'बस न!' अगाडि रहेको मेचबाट पुस्तक सारेर उनलाई बस्न आग्रह गरें । उनी चुपचाप बसिन् र नजिकै रहेको पुस्तक हेर्न थालिन् ।
'अभिवादन छ है '
मधुरो स्वरमा कसैले अभिवादन गरेको मेरो तन्द्रायुक्त मानसिकताले अनुभूति गरिरहेको थियो । म अलिअलि निदाएको थिएँ र उठ्न प्रयत्न गर्दै थिएँ । फेरी उही स्वरमा उही शब्द दोहोरियो । 'अभिवादन छ है '
म जुरुक्क उठें र अभिवादन फर्काएँ । अलिकति उघारिएको ढोकामा उनी उभिएकी थिइन् । अर्द्धशोक मिश्रति मुद्रामा । मानौं उनी केही बेरपछि नै ग्वाँऽऽग्वाँऽति रुनेछिन् । मैले उनीसँग हात मिलाएँ । उनको हात पहिलेकोेजस्तो दह्रो थिएन । सामान्य भन्दा पनि लुलो भएको थियो । लाग्थ्यो उनले अनुभूति गरिरहेको पीडा-शोक-वेदनाको त्रिशंकु उनका हर अंगहरुले अभिव्यक्त गरिरहेका छन्, हरपल अभिव्यक्त भैरहन चाहन्छन् ।
'बस न!' अगाडि रहेको मेचबाट पुस्तक सारेर उनलाई बस्न आग्रह गरें । उनी चुपचाप बसिन् र नजिकै रहेको पुस्तक हेर्न थालिन् ।
राति निकै अबेरसम्म छलफलमा व्यस्त भएकाले होला सबेरै उठ्न सकिएको थिएन । तर बिहानीपख गाढा निद्रा त कहाँ लाग्छ र ? त्यसैले म निद्रा र जागाको बीचमा थिएँ अर्थात् तन्द्रामा थिए, जतिखेर आशा आएकी थिइन् ।
'अनि आज एकाबिहानै आयौ त! घरबाटै कि गाउँतिर गा'की थियौ ?' मैले हातमुख धोएर आएपछि सोधें ।
'घरबाटै हो ।' उनले छोटो जवाफ दिइन । मलाई उनको आवाज एकदमै मलिन अनुभूती भयो । उनी भावनामा चुर्लुम्म डुबेकी थिइन् र आफ्नो कुरा अभिव्यक्त गर्ने समय पर्खिरहेकी थिइन् ।
'दार्इ! के हामीभित्र पनि इमान्दारिताको यत्रो खडेरी परेको छ ? उसले मलाई यो अवस्थामा पुर्यायो, तर अहिले ऊ मसँग बोल्न पनि चाहिरहेको छैन । उसले मेरो इमानदारिताको दुरुपयोग गर्यो दार्इ! ........................ '
कुनै भूमिका नबाधिकनै उनले बोल्न शुरु गरिन् । लाग्थ्यो उनी आफ्ना छट्पटीहरु सबै एकै पटक पोख्न चाहन्छिन् । बोल्दाबोल्दै उनको आँखा रसिलो भयो । उनले मतिर नहेरिकनै आँसु पुछिन् । मलाई अचम्म लाग्यो विचारमा त्यति दह्री र अडिग कहलिएकी आशा आज किन यति कमजोर भइरहेकी छिन् । रमेशले उनको भावनामा असाध्यै चोट पुर्याएछ क्यारे! मैले अनुमान लगाएँ ।
'आशा आज तिमी कमजोर भइरहेकी छौ ? कमजोर होइन दृढ र बलियो भएर मात्र तिमीले आफ्नो समस्यालाई पराजित गर्न सक्छ्यौ ? हेर, रमेश मात्र होइन तिमी हामी सबै यही समाजबाट आएका हौं । सम्झ त, हाम्रो समाज कस्तो छ ? र, हाम्रो समाजभित्र कस्ताकस्ता पात्र र प्रवृत्तिहरु छन् ? समाजबाट गलत प्रवृत्ति बोकेर आएका पात्रहरुसँग संघर्ष नगरी हामीले कसरी नयाँ समाजको निर्माण गर्न सक्छौं ? तिमीले बुझ्नुपर्छ वर्गसंघर्षका विविध रुपमध्ये पुरुषसत्ता विरुद्धको संघर्ष पनि एक हो । रमेशलाई तिमीले मन परायौ तर यसको अर्थ यो होइन कि उसका गलत प्रवृत्तिहरु विरुद्ध तिमीले संघर्ष गर्नै हुन्न । बरु माया गर्नु र मन पराउनु -प्रेम गर्नु) को अर्थ उसका गलत प्रवृत्तिबाट उसलाई मुक्त गनु र सघाउनु पनि हो । तिमीले त्यही त गर्दैछ्यौ होइन त ?'
'दाइ! तर किन ऊ मेरो कुरा बुझ्दैन ?' 'आशा, रमेशले कुरो नबुझेको होइन, बुझेर पनि बुझ पचाएको हो । मैले पनि उसलाई राम्रोसँग पढेको छु । तिमीले रमेशलाई जुन ढंगले बुझिरहेकी छ्यौ तर रमेश त्यस्तो छैन । साँच्चै भन्दा ऊ यो पुँजीवादी र सामन्तवादी संस्कृतिको ठिमाहापनले नराम्रोसँग गाँजिएको छ । केही समय त उसले आफ्नो ठिमाहापनलाई त्याग्ने प्रयत्न पनि गर्यो । उसको नशा-नशा र रगतको कण-कणमा रहेको पुरुषवादी मानसिकतालाई त्याग्न पनि खोज्यो । तर यस कुरालाई लिएर उसले निरन्तर संघर्ष गरिरहन सकेन । जसले गर्दा विगतका दिनहरुमा झैं अहिले ऊ त्यति सक्रिय पनि छैन । सम्भव छ जनमुक्ति यात्राप्रतिको उसको लगाव र विश्वास पनि अहिले कम हुँदै गइरहेको होस ।'
समय एकक्षण चुपचाप बित्यो । उनी अर्थात् आशा मौनधारण गरेझैं शान्त थिइन्, तर उनको विचार र भावनामा असाध्यै तेजगतिमा ज्वारभाटा फैलिरहेको थियो । 'अब के गर्ने ?' उनीभित्र तीव्र रुपमा आत्मासंघर्ष चलिरहेको थियो । त्यो संघर्ष यति तिब्र थियो कि उनि स्वयम् त्यसलाई सम्हाल्न सकिरहेकी थिइनन् । बिहानैको मौसम त्यति धेरै गर्मी नभए पनि उनको निधारभरि पसिनाका थोपाहरु देखापर्न थालेका थिए ।
'दाइ Û रमेश चाहन्छ म उसको घरमा गएर परम्परागत श्रीमतीलेझैं उसको घर सम्हालेर बसुँ, उसले जे भन्छ त्यही मानुँ, उसको र उसका घरपरिवारहरुका हरेक चाहनाहरु पुरा गरुँ, यहाँसम्म कि विवाहअगाडि नै ...! उसको यस्तो घृणित चाहना र आदेशहरुलाई म कसरी पालना गर्नसक्छु ? तर ..... तर रमेशसँगको सम्बन्ध! .....के रमेशलाई रुपान्तरण गर्न सक्ने कुनै उपाय छैन ? म त्यो उपायको खोजीमा छु ।'
उनले पीडा र आग्रह मिसि्रत मलिन स्वरमा अडी-अडीकन भए पनि आफ्नो मनभित्र उठेका भावनाका तरंगहरुलाई बाहिर बिसाइन् । उनको अभिव्यक्ति सम्पूर्ण रुपले सुनिसक्दा रमेशले उनीसँग गरेको व्यवहारको कल्पना गरेर नै म थकित भइसकेको थिएँ । साँच्चै रमेश त मैले सोचेको भन्दा निकै तल गिरिसकेको रहेछ । अब रमेशको धङ्धङीबाट आशालाई मुक्त गर्नुको अलावा मसँग अर्को उत्तम विकल्प थिएन । तर फेरि पनि आशा नै यसको निर्णायक पक्ष हुन् । 'म अवस्य पनि यो विकल्पमा सहमत गराउने छु ।' मैले मनमनै संकल्प गरें ।
'आशा!' उनी व्यग्रतापूर्वक मलाई सुनिरहेकी थिइन ।
'अब तिमीले आफ्नो मनसँग अत्यन्तै ठूलो संघर्ष गर्नुपर्छ । हेर, प्रेमलाई सही ढंगले बुझ्न र ग्रहण गर्न सकिएन भने सम्पूर्ण जीवन नै तनावयुक्त हुन जान्छ । तिमीले त वर्गसंघर्षको रापिलो भट्टीलाई नजिकैबाट अनुभूति पनि गरेकी छ्यौ । सम्झ त कति कठोर र निर्मम हुन्छ वर्गसंघर्ष ? त्योभन्दा नि अझ कठोर हुन्छ आत्मसंघर्ष ? तिमीले अब त्यही कठोर संघर्ष सम्झौताहीन ढंगले सफलतापूर्वक सम्पन्न गर्नुपर्छ ।'
'तिमीले आफ्नो मनमा रमेशलाई भावी जीवनसाथीको रुपमा स्थान दिएकी थियौ र अझै पनि दिइरहेकी छ्यौ । तिमी चाहन्छ्यौ रमेश यो समाज रुपान्तरणको निम्ति नमुनायोग्य व्यक्ति बनोस् । ऊ सबै कुरामा दृढ होस् तिमीजस्तै । आमजनताको मुक्ति सँगै तिमीहरुको भावी दिनहरु प्रेमपूर्ण रुपमा व्यतित होस् । यो तिम्रो चाहना हो, तर यसको लागि तिमीजत्तिको तयार छ्यौ, त्यत्तिकै मात्रामा तयार हुनुपर्छ रमेश पनि । तिमी नियाल त, रमेश अहिले कुन वैचारिक धरातलमा उभिएको छ ? यस्तो अवस्थामा के तिमी रमेशबाट अब आफ्ना आशा र चाहनाहरु पूरा हुन्छन् भन्ने भरोसा राख्न सक्छ्यौ ? यो तिमी आफैंले विचार गर्ने कुरा हो । तर ऊ कस्तो हुन्छ भन्ने कुराको निर्णय त उसले नै गर्नुपर्छ तिमीले होइन ।'
'साँच्चै भन्दा अहिले रमेश आफ्नो आदर्श र विश्वासबाट च्युत हुँदै गइरहेको छ । ऊ अब रुपान्तरित हुनुलाई पनि आफ्नो हार अथवा अपमान ठान्न थालेको छ । यस्तो अवस्थामा तिम्रो ऊसँग कसरी सहकार्य हुनसक्छ ? के प्रेमको उत्कर्षता सहकार्य नै होइन र ? वैचारिक रुपमा सहकार्य हुन नसकेपछि, कार्यशैलीगत रुपमा सहकार्य हुन नकेपछि कसरी जैविक र व्यवहारिक सहकार्यले पूर्णत पाउन सक्छ ? त्यसैले कठोरतापूर्वक तिमीले अब निर्णय गर्नुपर्छ । तिमी आफ्नो वैचारिक धरातल र चेतनालाई सही ठान्छ्यौ भने तिम्रो रमेशसँगको सम्बन्ध अब अतितको सम्बन्धको रुपमा परिणत हुनेछ । तिमीले ऊसँगको सम्बन्धलाई बिर्सनुपर्नेछ । आशा तिमीसँग भएका विकल्पहरुमध्ये यौ नै सबैभन्दा उपयुक्त विकल्प हो ।'
अब उनको अनुहार रातोरातो भएको थियो । तीव्र अन्तर्द्वन्द्वको अभिव्यक्ति अनुहारमा समेत परिरहेको थियो । एकक्षण सन्नाटा छायो । उनी निराकारमा हराइन, मानौं अहिले नै उनले सबै कुराको निचोड निकाल्नेछिन् । फेरि पनि शान्त नै रह्यो कोठा । उनले कुनै प्रतिक्रिया जनाइनन् ।
'के तिमीले रमेशसँग यो विषयमा कुरा गर्यौ ?' मैले नै भंग गरें लामो मौनतालाई आशाको अनुहार नियाल्दै ।
'थुप्रै पटक ... रमेशसँग मैले यो विषयमा थुप्रै पटक कुरा गरिसकें । तर ऊ मेरो कुरालाई गम्भरतापूर्वक लिँदै लिँदैन ।' उनी रुन्चेस्वरमा बोलिन् ।
'आशा, यो अनुभूति नै तिम्रो हातमा रहेको सबैभन्दा ठूलो आधार हो । जसले रमेशसँगको तिम्रो सम्बन्धबारे सही निष्कर्षमा पुग्न स्वयम् तिमीलाई सघाउनेछ । हेर, पुराना सम्बन्धहरुको ध्वंश नगरी नयाँ सम्बन्धको विकास गर्नै सकिन्न । रमेशसँगको तिम्रो सम्बन्ध पुरानो विचारमा आधारित छ, सामन्ती चिन्तन र पुँजीवादी प्रवृत्ति/शैलीले ग्रसित छ । त्यसैले तिमीले त्यस सम्बन्धलाई ध्वस्त नगरी नयाँ सम्बन्धको विकास गर्न सक्दिनौं ।'
मेरो कुरा सकिएपछि उनले लामो सुस्केरा छाडिन् । आमाले कागती हालेको रातो चिया ल्याउनुभयो । उनले आमालाई नमस्कार गरिन् तर केही बोलिनन् । शायद हतार हुँदो हो आमा पनि केही बोल्नु भएन । हामी चुपचाप चिया पिउन थाल्यौं ।
आशाको अनुहार झन्झन् रातो हँुदै थियो । उनको मनमा द्वन्द्व चर्किरहेको बेला अनुहार रातो हुन्थ्यो, जुन अहिले भइरहेको छ । उनले चिया पिइसकेपछि चारैतिर आँखा डुलाइन् र घडी हेरिन् । शायद समय घर्किसकेर होला उनका मायावी आँखा अलि ठुल्ठुला र चञ्चल देखिए । मलाई लाग्यो ती आँखाहरुले भन्दैछन्- 'दाइ, ढिलो भयो अब जानुपर्छ होला ।' तर त्यसपछि पनि उनी चुपचाप नै रहिन् । कहिले चारैतिर आँखा डुलाउने त कहिले आँखा चिम्लिएर शान्त रहने गर्न थालिन् ।
'दाइ अहिले म जान्छु, भरे भेट्न आउँछु होला ।' निकै बेर पछि उनी एक्कासि यसो भन्दै उठिन् र अघिको भन्दा अलि दह्रोसँग हात मिलाएर बिदा भइन् । मलाई लाग्यो उनी बिहानभन्दा भावनात्मक रुपमा अलि दह्रो भएकी छिन् ।
बिहानदेखि एकाएक मौसम धुम्मिएको थियो । पानी नै परिहाल्छ कि जस्तो भइरहेको थियो । देशको ताजा राजनीतिक खबर अघि नै रेडियोले फुकिसके पनि मौसमसम्बन्धी खबर अझै दिइरहेको थियो । रेडियो भन्दैथियो- 'आज देशैभरि पानी पर्छ ।' जीवनको सही गोरेटो नियाल्दै कठिन मोडमा आइपुगेकी आशाको मनभरि जमेको पीडाको बादल आज पानी सँगै फाटोस् र उनको मन 'पानी परेपछिको आकाश झैं' स्वच्छ र निर्मल होस् भन्ने कल्पना गर्दै म दिनेशजीको डेरातर्फ लागें ।
बाटोभरि नै मेरा मनमा रमेश र आशाको सम्बन्धका कुराहरु मात्रै खेलिरह्यो । रमेश किन त्यस्तो भयो ? यो विषयमा गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने निष्कर्षमा म पुगें । 'भरे आशाले के निर्णय गर्छिन् त ?' भन्ने प्रश्नले दिनभरि नै मेरो मनलाई उद्वेलित बनायो । 'के उनले रमेशसँगको सम्बन्धलाई यही टुंग्याउन सक्छिन् ? यदि उनले यस्तो निर्णय गरिन् भने उनको मनस्थिति यस्तै रहिरहला ? या उनले रमेशसँगको सम्बन्धलाई निरन्तरता दिँदै यही रुपमा अगाडि बढाउने निर्णय गर्छिन् त ?' मेरो मनमा प्रश्नमाथि प्रश्नका घेराहरु थपिँदै गए र अन्त्यहीन प्रश्नहरुको एउटा लामो शृङ्खला नै तयार भयो । मेरो टाउको त्यसै त्यसै भारी भएर आयो । दिनेशजीको डेरामा पनि मन त्यति रम्न सकेन । गर्नुपर्ने आवश्यक कुराहरु सकेर म अलि चाँडै कोठामा आएँ र पल्टिएरै आशाको आगमनको प्रतीक्षा गर्न थालें ।
समय निरन्तर बित्दै गयो । प्रतीक्षाको समय निकै लामो हुँदो रहेछ । तीनबाट चार, चारबाट पाँच हुँदै घडीको घण्डासुई अंक छ को नजिक आयो, तर अझै आशा आइनन् । म झन् व्यग्र भएँ । 'कतै आशाले रमेशसँगको सम्बन्धलाई मात्र होइन आफैंलाई समेत मेटाउने गलत निर्णय त गरिनन् ?' मेरो मनमष्तिस्कमा चिसो पस्यो । म झन् छटपटिएँ ।
'तर आशा त्यति कमजोर र काँतर नारी होइन, जसले अपहत्ते -आत्महत्या) जस्तो घृणित कार्य गरोस्' भन्ने भावनाले मलाई अलि बल दियो । अब दिनबाट समय साँझमा रुपान्तरित हुन मात्र बाँकी थियो तर अझै पनि आशा आइनन् । 'के अब आशा आउँदिनन् ?' यो प्रश्नले मसँग एकोहोरो उत्तर मागिरह्यो । म नाजबाफ रहें । आशा नआउने कुरा म मान्न तयारै थिइनँ । तर पनि आफ्नै मनभित्र हरनिमेशमा उब्जिरहेको प्रश्नको उत्तर खोज्न आफैं आशाको घर जाने सुरले म लुगा लगाउन थालें ।
'बाबु! तेरो चिठी आएको रै'छ, हेर त कसले पठा'को हो ?' आमाले खामबन्दी चिठी मेरो हातमा दिनुभयो । चिठी बन्दिलो गरी स्टिच लगाइएको थियो । हेरें चिठी आशाले पठाएकी रहिछन् ।
'कसले ल्यायो आमा यो चिठी ?' मैले व्यग्रताका साथ आमालाई सोधें ।
'खै ? साइकलमा एउटा केटो आको'थ्यो । मैले त चिनिनँ । अनि कसको र'छ त ?' आमालाई चिठीको बारे खुल्दुली बढ्यो ।
'आशाको रहेछ ।' मैले छोटो उत्तर दिएँ, आमा चुपचाप र्फकनुभयो । उहाँले के सोच्नुभयो कुन्नि मैले अनुमान लगाउनै सकिनँ ।
मैले हतारहतार चिठी खोलें र पढ्न थालें । मलाई अचम्म लाग्यो सधैं 'दाइ' भनेर सम्बोधन गर्ने आशाले आज चिठीको सम्बोधनमा 'कमरेड' भनेर लेखेकी थिइन् । पक्कै पनि यो रुपान्तरणको द्योतक हो भन्ने सोच्दै म पत्र पढ्न थालें ।
'कमरेड वोध, अभिवादन!
आज म मेरो जीवनको अति महत्वपूर्ण मोड मैले पार गरेकी छु भनेर सुनाउन पाउँदा तपाईं निकै खुसी हुनुहुन्छ होला । अति कष्टसाध्य घुम्ती र मोडहरु हुँदै यो जीवनलाई अगाडि बढाउनुपर्ने रहेछ भन्ने अनुभूति आज गरेकी छु । मैले यसअघि कहिल्यै पनि यति सूक्ष्म र गम्भीर ढंगले आत्मसमीक्षा गरेकी थिइनँ, आज मैले तपाईंको प्रेरणाले जीवनको उक्त दायित्वलाई पहिलो पटक पूरा गरेकी छु । म राजनीतिक आन्दोलनको जुन दिशातर्फ अगाडि बढेको थिएँ त्यहाँ एकदम सहज र सरल मार्गमा मात्र हिँड्नुपर्ला भनेर सोच्नु मेरो कमजोरी र गलत बुझाइ रहेछ । बरु उक्त मार्गमा थुप्रै काँडाहरु र त्यसलाई पन्छाउन चाहिने साहस, हिम्मत र उज्यालो पनि हुने रहेछ । त्यसैले काँडाहरु पन्छाउँदै अगाडि बढ्ने प्रक्रियालाई तेज बनाउने हिम्मत बटुलेकी छु । तपाईंले भनेझैं राजनीतिक आन्दोलन र सांस्कृतिक रुपान्तरणको आन्दोलनलाई सँगै अगाडि बढाउने निष्कर्ष निकालेकी छु । उज्यालो लक्ष्यमा पुग्न म जस्तोसुकै अँध्यारो पनि चिर्न तयार छु ।
मेरो बाबाले भन्नुहुन्थ्यो 'तिमीले मान्छे बन्नुपर्छ ।' म सधैं हाँसोमा उडाउथें । तर आज मैले मेरो बाबाको उक्त भावनालाई साँच्चै अनुभूति गरेकी छु । 'असल मान्छे बन्न निकै संघर्ष गर्नुपर्छ' भन्ने तपाईंको बारम्बारको आग्रहलाई पनि आज मैले गम्भीरतापूर्वक महसुस गरेकी छु ।
वर्गीय समाजमा पुरुषवादी मानसिकता पुरुषहरुमा मात्रै होइन हामी प्रगतिशील कहलिएका महिलाहरुमा पनि हुने रहेछ भन्ने निष्कर्षमा पुगेको छु । रमेशसँगको मेरो अति लगाव त्यसैको कारण सिर्जना भएको हो भन्ने मलाई लाग्छ । हाम्रो समाजमा रहेको पुरुषवादी मानसिकताको विरुद्ध संघर्ष गर्न आगामी दिनमा मलाई साथ दिनुहुनेछ भन्ने आशा गरेकी छु ।
आज मैले तपाईंलाई कमरेड भनेर सम्बोधन गरिरहँदा तपाईंलाई पक्कै पनि खुसी लागेको हुनुपर्छ । तपाईं मेरो राजनीतिक आन्दोलनको अगुवा र गुरु भए पनि वर्तमान सामाजिक संरचनाभित्र तपाईं मेरो दाजु नै हुनुुहुन्छ । त्यो संरचनामा म तपाईंलाई दाजु नै भनेर सम्बोधन गर्नेछु । तर तपाईर्ं मेरो अगुवा कमरेड हुनुहुन्छ । अब म तपाईंलाई मेरो निष्कर्ष सुनाउँछु ।
'मैले निकै कष्टसाध्य पीडालाई पचाएर रमेशसँगको सम्बन्धमा पूर्णविराम लगाउने निर्णय गरेकी छु । मलाई थाहा छ यो कुराले मलाई लामो समयसम्म तनाव दिनेछ । तर तनावलाई पचाउने साहस बटुलेकी छु । तपाईंले भनेझैं पीडा र कष्टसाध्य क्षणहरुबाट नगुज्री मान्छे मान्छे बन्नै सक्दोरहेनछ । म त्यही पीडा र कष्टसाध्य क्षणबाट गुजि्रने उपक्रममा छु । यो सामन्तवादी चिन्तन र पुँजीवादी प्रवृत्तिले ग्रसित पुरानो सम्बन्धको ध्वंशको प्रक्रिया नै हो । अग्रज कमरेडको नाताले अवश्य पनि तपाईंबाट निरन्तर साथ पाइरहनेछु । जसले यो प्रक्रियालाई सहयोग पुर्याउनेछ ।
माफ गर्नुहोला यति कुरा तपाईंका सामू उभिएर व्यक्त गर्न समर्थ भइनँ, यसैले पत्र लेखेकी हुँ । आगामी दिनमा यो कमजोरीलाई पनि हटाउन प्रयत्नशील रहनेछु ।
अभिवादनसहित अहिलेलाई बिदा चाहन्छु ।
उही मान्छे बन्ने उपक्रममा लागेकी आशा...
पत्र पढिसकेपछि मैले अपार आनन्दको महशुस गरें । र, मनमनै सोचें- 'आशाले आफ्नो जीवनका लागि नयाँ गोरेटो खन्न शुरु गरिन् । यो गोरेटोले हाम्री आशाको मात्र होइन थुप्रै आशाहरुको जीवन उज्यालोतर्फ डोर्याउनेछ । पुरानो रुढीगत र परम्परावादी सम्बन्धहरुको स्थानमा नयाँ सम्बन्धको विकास गर्नेछ ।
- मदन प्रभात
पूर्वी नेपाल, वर्दिवास
madanpravat@gmail.com
----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।
Liked by: