
विश्व रक्तदाता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
केही कुराहरू त्यस्ता हुन्छन्, जुन पैसा तिरेर किन्न सकिँदैनन्, पसलमा पाइँदैनन्, र समयमै नपाउँदा मान्छेको जीवन नै जोखिममा पर्न सक्छ। यस्तै कुरामध्ये एक हो—रगत।रगत हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण तत्वमध्ये एक हो। यो नशा–नशामा बहिरहेको हुन्छ, प्रत्येक तन्तुमा अति आवश्यक तत्वहरू पुर्याइरहेको हुन्छ, शरीरको तापक्रम सन्तुलनमा राखिरहेको हुन्छ, र हाम्रो जीवनको रक्षा गरिरहेको हुन्छ।दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता पर्न सक्छ। त्यस्तो बेला रगतको विकल्प केही हुँदैन। आजको यथार्थ यही हो कि हामीमध्ये कोही पनि पूर्णतः सुरक्षित छैनौं—हिजोको सुरक्षित अवस्थाले भोलिको ग्यारेन्टी दिँदैन। कुनै पनि समय, हामी आफैँ वा हाम्रा आफन्तजनलाई रगत आवश्यक पर्न सक्छ।त्यसैले, रक्तदान गर्नु केवल सामाजिक उत्तरदायित्व होइन, यो अरूको जीवन जोगाउने पुण्य कार्य पनि हो। समयमै रगत दिने हाम्रो सानो कदमले कसैको जीवन बच्न सक्छ।

तपाईंको नजरमा रक्तदान किन महत्त्वपूर्ण छ?
पृष्ठभूमि
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको इतिहास छ । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्त्वबारे जानकारी दिने खालका रयाली, कोणसभा, प्रभात फेरी लगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिंदै आएको छ । रगतको महत्त्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप एक नायक अभियानका रूपमा यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन यो दिवस मनाइन्छ । यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा पनि विसं २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।
रक्तदान सम्बन्धी सामान्य जानकारी
मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारका मेल खाने समूहहरूका रगत उनीहरूमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै सङ्क्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा जानकारी लिइन्छ ।
सामान्यतया एक पटक रक्तदान गरेर अर्को पटक रक्तदान गर्नुका बिचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामी मध्य कतिपयलाई यी कुराहरू पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्न कालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकिएको छ । यस्ता रक्तदाताका सीमाहरू देश अनुसार फरक पनि हुन सक्दछन् ।
नेपालमा पनि पछिल्ला समयमा रक्तदानका लागी स्वयम सेवी संस्थाहरू र सञ्जालहरू बढ्दै गएका छन् । आज हाम्रो पात्रो ती सबै संस्था र सञ्जालहरूलाई पनि सम्झना गर्न चाहन्छ, यूथ फर ब्लड, ब्लड पाल, हेल्थी सिटीजन नेपाल, रेड क्रस लगायत थुप्रै संस्था अनि सञ्जालहरूको रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य वास्तवमै तारिफयोग्य छ । हामी मध्य केही सुई सँग डराउने या घोच्नुपर्ने भएकाले रक्तदान गर्न डराउँदछौ जुन अत्यन्त हास्यास्पद कुरा हो । रक्तदान अत्यन्तै सरल र सामान्य कुरा हो, जीवनको दान गर्न पाउनु भन्दा गर्वको कुरा के हुन सक्छ र तपाईँको आफ्नै भाइ या बहिनी या परिवारको सदस्यको ज्यान जोगाउनलाई रगत चाहिएमा के तपाई रक्तदान नगरी बस्नुहुन्छ रु त्यस्तै धेरै दाजुभाइ दिदीबवहिनीहरुलाई रगतको अभाव र आवश्यकता परिरहेको हुन्छ, रक्तदाताहरू वास्तवमै जीवनदाता हुन्, रक्तदान गर्न पछि नपरौँ ।रगत अभाव मुक्त नेपाल बनाउन सबै जना एकजुट हुन जरुरी छ । १८ वर्ष कट्नुभएका तपाईहामी सबैलाई एउटा प्रश्न छाडेर जान्छौ ?
के रक्तदान गर्नुभएको छ त ? जय होस्








