१० कक्षा पढ्दा मलाई चस्मा लगाउने उत्पात रहर जाग्यो । चस्मा लगाएर ढल्किँदै स्कुल जाने र कक्षा चल्दा सर्टमा झुन्डाएर ठाँटले बस्ने अभिलाषाले बसिखान दिएन । त्यतिबेला आफूखुसी कालो चस्मा लगाएर हिँड्नु बेग्लै पोजको विषय हुन्थ्यो । दुनियाँले के भन्लान् भन्ने धक हुन्थ्यो । कालोभन्दा सेतो चस्मा बढी प्राकृतिक लाग्थ्यो ।
अनि आइडिया लगाएँ । आँखा पोलेको बहाना बनाएर तुलसीपुरको आँखा अस्पताल गएँ । डक्टरको पालो आउँदा आँखा मिचें, ताकि उनलाई लागोस्— केटोका आँखा कमजोरै छन् ।
“के भो आँखा ?” डक्टरले सोधे ।
“खै, एकदमै पोल्छ, आँसु आइरहन्छ, अनि धमिलो पनि देख्छु,” मैले झुटको शृंखला सुरू गरें ।
“ए,” उनले फेरि सोधे, “कहिलेदेखि हो ?”
फ्याट्ट उत्तर दिएँ, “२ महिना भो डक्साप् ।”
डाक्टरले यसो अनुहार हेरे र काठको फ्रेममा लेन्स राखेर सोधे, “कस्तो देखियो ?”
भनें, “अलि धमिलो-धमिलो देखियो त !”
डक्टरले फेरि अर्को शिशा हाले र सोधे । मैले धमिलै देखियो भनें ।
त्यसपछि ३ पटकसम्म डक्टरले लेन्स फेर्दै सोधिरहे, मैले धमिलो देखियो भनिरहें । अनि अन्तिममा एउटा लेन्स राखेर फेरि सोधे, “अबचाहिँ कस्तो देखियो ?”
भनें, “वाह, क्या गज्जब देखियो । यही चस्मा ठीक छ !”
डक्टरले मुसुक्क हाँसेर भने, “तिम्रो आँखा केही भएको छैन, यो दबाई लगाऊ, पोल्न ठीक हुन्छ ।”
पछि बुझें— अन्तिममा डक्टरले लेन्स नै राखेका रहेनछन् !
अनि—
वर्षौंपछि यसरी रहर पूरा गरें :)
