लाग्यौं।सुरजको घर वरिपरि मान्छे खचाखच थिए।नहुन् पनि कसरी? सबैलाई जीवन दर्शन दिँदै हिड्ने,सबैसँग समभाव राख्ने त्यो मानिस आफ्नै जीवनबाट एकाएक अत्तालिएर गलत बाटो अपनाउन जो पुगेको थियो।हुन सक्छ सुरजको नजरले त्यहि बाटो सहि देखे,मनमस्तिष्कको समर्थन पाएर अंगालिन पुग्यो आत्महत्याको त्यो बाटो अपितु समाजको दृष्टिमा त्यो एक घृणित काम थियो।
उस्को मृत्युको दुई दिन पुगिसक्दा पनि उस्को लास त्यहिँ रहेछ।अरु त के कुरा?लाशको डोरि सम्म काटिएको रहेनछ।सिलिङ्को फ्यान ह्याङ्गरमा एक छेउ बाँधिएको अर्को छेउ सुरजको घाँटिमा। त्यो हरियो डोरि धेरैबेर हेरिरहन सकिनँ।आँखाबाट बरररर...साउने झरिको मुल फुटिहाल्यो।
कसैको अगाडि शिर झुकाउनुपर्ने कुनै काम नगरेको त्यो सुरज,आज आफ्नै जिन्दगीसँग लाचार बनेर टाउको निहुँराइरहेको थियो।
प्रहरी नजिकै थिए।पिढिँमा उदासिन मुद्रामा सुरजका बाबू; टाउकोमा ढाका टोपी कहिल्यै नछुटाउने मान्छे,आफ्नो सन्तानको मृत्युले सायद होस पाएनन्।सेतै बनेर फूलेको कपाल जिङरिङ्ग पारेर बसिरहेका थिए।उनका आँखा रुदाँरुदा थाकेका थिए।केही बोलेका थिएनन्। म पनि के भनेर बोल्ने?कुनै मेसो पाउन सकेको थिइनँ।मानिसहरु आफ-आफ्नै सुरमा गाँइगुँई गर्दै थिए।प्रहरिले एकजनालाई पकड्थ्यो,कुनातिर लान्थ्यो।के के खासखुस गर्थ्यो अनि छोडिदिन्थ्यो।यो सब के भैरहेको थियो म विलकुल अनविज्ञ थिएँ।सुरजकी आमा प्रभालाई देखेपछि झम्टेर रोइरहेकी थिइन।विचरी प्रभा,उ पनि त्यस्तो मामलामा कच्चै थिइ।आफ्नो आमा सरहकी मान्छेलाई कसरि पो सम्झाओस्? केही गर्न सकेकी थिइन।बरु उल्टै आँसु झारेर सुरजकी आमालाई साथ दिँदै थिइ।सायद प्रभा चाहाँदा चाहाँदै पनि सुरजकी आमालाई सम्झाउन सकिरहेकी थिइन।
प्रहरिलाई शंका छ रे -`त्यो सुसाइड नभएर मर्डर हो´ त्यसैकारण सुरजको लाशलाइ एककदम पनि नहल्लाएर राखिएको रहेछ।भिड्कै एकजना भाइले सुनायो।
प्रहरी अफिसर भएतिर लागेँ।
-`म सुरजको नजिकको साथी,विकास´ आफ्नो परिचय दिएँ।
अफिसरले मलाई एकान्तमा लगिहाले।केरकार गर्न थाले।
-`सुरजको कसैसँग दुश्मनि थियो?कुनै मनमुटाव वा झगडा केही?वा कतै लब सबको चक्कर?´केही थाहा छ तपाईंलाई?
-`नाइँ,सुरजको त्यस्तो पक्ष मलाई ज्ञान छैन।जहाँसम्म लाग्छ उस्ले मसंग कुनै कुरा लुकाउँदैनथ्यो तर एक्कासी एस्तो...!यहाँ सम्म कि लभ अफेयर पनि लुकाउँदैनथ्यो।हाम्रा सबै कुरा साझा हुन्थे।मलाई उस्को यो पक्ष थियो झै लाग्दैन।´म बोलेँ।
-`आर यु स्योर?´
-`या,आइ एम स्योर´
-`देन इट्स् ओके,नाउ यु क्यान लिभ...´
-`एक्स्क्युज मी सर...´
-`या...´
-`पोस्ट्पार्टम गर्दा हुँदैन र सर?´ म केही आशावादी भएर बोलेँ।
-`उस्का बाबू-आमा चाहादैनन कि आफ्नो मृत छोराको क्षतविक्षत लास जलाउन परोस्...´प्रहरी आफिसर बोल्दा बोल्दै रोकिए।
-`मलाई पनि यदाकदा त लाग्छ,जीवनप्रती त्यति आस्थावान,निष्ठावान,महापुरुष आत्महत्या गर्न त सक्दै सक्दैन तर पनि लाशलाई यसै झुन्डिरहन पनि त दिन भएन नि सर,समाजले के भन्ला?´
-`त्यही समाजले भोलि प्रहरी प्रशासनले एउटा हत्यारा पत्ता लगाउन सकेन भनेर हामिलाई थुक्यो भने नि?´ प्रहरी अफिसर सशंकित मुद्रामा मतिर हेर्दै बोले।
मृतकको दाहसंस्कार चाँडो गरेमा उ स्वर्गमा बास गर्ने हाम्रो मानसिकता छ भलै मृतकको दिमागले आधा घण्टा सम्म काम गर्दैरहेको हुन्छ,हामी मृतकको दाहसंस्कारको पुर्ण तयारी गरिसक्छौँ।हामिकहाँ एस्तो संस्कार नै छ भन्दा अत्युक्ति नहोला।तर यहाँ त सुरजको मृत्युको दुई दिन भैसकेको थियो।उसरी भन्दा त सुरजको स्वर्ग जाने बाटोनै बन्द भैसकेको थियो।
-`मलाइ विश्वास गर्नुस सर,यो सुसाइड नै हो! लाश ठेगान लगाऔँ सर,जे नहुनु भैहाल्यो,यसै गरेर कति दिन चल्ला र?´
-`घटनाको जिम्मा तपाईं लिनुहुन्छ?´ अफिसर जंगिए।
म केही सोच्नै सकिनँ।सुरजको हँसिलो चेहरा आँखा अगाडि झलझली आइरह्यो। प्रभातिर पुलुक्क हेरेँ।सुरजका आमा-बाबू दुवैलाई हेरेँ।सारा भिडलाई पनि सर्सर्ती हेरेँ।सुरजले मलाई गरेका सहयोगका पाटाहरु मस्तिष्कमा ताजा बनेर आइदिए।
"मेरो लागि त्यत्रो सहयोग गर्ने मित्रको लागि जेलै जानुपरे पनि पछि हट्दिनँ" मनको एक कुना जोडजोडले कराउँदै थियो।अर्को कुना पनि जंगिदै थियो-"अर्काको लागि आफ्नो जिन्दगी दाउमा लगाउँछ्स्?"एकाएक पुरुष आत्मा गर्जिहाल्यो
-`त्यस्तै पर्यो भने बरु म जेलै बसुँला...!´
प्रहरी अफिसरले नेपाली कागजमा मेरो दस्तखत गराए।सुरज मर्डर केसको हत्यारा पत्ता नलागुन्जेल म जेलमा बस्नेछु।मैले त्यही कागजमा हस्ताक्षर गरेको थिएँ।हस्ताक्षर गरेपछी प्रभालाई एकटकले नियालेँ।सायद प्रभा प्रती यति धेरै माया न कहिल्यै पलाएको थियो न कहिल्यै पलाउने नै छ।
लाशको डोरि काटियो।लास अड्याउन तैनाथ युवाहरु,सुरजको खाइलाग्दो शरीर के तह लगाउँथे?भुइँमा नराम्रोसँग पछारियो।एकदमै निरस र उराठलाग्दो आवाज आयो -`भ्वात्त...!´
मेरा आँखा पुन: रसाइहाले।म लाशको नजिक जान सकेको थिइनँ।
प्रहरिले सुरजको गोजि छामछुम पार्दै थिए।वालेट रहेछ-जम्मा एक सय रुपैयाँ।सवारी चालक लाइसेन्स,नागरिकता,दुई/चार थान फोटो पनि संगै थिए।अर्को गोजिबाट एकजना प्रहरिले पट्ट्याएर राखिएको सेतो कागज निकाल्यो।सायद केही लेखिएको थियो।पढ्न थाले उनिहरु।साह बटुलेर म लासछेउ पुगेँ।त्यतिन्जेल त्यो कागज प्रहरी आफिसरले आफ्नो गोजिमा राखिसकेका थिए मैले त्यो कागज हेर्ने इच्छा प्रकट गरेँ।अलि एकान्त र चहलपहल कम भएको ठाउँमा लिएर अफिसरले मलाई त्यो कागज थमाइदिए।सुरजको सुसाइड नोट रहेछ।
मलाई माफ गर्नुस बुवा,म तपाइँको असल छोरा बन्न सकिनँ।मलाई थाहा छ आमा,तपाईं आफ्नो जीवनकालभरी मलाई भुल्न सक्नुहुनेछैन।तर म विवश छु आमा।सक्नुहुन्छ भने मलाई माफ गरिदिनुहोला।बुवा,म अरुजस्तो बन्न सकिनँ।जागिरे बन्न सकिनँ।तपाईंहरुको बुढेसकाल लागिसक्दा एउटा सिटामोल किनिदिने पैसा सम्म पनि कमाउन सकिनँ।आफ्ना त परै जाओस् तपाईंहरुका आँखाका आँसु पुछ्न सकिनँ।तपाईंहरुका चाउरी परेका मुहारमा खुशि भर्न सकिनँ।आफ्नो मुहार चाउरी परुन्जेल मलाई सानै देख्ने अनि मलाई लालनपालन गर्दा लगाउनुभएको गुणको म ॠणी छु,सदैव रहिरहने छु।यदि साँच्चै भगवान छन भने,अर्को जन्ममा तपाईंहरुलाई मेरो सन्तान बनाइदेउन ता कि सन्तान हुर्काउन कस्तो कष्ट गर्नुपर्दो रैछ मैले पनि जान्न पाउँ...।सम्भव त नहोला तर यदि सक्नुहुन्छ भने मलाई भुलिदिनुहोला।जिन्दगीबाट छोरा हरायो नठान्नुहोला।म तपाईंको जिन्दगिमा कहिल्यै आएकै थिइनँ...!सकेसम्म सदैव खुशी रहनुहोला।
-सुरज
सुरजको मर्डर केस एकाएक सुसाइडमा बदलियो।कारणसहित।त्यस्तो आत्मविश्वासी मान्छे सुसाइड कसरी गर्न सक्छ? मलाई समेत पत्याउन गाह्रो पर्ने विषय थियो।तर नोटको अन्त्यमा सुरजको हस्ताक्षर पनि थियो।मलाई विश्वास गर्न करै लाग्यो।
सुसाइड नोट्को अर्कोपट्टि लगभग प्राय खाली थियो,टुप्पोमा सानो अक्षरमा केही लेखिएको थियो।आँखामा थप जोड दिएर,कागजलाई उज्यालोतर्फ मोडेर हेरेँ।
लेखिएको थियो
-`बि ह्याप्पि´
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: