इव्राहिम मोहम्मद हतास मनस्थितीमा यहाँ आइपुगेको छ । आज उसको ओठमा एक चिम्टि हाँसो पनि छैन, एक रेखा मुस्कान पनि छैन ।
व्राहिम मोहम्मद हतास मनस्थितीमा यहाँ आइपुगेको छ । आज उसको ओठमा एक चिम्टि हाँसो पनि छैन, एक रेखा मुस्कान पनि छैन । छन त केवल अवर्णनिय दुसाध्य पीडाहरु, आाशु पिएर व्यहोरेका हण्डर र ठक्करहरु । यस्तो एक्लोपन उसले आजसम्म अनुभूती गरेको थिएन । एक्लोपनको अनुभूतीमा मात्र होइन वास्तविक जीवनमै आइपरेको छ उसको । साँच्चै इव्राहिम अब एक्लो भएको छ । आफ्ना हराएका पारिवारिक सदस्यहरुको खोजी गर्दा-गर्दै उसका आाखावाट आँशु रिक्तिसकेका छन् । तर अंह, उसले जिउँदो फेलापार्न सकेको छैन कसैलाई ।
पाँच जनाको परिवार मध्ये उसले दुईजनाको मृत लास भेट्यो अहिले सम्म तर अझै दुई जनाको पत्तो लाग्न सकेको छैन । भेटे साँस नभेटे लासको खोजी गर्दा गर्दै उ यहाँ सम्म आइपुगेको छ । यहाँ उ जस्ता थुप्रै छन्, आ-आफ्ना हृदयविदारक कथाहरु बोकेर बसेका । सबैका आँखा आफन्तजनको खोजिमा भौतारीरहेका छन् चारैतिर । उनीहरु अझै बाँचेका छन्-मरेकाहरुको शोक मनाउन । इव्राहिम पनि त्यही पंक्तीमा उभिएको छ । आँखाहरुलाई पर-पर सम्म हुत्याएर उ अझै पनि खोजिरहेछ आफ्ना आफन्तहरुलाई, जो मानव कंकाल हुनबाट जोगिएर, उसले जस्तै थुप्रै हण्डर-ठकर र भुक्तान व्योहोरेर, आफ्ना आफन्तहरुको खोजिमा भौतारिएका हुन सक्छन् । अथवा लाखौ अनुनय विनय गर्दा पनि हिंस्रक पशु झै क्रुर बनेर सग्लो-सल्सलाउँदो जीवनलाई कंकालमा रुपान्तरण गर्न तम्सिएकाहरुको शिकार भएर कुनै धानखेत या बगरमा अथवा जलेर खरानी भएका झोपडवस्तीको अघिल्तिर लडिरहेका हुन सक्छन् । सम्झदा पनि उसलाई रिंगटा लागेर आउँछ ।
इव्राहिम मोहम्मद आफ्नो विगतलाई सम्झन्छ । बा, आमा, दाजु, बहिनी र उ । बस यति पाँचजनाको परिवार त थियो उसको । आनन्दले आफ्नो जान्दो गर्दै पसिना बगाएर बाँचेका थिए । अलि-अलि दुःख त थियो, पीडा पनि थियो । तर ति दुःख र पीडालाई पुर्न सक्ने खुसीहरु पनि उनीहरुसँग थिए । यसैले इव्राहिम र उसको परिवार सुखी थियो । जुन सुखलाई कुनै शब्दमा वर्णन गर्न सकिदैन । कुनै मापक यन्त्रले नाप्न सकिदैन । तर अचानक साम्प्रदायिक सुनामी लहरहरुले छयान्न-ब्यान्न पारे उसका दुःखले आर्जिएको सुखीपनलाई । अब उ सर्वथा एक्लो भएको छ ।
उ नियाल्छ चारैतिर । पीडा र शोकमा डुबेर आँखाको डिललाई कालो बनाएका सबै दुखीजनहरुलाई पनि नियाल्छ । अनि सम्झन्छ, हिजो अस्ति र अस्तितिर घटेका ति हृदयविदारक घटनाहरुलाई पनि । जहाँ आफ्नै अगाडी अाफ्नो सम्पत्ति लुटियो । आफ्नै कानले प्यारी बहिनीको वलात्कृत चित्कार सुन्नुपर्यो अनि हेर्दा हेर्दै आफ्नो सारा सम्पत्ति घर-आँगन श्मसान घाटमा परिणत भयो । उखुँवारीमा साँस दवाएर नलुकेको भए आज उ पनि शायद मानव कंकालमा परिणत भैसक्ने थियो होला । अनि कसले मनाउँथ्यो इव्राहिम मोहम्मदको सम्पुर्ण परिवारको शोक ? जे होस् इव्राहिम मोहम्मद आफ्ना परिवारको शोक मनाउनकै लागि भए पनि बााचेको छ । बस्न त उ बुद्धको अति शान्त भूमिमा नै बसेको थियो । तर उसलाई के थाहा बुद्धको शान्त भूमिमा यतिधेरै अशान्तिका काला बादलहरु मडारिनेछन् र हिंसाको घनघोर वर्षा हुनेछ भन्ने कुरा । खै रोक्नै सकेन बुद्धका आर्दश बाणीहरुले पनि यो रक्तपातको वर्षालाई ।
अहिले इव्राहिम मोहम्मद यो बजारको घच्चा घमसानमा रुमलिएको छ । कोलाहलमय वातावरणमा उ र उ जस्ता थुप्रै जनहरु शरणार्थीमा परिवर्तन भएका छन् । उसले आज चौथो दिन सम्म बुझिरहेको थियो कि यो लुटपाट, हत्या, आगजनी र अत्याचार अल्पसंख्यक मुस्लिम समुदाय माथी बहुसंख्यकहरुद्वारा थोपरिएको घटना हो र सम्पूर्ण रुपमा यसका कारकतत्व बहुसंख्यक हिन्दुहरु हुन भनेर । तर आज यो आश्रय स्थलमा आश्रयलिन आइपुगेपछि उसको यो बुझाई गलत सावित भएको छ । जसले देख्यो उसको स्कुलमा सागै पढ्ने हरिकान्त चौधरी पनि उ जस्तै शरणर्थी भएर यस बजारमा आएको छ । उसले देख्यो उसको घर देखि अलि पर मन्दिर छेउमा घर भएका ध्रुव प्रसाद उपाध्याय खनाल पनि आफ्नो एउटा छोरो गुमाएर शोकमग्न भएर यस बजारमा एकोहोरिदै बसिरहेका छन् । हरिबहादुरको परिवार र इन्द्रबहादुर बस्नेतको परिवार पनि याहि आश्रय लिइरहेका छन् । जो सँग इव्राहिम मोहम्मदको झै आफन्त गुमाउनुको पीडा र सम्पत्ति गुमाउनुको पीडा एक साथ हृदयमा पिङ्ग खेलिरहेका छन् ।
यहिँ आएपछि उसले थहा पायो हिन्दुहरुको बस्ती भएको एउटा सिंगै गाउँ खरानीमा परिणत भएको छ । मन्दिरहरु तोडिएका छन् र मन्दिरवाट मूर्तिहरु हराएका छन् । अधिकांश छोरी चेलीबेटीहरुको अस्तित्व लुटिएको छ । उ सम्झन्छ उसको गााउको मस्जिदहरु पनि त तोडिएको छन् । वजारका घरहरु र पसलहरु सबै फोडिएका छन् । उ गम्न थाल्छ । त्यसो भए के यो हिन्दु या मुस्लिम बिचको दंगा थिएन त ? आखिर के थियो यो र के का निम्ति भएको थियो ? इव्राहिमको निधार तिनमुजा पर्छ तर उसले पत्तो पाउन सक्दैन यो तिन दिन सम्म यस्तो आतंक, अत्याचार र रगतको वर्षा कसले र किन गरायो भन्ने कुरा ।
इव्राहिम बाटोमा एकसुरले हिडिरहेको छ । उसको सेतो कमिज खेतको हिलो, आफ्नो टाउको फुटेर बगेको रगत, उखुँवारीमा लुक्दा लागेको उखुको कालो कसको मिश्रति रंगले नयाा खालको टाटेपाटे भएको छ । बाटोमा एउटा चिया पसल देखापर्छ । इव्राहिमलाई चियाको तल्-तल् लाग्छ । आज चार दिन देखि उसले चिया पिएको छैन । चिया मात्र होइन यो अबधिमा उसले केहि पनि खाएको छैन । उ सम्झन्छ, उसलाई यो विचमा एक पटक पनि चियाको तल्-तल् लागेको थिएन । भय, त्रास र आतंकको भुमरीमा फासेको बेला त तल्-तल् जस्ता नियमित प्रक्रियाहरु सबै हराउँदो रहेछ । तर जे होस अहिले उसलाई चियाको तल्-तल् लागेको छ । के यो नियमित जीवन प्रक्रियामा फर्किएको सुचक हो त ?
"एक कप चिया पिउन पाइन्छ हैन दिदि ?" उ मन खोलेर वोल्छ चियाको तल्-तल् मेट्न । तर अनायासै चियाको निम्ति चाहिने पैसाले पिरोल्छ उसलाई । उ आफ्नो मैलो कमिजको गोजीमा हात घुसार्छ । एउटा गोजीवाट एक रुपैयाँको थोत्रो नोट निस्कन्छ । पैसा कम भएपछि उसलाइै झन धेरै चियाको तल्-तल्ले सताउाछ ।
"म सँग त एक रुपैयाँ मात्रै रहेछ । यसको जति आउँछ त्यती नै दिनुस्न है ।" उ एकदमै मलिन स्वरमा बोल्छ । वरीपरि बसेका सबैले उ भएतिर नजर सोझयाउँछन् । छक्क पर्छिन चिया पसल्नी दिदि पनि । तर उ चुपचाप बेञ्चमा गएर बस्छ । चिया पसल्नीले पुरा एक कप चिया इव्राहिम मोहम्मदको हातमा थमाई दिन्छिन् । उ अप्ठ्यारो मान्दै पसल्नीको आँखामा हेर्छ त्यहाा सहानुभुतीको भाव झल्कीरहेको छ । इव्राहिम मोहम्मद अनुभुति गर्छ यो सहानुभुतीको भाव हिन्दु अथवा मुस्लिम भएकोले होइन बरु मानवताको नाताले सिर्जीत भएको हो । उ हिन्दु अथवा मुस्लिम भएर होइन मात्र मानव भएर सोच्छ र आफूलाई अलि सुरक्षित महशुस गर्छ ।
इव्राहिम बेञ्चमा बसेर चिया पिइरहेको छ । आज चार दिन पछि निस्फिक्र रुपमा विना त्रास उसले मुखमा हालेको यो पहिलो वस्तु थियो । तातो चियाले एकछन सबै कुरा भुलदिन्छ उ । उसलाई जीवनको अनुभुती हुन्छ । चिया जस्तै तातो र न्यानो जीवन ।
चिया पिउँदै गर्दा इव्राहिम महशुस गर्छ उसको नजिकै बसिरहेको एउटा पातलो र खिनौटे युवक उसैलाई नियाली रहेको छ । त्यस युवकलाई कता-कता यो भन्दा पहिले नै देखेको र भेटेको आभास हुन्छ उसलाई । उ पनि नजानिदो पाराले नियाल्न थाल्छ उसलाई । पातलो शरीर, अनुहारमा चुस्स बोकेदाह्री पलाएको मैलो बाहुले सर्ट र अलिअलि फाटेको टोपी लगाएको त्यस यूवकलाई साँच्चै कतै भेटेको र देखेको चर्को अनुभुतीले गाँज्छ उसलाई । उ वर्तमानवाट निरपेक्ष भएर विगतमा टहलिन थाल्छ ।
विगतका स्कुले जीवन, गोवरहरु बटुलेर गुँइठा बनाउँदाको क्षण अथवा गाईहरु लखेटेर वन पुर्याउादा र बेलुका फर्काउँदाको क्षण, ठूल-ठूला घाासे मैदानहरुमा गाइहरु छाडेर कपर्दीमा खेलमा हराउँदाको क्षण र विभिन्न चाडपर्वहरुमा मन्दिरमा गएर अरुले पुजा गरेको लुकेर हेर्दाको क्षण इव्राहिमको आाखामा भिडियोका क्लिपरुमा जस्तै नाच्न थाल्छन् । त्यतिखेरको लगौटीया यार विश्वनाथ झाले कपर्दी खेलमा उसलाई हुर्काउन जिस्काएको भान भैरहन्छ उसलाई । उ चिया पिउँदा पिउँदै नियाल्छ त्यस ख्याउटे यूवकलाई र सम्झन्छ त्यही वाल्यसखा विश्वनाथलाई । मोटा र बलिष्ट पाखुरा भएको उसको कपर्दीको यार विश्वनाथ आज यस्तो चिन्नै नसकिने भयो त ? उसलाई अझै शंका लाग्छ ।
लगभग १६/१७ वर्ष पहिला विश्वनाथका बाबुआमा इव्राहिमहरुको गाउँ छाडेर २५/३० कोश परतिर अर्को गाउँमा वसाई सरेका थिए । त्यसपछि विश्वनाथसाग कहिल्यै भेट भएको थिएन उसको । तर आज यो हालतमा भेट भएको छ । के यो यूवक विश्वनाथ नै हो त ? उसलाई अझै विश्वास भैरहेको थिएन । इव्राहिम चिया पिउँदा पिउँदै धेरै कुराहरु मनमा खेलाउँछ । हेर्छ, त्यस यूवक पनि उसैलाई नियाल्दै छ । उसको आँखामाथीको खतलाई नियालेपछि भने इव्राहिम पक्का हुन्छ कि यो त्यही उसको कपर्दीको यार विश्वनाथ नै हो भन्ने कुरामा ।
"विश्वनाथ!" अनायासै उसको मुखबाट शब्दहरु फुत्कन्छन् । यूवक झसंग हुन्छ ।
"के तिमी इव्राहिम हौ!" यूवक बोल्छ । स्विकारोक्तिको मून्टो हल्लाउदै जुरुक्क उठ्छ इव्राहिम र अंगालोमा बााध्छ आˆनो वाल्यसखालाई । एक्लोपनको चिसो सन्नाटालाई चिदै भएपनि आफन्ती भावको अनुभूती गर्छन् उनिहरु । दुवैका आँखाबाट आफन्तहरु गुमाउनुको पीडा र लामो समय पछि यस्तो हालतमा वाल्यसखा भेटिनुले दुखमिश्रीत हर्षहरु पोखिन्छन् ।
मैलो र दागै दाग लागेको सेतो कमिज लगाएको, कालो दाह्री अनुहार भरी पल्हाएको, आँखाभित्र धस्सिएको अग्लो इव्राहिम र चुस्स बोके दाह्री पालेको, मैलो बाहुले सर्ट र फाटेको टोपी लगाएको पातलो विश्वनाथ दुवै हात समातेर हिंडिरहन्छन् कोलाहलले भरिएको बजारको विचबाट । दुवै एक अर्कोलाई नियाल्छन् तर बोल्न सक्दैनन् । दुवैका पिडा समान छन् । वितेको तिन दिनको रक्तपातपूर्ण समयलाई सम्झेर दुवैको मुटु गाँठो पर्छ । हो, फरक-फरक परिवेशमा रक्तपातपूर्ण हुरीले दुवैलाई नमज्जासँग गाँजेको छ । दुवैका आफन्तहरु हराइरहेछन् । सग्लै छन् या गिडिएका छन्, जसको कुनै पत्तो छैन । रक्तपातपूर्ण हुरी चल्दैगर्दा शुरुवातमा दुवैलाई यो धार्मिक साम्प्रदायिक दंगा हो कि भन्ने लागेको थियो तर अहिले यहाँ, यो शिविरले दुवैलाई प्रष्ट पारेको छ, यो उनिहरुले सोचेको जस्तो दंगा थिएन ।
बजारको शिविरको कोलाहलमय अवस्थावाट अलिपर चौरमा गएर बस्छन् दुवैजना । त्यहाँवाट देखिन्छ, शिविरमा सेतो र निलो रंगको यु.एन. लेखेका गाडीहरु आईपुगेका छन् । रेडक्रसका झण्डा टाँगीएका गाडीहरु पनि रोकिएका छन् । पत्रकारहरुको घुइँचो छ । यि सबलाई नियालेपछि इव्राहिम उतेजित हुन्छ । उसलाई लाग्छ सबका सामू गएर भनिदिउ -यो कुनै दंगा नभएर सुनियोजित ढंगले गरिएको वर्वर आक्रमण हो । यसमा जनताको पसिना र रगत चुसेर बाँच्न पल्किएकाहरुको स्वार्थ लुकेको छ भनेर । तर इव्राहिम त्यसो गदैन । अहिले उ आफ्नो वाल्यसखा विश्वनाथसाग समय विताएर आफु एक्लो नभएको महशुस गर्न चाहन्छ । १६/१७ वर्ष देखि बाँकी रहेको मित्रताको भलाकुसारी सबै सिद्ध्याउन चाहन्छ । उ विश्वनाथ सागको कुराकानीले आफूभित्र रहेको पिडाको गहिरो खाडललाई थोरै भएपनि पुर्न चाहन्छ ।
चउरमा तालु पोल्ने घाम छ । मनमा बढेको पिडा जस्तै एक्कासी बढेको धुपले गर्दा दुवैका अनुहार र शरीर पसिनाले निथ्रुक्क भिजेका छन् । तर पनि एक अर्काको विगतका चाखलाग्दा र कहालीलाग्दा कुराकानी सुन्न चर्को धुपलाई पनि वेवास्ता गर्दै जिज्ञासापूर्वक चउरमा वसिरहेकाछन् दुवैजना ।
"...............मैले त आफ्नो कुरा सकाे, अब तिम्रो कुरा सुन्ने विश्वनाथ!" खुइया गर्दै इव्राहिमले आफ्नो कुरा सक्छ । इव्राहिमले आफ्नो कुरा सक्दा विश्वनाथको अनुहार पिडाले पहेँलो-पहेँलो हुन्छ, चिन्ताले निन्याउरो हुन्छ अनि आक्रोसले रातो हुन्छ । एकक्षण झोक्राउँछ विश्वनाथ । झोक्राउँदै गर्दा उसका आँखाबाट आँसुका थोपाहरु खस्छन् । उ धैर्यताको बाँध बाँध्न खोज्छ आँखाहरुमा तर बाँधहरुलाई छिचोल्दै आँसुहरु पोखीन्छन् उसैले टेकेको धर्तीमा । आशुँहरु पीडाको ज्वालामुखी निभाउन सक्षम नहोलान् तर केहि शितलताको राहत त अवश्यै दिनेछन् भन्ने सम्झिएर इव्राहिम विश्वनाथको आँशुलाई रोक्न चाहँदैन । निकैबेर सम्म त्यहाँ हुक्कऽऽऽ हुक्कऽऽऽ को आवाजसागै चुपचाप बस्छ परिवेश ।
"विश्वनाथ के तिम्रो विवाह भैसक्यो ?" आँशुले ओशिलो बनाएको परिवेशलाई चिर्दै बोल्छ इव्राहिम ।
भारी मन लिएर विश्वनाथ आफ्नो सबै कथा इव्राहिमलाई सुनाउँछ । उ सुनाउँछ कसरी उसकी प्राण प्यारी सत्यवती र एक वर्षको छोरो राहुललाई आततायीहरुले आगोमा पोले भन्ने कुरा । छोरोकी चिच्चाहट र श्रीमतीको चित्कारलाई उसका कानले सुनेपनि बाँधीएका हातखुट्टाले उसले केही गर्न सकेन । उसकै अगाडी उसको बाबुको शरिर दुईटुक्रा बनाइयो र बाबुको शरिरमाथी लडीबुडी गरिरहेका आमालाई पिटि-पिटिकन मारियो । उ सुनाउँछ कसरी उसले ति मानवताका शुत्रहरुसँग प्रतिकार गर्यो र एउटालाई ढाल्यो आफ्नै आागनमा भन्ने कुरा ।
"त्यसबखत कहाँबाट आएको होला शक्ति पनि !" पिठ्यूँमा तरवारले काटेको चोट देखाउँदै विश्वनाथ सुनाउँछ ।
"भाग्दा-भाग्दै एउटाले हानेको तरवारले पिठ्यूँमा काट्यो तर पनि म नरोकिकन कुदेको-कुदै यहाँ आइपुगें । काटेको ठाँउमा मल्हमपट्टी गरेपछि अहिले अलि आराम भएको छ ।" विश्वनाथको आाखा अझै ओभाएको छैन । कहिले उत्तेजीत हुँदै कहिले भाव विव्हल भएर उ आफ्ना पीडा र व्यथाका कथाहरु इव्राहिमलाई सुनाउँछ ।
के विश्वनाथले भोगेका पीडाहरुमा कुनै हिन्दुवादको रंग घोलिएको छ ? के इव्राहिमले झेलेका व्यथाहरुमा कुनै मुस्लिमवादको जलप लगाईएको छ ? धर्म, जाति, भाषा जस्ता सबै पर्खालहरुलाई लपेटेर आएको हिंसाको भेलले विश्वनाथ र इव्राहिम दुवैलाई बगाएको छ । दुवैलाई घर परिवारबाट एक्लो वनाएर, नितान्त एक्लो बनाएर हुत्याइदिएको छ हिंसाले हिलाम्य किनारा तिर ।
विश्वनाथ र इव्राहिम दुवैले सानैमा सुनेका थिए बाबरी मस्जिद काण्ड र दुवैले हिसाब गरि-गरिकन मर्नेहरुको संख्या निकालेका थिए । तर इव्राहिमले कहिल्यै पनि विश्वनाथसागर् हाम्रो बाबरी मस्जिद भत्काउने तिमीहरु हौ !' भनेर भनेको थिएन् । अल्पसंख्यक हिन्दुहरुमाथी वंगलादेश र पाकिस्तानमा भएको ज्यादती, लुटपाट र हत्या-हिंसालाई लिएर कहिले पनि विश्नाथले इव्राहिमलाई दोषी ठहर्याएन । यस्तो मित्रता र सहिष्णुता भएका यि नेपालीजन आज धक फुकाएर रोएका छन् एक-अर्को सामु । मुस्लिम र हिन्दुको हौवा खडा गरेर आफ्नो स्वार्थ साँध्ने समाज विरोधी तत्वहरुले यि दुइलाई झण्डै एक अर्काको शत्रु बनाएका थिए । तर अब परिस्थिती फेरिएको छ । दुवैले एक अर्कोलाई बुझिसकेपछि के अब कुनै साम्प्रदायिक सुनामीहरुले उनिहरुको मित्रतालाई ध्वंस गर्न सक्ला ?
- मदन प्रभात
पूर्वी नेपाल, वर्दिवास
madanpravat@gmail.com
----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।
Liked by: