
कामिका एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ब्रह्मा विवर्त पुराणका पानाहरू बाट
आज ब्रह्मा विवर्त पुराणका पानाहरू पल्टाउन चाहन्छौँ यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात् कामिका एकादशीको पावन अवसरमा । जजसले यस एकादशीको व्रत कथा भक्तिका साथ श्रवण गर्दछ उसले वैकुण्ठ प्राप्त गर्दछ भनी एकादशी महापुराणमा लेखिएको छ ।
युधिष्ठिरले कृष्णसँग प्रश्न गर्दै भनेको प्रसङ्ग यहाँ छ । हे गोविन्ददेव कृपया गरेर मलाई कामिका एकादशीको व्रत मृत कथा भनिदिनुहुन आग्रह गर्दछु।
कृष्णको उत्तर यसप्रकार छ ।
ओहो राजा युधिष्ठिर, सत्य वक्ता अनि महान् साधु, अवश्य पनि म तपाईँलाई यस एकादशीको बारेमा सविस्तार सुनाउने छु, यसको व्रतका बारेमा जसले सम्पूर्ण पाप मोचन गरी मुक्ति पनि दिन्छ, आउनुहोस् म बताउँदछु ।थोरै अर्को एउटा प्रसङ्ग जोड् चाहन्छौँ, यसै एकादशीका बारेमा एकफेर नारद मुनीले सृष्टिकर्ता ब्रह्मालाई पनि सोधेको प्रसङ्ग छ । हरेक एकादशीका आआफ्नै महत्त्व भए पनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्त्व अलिक पृथक् पनि छ ।
यस एकादशीमा व्रत लिनाको फल भने अश्व दान गरेझैँ हुने गर्दछ, अश्व अर्थात् घोडा जसको दान गरिने यज्ञ अश्वमेध यज्ञ सबैभन्दा महान् यज्ञका रूपमा मानिएको पाइन्छ । काशीको गङ्गामा प्रातकालिन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुष्कर को जगंलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्त्व वास्तवमै धेरै ठाउँमा वर्णन गरिएको पाइन्छ ।

सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदिमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने बताइएको छ । जीवनमा सबैभन्दा ठुलो रोग र बिजाँई त्यतीबेला हुन्छ जब हामीले आफूले गरेको गल्ती स्वीकार गर्दैनौँ, आफूभित्रै आफैसँग लडाई गर्दछौँ अनि पाखण्डी स्वाभिमानको हाँसो हाँस्दछौँ । यस एकादशीले बडो चित्ताकर्षक रूपमा आफ्नो पाप या गल्ती स्वीकार गरेर भक्ति मार्गमा आएर कामिका एकादशीको व्रत लिन आव्हान गरेको छ है । सम्पूर्ण वेद, गीता र पुराणहरुको अध्ययन भन्दा पनि धेरै फल यस एकादशीमा आफ्नो गल्ती स्वीकार गरी व्रत लिनेले पाउँदछ । भगवान् विष्णु अर्थात् जगतका पालन हार अनि हरि, यिनै भगवानको भक्तिमा तुलसी पातको भोग लगाई अर्चना गर्नाले यस एकादशीमा पुण्य मिल्ने बताइन्छ । भगवान् हरिलाई अर्चना गर्दा सुन, चाँदी या हिराकै बरावर तुलसीको पत्र अनि मञ्जरीलाई स्थान दिइन्छ र यस एकादशीमा पनि तुलसीको पात र मञ्जरीको उत्तिकै महत्त्व रहन्छ ।
तुलसीलाई भक्तिपूर्वक पानी चढाउने भक्तको मृत्युको हिसाब यमराजले पनि गर्न नसक्ने र उसको आत्मिक चेतना पनि अत्यन्त धेरै रहने जनश्रुति पनि छ । यस एकादशीमा नदीनाला या तलाउमा जान उति प्रेरित गरिएको पाइन्न, शायद बर्खाको मध्यमा पर्ने एकादशीमा पानीको बहाव र शुद्धताका कारणले पनि हुन सक्दछ ।
प्रातकालमा उठेर स्नान गरी तुलसाको मठमा भगवानलाई अर्चना गर्ने, अगरबत्ती, धूप आदि चढाउने अनि सूर्योदय पश्चात् व्रत कथा श्रवण गर्ने चलन रहेको छ । आजको एकादशीको साँझमा शुद्ध घ्यूको दियो तुलसाको मोठमा बाल्ने चलन पनि छ अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मञ्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरी अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ । एकादशीको महत्त्व यति धेरै भए पनि अन्य एकादशीको झैँ यस एकादशी व्रत कथा चाहिँ विशेष पाइन्न, अमुक गाउँका एक जना धनी व्यक्तिले झगडाको क्रममा झुक्किएर एक जना ब्राह्मणको हत्या हुन पुग्दछ । ब्रह्म हत्या अझ भनौँ मानव हत्याको आरोप अनि पाप प्रायश्चित गर्न साधुहरूले बताए अनुरूप कामिका एकादशीको व्रत लिएर उनले मुक्ति पाउँदछन् ।
यस एकादशी एउटा अद्भुत एकादशी हो, स्वच्छ मन, स्वस्थ तन अनि शान्त पृथ्वीको कामना ।


अन्तर्राष्ट्रिय आदिवासी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
२३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडी बढाएको हो । यस दिवसकालागि संयुक्त राष्ट्र सङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । यो लोगोमा हरियो पातका दुई वटा कान जस्तो आकृतिले पृथ्वीलाई दुई पटि बाट घेरेको देखिन्छ ।
आदि भनेको के हो?
'आदि' भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ ।
मानव सभ्यताको विकाससँगै बसाई-सराइको क्रम सुरु भएपछि क्रमशः आप्रवासीहरूको घनत्व बढ्न गई उनीहरूको पहिचान, अस्तित्व, फरक गुण अनि रीतिहरूमा कमी आउन थालेको छ । विश्वको कूल जनसङ्ख्याको ५ प्रतिशत रहेका आदिवासीहरूले विश्वको कूल गरिब जनसङ्ख्याको १५ प्रतिशत भाग ओगटेका छन् । पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ किनकि पछि बसोबास गरेर आएका आप्रवासी समुदायहरू पेसा, पहिचान, बसाई लगायतका विविध कारणहरूले हाबी हुँदै आएका छन् ।
संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्र
संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । विभिन्न अध्यनहरुले स्पष्टसँग आदिवासी र गैर आदिवासी समुदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुविधाहरूमा भएको ठुलो असमानता देखाउँदछ । आफ्नो पहिचान र थलो कालागि पुस्तौँदेखि एक ठाउँमा खनी-खोस्री, प्रकृतिसँग पौंठेजारी खेल्दै आएका आदिवासी समुदाय विश्व कोलागि प्राचीन सम्पत्ति हो र उनीहरूको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती भएको छ ।
बहु-जाती बहु-धर्म र बहु-संस्कृति भएको हाम्रो देश नेपालका अधिकांश भू-भागमा आदिवासी समुदायहरू छन् र तीव्र रूपमा उनीहरूले आफ्नो पहिचान, रीति अनि मौलिकतालाई जीवित राख्ने भरमग्दुर कोसिस गर्दै गरेको उदाहरण एउटा छ भने अर्को तर्फ त्यही मौलिकता नयाँ पुस्ताले भुल्दै गएको, पुराना कुराहरूलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको कुराहरू अत्यासलाग्दो छ ।तितो सत्य के हो भने आदिवासीहरूको बसोबासलाई बिगार्दै अनि उनीहरूलाई विस्थापित गर्दै बनाइएका सहर, बसाइएका सभ्यता र जोडिएका कारखाना भन्दा उनीहरूको आफ्नो ठाउँमा हुने मौलिक उपस्थिति नै संसार र समूदायकालागि फाइदा कारक हुनेछ ।








